४ महिनाको भेटी १२ लाख ८० रुपैयाँ



हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले चढाएको भेटी गणना गर्दा १२ लाख ८० रुपैयाँ संकलन भएको छ ।

संवत् २०७८ साउन १ देखि ०७८ मंसिर ५ गतेसम्मको भेटी गणना गर्दा १२ लाख ८० रुपैयाँ संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।

हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार शिव–पार्वतीथानको भेटी गणना गर्दा ८ लाख ८४ हजार ५३० रुपैयाँ भएको हो ।

यसैगरी, हलेसी गुफाको प्राङ्गणमा रहेको दान पेटिकामा १ लाख ९८ हजार ८५५ रुपैयाँ भेटी संकलन भएको थियो । गणेश मन्दिरको दानपेटिकाको भेटी गन्दा ३४ हजार ५२५ भएको थियो भने बसाहा गुफाको दानपेटिकाबाट ८२ हजार १७० रुपैयाँ संकलन गरी हलेसी सूचना केन्द्रले ०७८ साउन १ देखि ०७८ मंसिर ५ गतेसम्मको भेटी गणना गरी सूचना टाँसेर सबैमा जानकारी गराएको हो ।

हलेसी आइपुगेका दर्शनार्थीले यस अवधिमा ३ हजार ९३५ भारतीय रुपैयाँ चढाएका थिए भने ६१.७ ग्राम चाँदी र ०.७ ग्राम सुन चढाएका हुन् ।

यसैगरी, प्राङ्गणवरिपरि, दिव्यध्वनि, हामे भवन, मन्दिर व्यवस्थापन समिति भवन, गुफाभित्र रेलिङ रंगरोगन, बसाहथानको ढल निकास (जेसीभी प्रयोग) भेटी गणना र अतिथि खाजा, खानेपानीका लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगमा ५ लाख ३२ हजार १४ रुपैयाँ खर्च भएको थियो ।

उल्लिखित खर्च कटाएर ६ लाख ६८ हजार ६६ रुपैयाँ श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुच्छ«े बैंक हलेसी शाखामा जम्मा गरिएको छ ।

कोरोना महामारीका कारण बन्द हलेसी गत भदौ २९ गतेदेखि दर्शनका लागि खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्