चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपि प्रयोगलाई तीव्रता दिने



हलेसी (खोटाङ) । किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिको दोस्रो पूर्ण विस्तारित बैठकले किरात सिरिजंगा लिपि प्रयोगमा ल्याउने निर्णय गरेको छ । उदयपुरको गाईघाटमा भएको दुईदिने बैठकले यस्तो निर्णय गरेको हो ।

समितिको बैठकले तीन वर्षीय कार्ययोजनासमेत बनाएको छ । उसले नौवटा विभागीय कार्यसमिति गठन गरेको किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समिति अध्यक्ष युवराज राईले जानकारी दिए ।

संस्थासम्बद्ध पदाधिकारी तथा सदस्यलाई अनुशासनमा बाँध्न आचारसंहितासमेत अनुमोदन गरिएको थियो । बैठकले केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई भौगोलिक जिम्मेवारी बाँडफाँड गरेको छ । भौगोलिक जिम्मेवारी बाँडफाँड गर्दा संस्थालाई चलायमान बनाउन सजिलो हुने बताइन्छ ।

७३ जना उपस्थित बैठकमा संस्थागत प्रशिक्षण सल्लाहकार समिति अध्यक्ष जयकुमार राई, केन्द्रीय समिति अध्यक्ष युवराज राई, महासचिव जितकुमार राई, कुलपति डा. कैलाशकुमार राई र प्राज्ञ सालिक सतासक राईले बैठकमा उपस्थितलाई प्रशिक्षण दिएका थिए ।

किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिको पहिलो पूर्ण विस्तारित बैठक सुनसरीको धरानमा भएको थियो । दोस्रो पूर्ण विस्तारित बैठक उदयपुरको गाईघाटमा सम्पन्न भएको छ भने तेस्रो पूर्ण विस्तारित बैठक आगामी भदौ २५ र २६ गते झापा, चौथो पूर्ण विस्तारित बैठक मंसिरमा इलाम र पाँचांै पूर्ण विस्तारित बैठक चैतमा खोटाङमा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्