सुदूरपश्चिमको पत्रकारिताको इतिहास विक्रम संवत् २०३३ मा वरिष्ठ पत्रकार रामबहादुर चन्दबाट सुरुवात भएको हो । पञ्चायती शासन व्यवस्थाताका बाबजुद चन्दले पत्रकारिता सुरु गरेर जनतालाई सुसूचित गर्ने प्रयास गर्नुभयो । पञ्चायतविरुद्ध जनतालाई जागरुक गर्न कञ्चनपुरको महेन्द्रनगरबाट लेटरप्रेसबाट वार्ता साप्ताहिकको प्रकाशन सुरु गर्नुभयो । पञ्चायती शासकको सेन्सरसिप बाबजुद पनि वरिष्ठ पत्रकार चन्दले सुदूरपश्चिमको पत्रकारिताको गतिलाई थाक्न दिनुभएन । सुदूरपश्चिमको पत्रकारिताको सुरुवात कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट भएको पाइन्छ ।
०३७ मा कैलालीको धनगढीबाट जितसिंह भण्डारीले खप्तड सन्देश साप्ताहिक पत्रिका प्रकाशन सुरु गर्नुभयो । भण्डारीले पनि लेटरप्रेसमै पत्रिका छापेर सञ्चालन गर्नुभयो । भौगोलिक अवस्थाले पनि यहाँको पत्रकारिताको सुरुवाती चरण कञ्चनपुर र कैलाली जिल्लामात्र सीमित रह्यो ।
०४६ को जनआन्दोलनपश्चात् मुलुकका सबै क्षेत्रमा भएको विकास र विस्तारसँगै स्वाभाविक रूपमा पत्रकारिताले पनि केही हदसम्म गति पायो । प्रजातन्त्र स्थापनापछि कञ्चनपुरबाट महाकाली साप्ताहिक र नयाँ मुलुक साप्ताहिक पत्रिका प्रकाशन सुरु भयो । साप्ताहिक पत्रिकाबाट सुरु भएको पत्रकारिता तत्कालीन अवस्थामा मिसन पत्रकारिताका रूपमा रहेकोे पाइन्छ । प्रजातन्त्र बहालीसँगै राष्ट्रिय पत्रपत्रिकाको समेत प्रकाशन हुन थालेपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट समाचारदाताका रूपमा रिपोर्टर राखिएपछि यहाँको पत्रकारिताले गति लिन थाल्यो ।
सुदूरपश्चिममा पहिलोपटक ०५३ मा खेम भण्डारीले पहिलो दैनिक पत्रिका अभियान दैनिकको सुरुवात गर्नुभयो । लेटरप्रेसबाटै अभियान दैनिक प्रकाशन सुरु गरिएको थियो । ०५५ मा सुदूरपश्चिममै पहिलोपटक पत्रकार कर्णदेव भट्टले फारवेस्ट अफसेट प्रेस स्थापना गरेपछि सुदूरपश्चिममा दैनिक पत्रिका प्रकाशनले गति लिएको थियो । सशस्त्र द्वन्द्व चर्किरहेकै समयमा गति लिएको सुदूरपश्चिमको पत्रकारिता राज्य र माओवादीको दोहोरो चपेटामा परेर २०६२/०६३ सम्म सुस्त हुन पुग्यो । द्वन्द्वको दौरानमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन सुरु भएपछि यहाँको पत्रकारिता झन् दयनीय हुन पुग्यो । राज्यले यहाँका सञ्चारमाध्यमलाई सेन्सरसिप लगायो र अभियान दैनिकका सम्पादकलाई दुईपटक हिरासतमा समेत लियो । गैरराज्य पक्षबाट समेत पत्रकारलाई बेलाबेलामा विभिन्न बहानामा सताउने काम भए । द्वन्द्वकाल र जनआन्दोलनका समयमा यहाँका सञ्चारकर्मीले साहसपूर्वक समाचार लेखेका थिए । राजधानीका ठूला अखबारले राजाको ‘कू’ विरुद्ध मौनता साँधेका बेला महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकले उक्त कदमलाई निरंकुशताको संज्ञा दिँदै सम्पादकीय विरोधमात्र होइन, नारा नै पत्रिकामा छापेको थियो ।
