अमिनी नै सार्वजनिक जग्गाका मालिक



चिसापानी (खोटाङ) ।  जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने ५ नम्बर वडाको चिसापानी बजारनजिकै रहेको सार्वजनिक जग्गा अमिनीसहित स्थानीय व्यक्तिको नाममा दर्ता भएको खुलासा भएको हो ।

चिसापानी बजारमाथि रहेको तीन रोपनी सार्वजनिक जग्गा चार व्यक्तिले आफ्नो नाममा दर्ता गरेका हुन् । व्यक्तिको नाममा दर्ता गरिएको जग्गामा संवत् २०३८ तिरै चिसापानी बजारका स्थानीयका लागि खानेपानी ट्याङ्की बनाइएको थियो ।

संवत् ०४२ मा नापी टोलीमा आएका कर्मचारीसँग मिलेर स्थानीय सुक्रिम राई, प्रेमबहादुर बस्नेत र जग्गा नाप्न पुगेका दास थरका अमिनीको नाममा जग्गा दर्ता गरेको थाहा भएको जन्तेढुंगा गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी गराए । ‘चिसापानी बजार क्षेत्रमा खानेपानीको ट्याङ्कीसमेत निर्माण गरिएको जग्गा कसैलाई जानकारी नदिई दर्ता गरेका रहेछन्,’ जन्तेढुंगा गाउँपालिका प्रमुख राईले भने, ‘जग्गाधनी हुँ भन्दै सुक्रिम राईको छोरा शिवकुमार राईले स्काभेटर लगाउँदामात्रै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको रहेछ भन्ने भेउ पायौं ।’

भूमिसम्बन्धी ऐन–२०२१ को परिच्छेद ७ को मोहीसम्बन्धी व्यवस्थाको दफा २५ को मोहीको हक प्राप्त हुने अवस्थाको १ अनुसार नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको जनाइएको छ । ०४२ मा नापी कार्यालयबाट जग्गा दर्ता गर्न आएका कर्मचारीलाई प्रलोभनमा पारेर सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको गाउँपालिकाको जिकिर छ ।

मालपोत ऐन–२०३४ को परिच्छेद ७ को जग्गा आवाद गर्नेसम्बन्धी व्यवस्थाको दफा २४ को उपदफा १ अनुसार निज व्यक्तिले कसुर गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने गाउँपालिका प्रमुख राईले सुनाए । मालपोत ऐन–२०३४ को केही नेपाल कानुन संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन–२०७४ मा व्यवस्था भएअनुसार उक्त जग्गाको संवत् २०२१ मा उतारिएको ७ नम्बर फाँटवारीमा नेपाल सरकारको स्वामित्व देखिने भएकाले सो जग्गा व्यक्तिले हडप्न नमिल्ने गाउँपालिकाले जनाएको छ ।

चिसापानी बजारका स्थानीय बयोवृद्धहरूले सार्वजनिक जग्गा कसैको भोगचलनमा नरहेको सरकारको नाममा खाली बाँझो चौरी रहेको जिकिर गर्दै आएका छन् । तत्कालीन समयमा जग्गा आफ्नो नाममा दर्ता गर्नेमध्येका प्रेमबहादुर बस्नेतले भने उक्त जग्गा सोही ठाउँमा बस्ने माथवरसिंह राउतलाई बिक्री गरिसकेका छन् । आफूले किनेका जग्गा सरकारी नै रहेको थाहा भएकाले प्रक्रिया मिलाएर फिर्ता गर्ने राउतले गुलियो वचन दिएका छन् ।

जग्गाको प्रकृति र पुरानो प्रमाण बुझ्दा सो जग्गा सार्वजनिक नै ठहरिने देखिएको र त्यसबेला जालझेल गरेर व्यक्तिको नाममा दर्ता गरेको बुभिएकाले फिर्ता गर्न आफू तयार रहेको राउतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्