जनप्रिय जाँतो


तस्बिर : विवश कुलुङ

‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’

नभएका त नभएकै भए भएका घरको जाँतो पनि प्रयोगमा आएको देखिँदैन । कुटानी पिसानीका लागि गाउँ–गाउँमा मिल सञ्चालनमा आएपछि जाँतो प्रयोग गर्न छाडिएको हो । घरेलु मिलका रूपमा परिचित जाँतो प्रयोग कम हुँदै गएको छ ।

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाका अनुसार दाल, गहुँ, मकै, कोदो आदि पिस्न प्रयोग गरिने दुई चेप्टा ढुंगाद्वारा निर्मित जाँतो हातले चलाइने प्राचीन उपकरण हो ।

‘मिलले थोरै समयमा धेरै कुटानी पिसानी गरी समयको सदुपयोग गरिदिएको छ,’ हलेसी–तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्ककी भैलक्षी राईको बुझाइ छ, ‘जाँतोमा पिँध्दा समय लाग्छ । त्यही भएर प्राचीन उपकरण जाँतो प्रयोगहीन बन्दै गएको होला ।’

चितवनको सौराहामा रहेको थारू सास्कृतिक संग्रहायलमा थारूको परम्परागत पोसाकमा सजिएर जाँतो घुमाउँदै गरेकी महिलाको प्रतिमा । तस्बिर : नारायण ढुंगाना

गाउँघरतिर कतिपयको जाँतो हुँदैनथ्यो । नभएकाले भएकाको घरमा गएर पालो पर्खेर जाँतो पिँध्नुपथ्र्यो । अर्काको अनुकूलमा जाँतो पिँध्नु सानोतिनो सजाय नै मानिन्थ्यो । त्यतिबेला नहुनुको पीडाबोध हुने नै भयो । त्यसैले छोरी माग्न पुगेका नातागोतालाई घरमा ढिकी, जाँतो छ कि छैन भनेर सोधिएको हुनुपर्छ । त्यतिबेला ढिकी, जाँतो नभएको घरमा छोरीचेली दिन सोच्नैपथ्र्यो । हुनेवाला ज्वाईंको घरमा जाँतोसम्म नभए आफ्ना छोरीले दुःख पाउँछन् भनेर सोच्ने अभिभावक कति दूरदर्शी ।

कुटानी पिसानीका लागि मिल उपयुक्त मानिए पनि धार्मिक शुभकार्यमा ढिकी, जाँतो र ओखलमा तयार पारिएको चामल विशुद्ध मानिन्छ । ‘कुटानी पिसानीका लागि जाँतो सरल मानिनेमात्रै होइन,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका समाजसेवी भूपेन्द्रकुमार राईले सुनाए, ‘जाँतो चलाउन डिजेल, पेट्रोल र मट्टीटेल नचाहिने भएकाले वातावरणीय दृष्टिले समेत यसलाई उपयुक्त मानिन्छ । आवश्यक परेको बेला कुटानी पिसानीका लागि घरमा भएको जाँतो चलायो पुगिहाल्छ ।’ समाजसेवी राईले समेत संवत् २०३० देखि ०३२ सालसम्म जाँतो पिँध्न आमालाई सघाएको बताए ।

वातावरणीयमात्रै नभएर स्वास्थ्यको दृष्टिले समेत जाँतोको महत्व उत्तिकै छ । ‘छरितो मानिए पनि मिलमा कुटानी पिसानी गरिएको अनाजको प्रोटिन, कार्बाेहाइड्रेड, खनिज पदार्थ तथा पौष्टिक तत्व नष्ट हुन्छ,’ कम्प्युटर अपरेटर राईको ठम्याइ छ, ‘डिजेल, पेट्रोल र मट्टीटेलबाट चल्ने मिलले वातावरणमात्रै होइन, ध्वनि प्रदूषणसमेत गर्छ ।’

धार्मिक कार्यका लागि जाँतोमा पिँधेको अनाज शुद्ध मानिनु भनेको जाँतोलाई महत्व दिनु नै हो । जाँतोसँग सम्बन्धित उखान–टुक्का थुप्रै बनेका छन् । खाँदै छ, हग्दै छ के हो ? भनेर सोधिने उखानले जाँतोको महत्वलाई औंल्याएको छ ।

त्यतिबेला सम्बन्धित घरका छोरीबुहारीले प्रत्येक बिहान तीन÷चार बजे उठेर जाँतो पिँध्नुपर्ने बाध्यता थियो । भाले बास्नसाथ उठेर हाई गर्दै पिँधिने जाँतोको आवाज त्यत्तिकै श्रवणीय हुन्थ्यो ।

हिजोआज ललितपुरको हात्तीवन बस्दै आएका भूपेन्द्रकुमार राई समय–समयमा गाउँ पुग्छन् । राईले अतीत सम्झे, ‘हिजोआज गाउँघरमा जाँतो पिँधेको आवाज सुन्न नपाउँदा बिरानो लाग्दोरहेछ । परापूर्वकालदेखि जाँतो पिँधेको आवाज सुन्नेले पछिल्लो समय मिल चलाएको आवाज सुन्न अभ्यस्त छन् ।’

 

प्रतिक्रिया दिनुहोस्