जनआन्दोलन–२ पश्चात् समग्र नेपाली पत्रकारितामा आएको ऐतिहासिक परिवर्तनसँगै सुदूरपश्चिमको पत्रकारितामा समेत आमूल परिवर्तन आयो । जनआन्दोलनपश्चात् सञ्चारमा आएको परिवर्तन पत्रकारिताका लागि झनै गतिशील बन्यो । जनआन्दोलन–२ पूर्व जिल्लामा कार्यरत पत्रकार एकातिर सेन्सरसिपको पीडाबाट गुज्रिरहेका थिए भने अर्कोतर्फ सञ्चारसामग्री अभावमा पीडित बन्नुपर्ने अवस्था थियो । त्यतिबेला आफूले संकलन गरेका समाचार सामग्री प्रकाशन एवम् प्रसारण गर्नका लागि मिडिया हाउससम्म पठाउन फ्याक्स एवम् इमेल सेवासमेत प्रयोग गर्न नसकेर समाचार सामग्री पोको पारेर हुलाकमार्फत सम्बन्धित मिडियाहाउसमा पुर्याउनुपर्ने र नजिक भारतीय सीमा भएकाले पत्रकारले भारतीय बजारमा गएर फ्याक्स एवम् इमेल गर्नेसम्मका कष्टप्रद दिन झेल्नुपर्यो ।
सशस्त्र द्वन्द्वको अन्त्यपछि समेत सुदूरपश्चिममा कञ्चनपुरका पत्रकार प्रकाश ठकुरीको अवस्था अझै अज्ञात छ भने अपहरणपछि हत्या गरिएका कैलालीका पत्रकार जेपी जोशीका हत्यारालाई सरकारले पक्राउ गर्न सकेको छैन । ठकुरीको अपहरणपछि हत्या गरिएको शंका गरिए पनि हत्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । पत्रकार अपहरण घटनाका दोषीमाथि मुद्दा चलाइए पनि सरकारले नै राजनीतिक मुद्दाका नाममा फिर्ता लिने निर्णय गरेपछि उनीहरूले उन्मुक्ति पाएका छन् । यस्ता घटनाले पत्रकारको मनोबल झनै खस्किएको छ । आरोपित खुलेआम घुमिरहे पनि नेपाल पत्रकार महासंघले पत्रकार जोशी र ठकुरीको अपहरणमा माओवादी कार्यक्रताको संलग्नता रहेको प्रतिवेदन धेरै पहिले सार्वजनिक गरिसकेको छ ।
सुदूरपश्चिम भौगोलिक रूपमा विकट रहे पनि पत्रकारिताको विकासका हिसाबले पछिल्ला दिनहरूमा राष्ट्रिय रूपमै पहिचान बनाउन सफल भएको छ । जनआन्दोलन–२ पश्चात् सञ्चारप्रविधिमा आएको परिर्तनसँगै सञ्चारमाध्यमको संख्यासमेत वृद्धि भएको छ । सञ्चारमाध्यमको संख्यात्मक वृद्धि भए पनि त्यहाँ कार्यरत पत्रकार एवम् कर्मचारीले अझै आफ्नो जीवन निर्वाह गर्ने ढंगको पारिश्रमिक पाइरहेका छैनन् । यस्तै राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकारको अवस्था त झनै उदेकलाग्दो छ । न्यूनतम पारिश्रमिकका कुरा यहाँ कार्यरत पत्रकारका लागि एकादेशको कथा बनेको छ ।
विज्ञापन अभावले यहाँका सञ्चारमाध्यम सञ्चालन समस्या रहेको छ । सञ्चालन समस्याले कार्यरत पत्रकार व्यावसायिक रूपले खटिन मुस्किल परिरहेको छ । यहाँको पत्रकारितामा महिला सहभागिता उदेकलाग्दो अवस्थामा छ । कार्यस्थलभन्दा पनि विवाहित जीवन अँगालेपछि महिलाहरू पत्रकारिता क्षेत्रबाट पलायन हुने समस्या देखिएको छ । पत्रकार महिलाको पलायन रोक्न कुनै पनि पहल चाल्न सकिएको छैन ।