खडेरी लागेको ठाउँमा कृत्रिम बादल छाडेको १५ मिनेटपछि वर्षा



सामाजिक अभियन्ताका रूपमा अन्तर्राष्ट्रिय सभा–सम्मेलन, तालिम, गोष्ठी र कार्यशालामा सहभागी हुनेक्रममा सबैभन्दा धेरै थाइल्यान्ड पुगें । सन् २०१७ मा जलवायु परिवर्तनसम्बन्धी एसियास्तरीय कार्यक्रममा सहभागी हुन चियाङमाई थाइल्यान्ड पुग्ने मौका मिल्यो । त्यहाँ २५ भन्दा बढी देशका सहभागी थिए । सबैले आ–आफ्नो देशको जलवायु परिवर्तनबारे जानकारी प्रस्तुत गरे ।

नेपालको पछिल्लो वातावरण र जलवायु परिवर्तनको प्रतिकूलताबारे प्रस्तुतीकरण गर्ने मौका पाएँ । पंक्तिकार पहाडी जिल्लाको पनि बेंसीमा हुर्केको, बेंसीमा पानी नपर्दा खडेरीले बालीनाली उत्पादनमा पारेको असर प्रस्तुत गरें । विशेषतः आदिवासी जनजाति परम्परागत खेती प्रणालीमै अभ्यस्त छन् । आकाशेपानीको भरमा खेतिपाती गर्नुपर्ने भएकाले पुख्र्यौली थलो छाडेर सालिन्दा बसाइँ हिँडेकाको दुःख प्रस्तुतिमा प्रस्तुत गरेको थिएँ ।

दोस्रो दिनको प्रस्तुतीकरण सकिएपछि खाना खाने समय भयो । कार्यक्रम व्यवस्थापनमा खटिइएकी थाई महिलासँग कुराकानी गर्ने मौका मिल्यो । उनको नाम पि थियो । उनले सोधिन्, ‘पहाडमा खडेरी लाग्दा कृत्रिम वर्षा गराउने व्यवस्था छैन ?’ मैले प्रश्न बुझ्न सकिनँ । उनले पुनः त्यही प्रश्न सोधिन् । उनको प्रश्नपछि बुझें कृत्रिम वर्षा गराउन सम्भव रहेछ । तर, नेपालमा भने कल्पनाबाहिरको कुरा थियो । उनले थप्दै गइन्, ‘थाइल्यान्डमा सुख्खा भएको क्षेत्रमा मात्रै होइन, बालीनाली लगाउने समयमा पानी नपरेमा कृत्रिम वर्षा गराइन्छ ।’

थाइल्यान्डमा लेखक ।

एसियाका विकसित देशमध्येमा थाइल्यान्ड पर्छ । विकासक्रमसँगै विभिन्न कारण सहरी क्षेत्रमा प्रदूषण बढेको छ । प्रदूषणले असर पार्ने नै भयो । थाई सरकारले त्यस्तो ठाउँमा कृत्रिम वर्षा गराएर वातावरण स्वच्छ राख्ने रहेछ ।

यो कसरी सम्भव भयो ?

सुन्दै अचम्म लाग्यो । यस्तो प्रविधिबारे बुझ्न पिलाई जिज्ञासा राखिरहें । ‘थाइल्यान्डको एक गाउँ, जहाँ इसानको पठारमा सुख्खा बढ्दै गएको थियो । जुन गाउँ थाइल्यान्डको उत्तर–पूर्वमा रहेको छ,’ उनले जानकारी गराइन्, ‘सुख्खा बढ्दै गएकाले किसानले भनेको समयमा बाली लगाउने पाउँदैनथे । उनीहरूले त्यतिबेला परम्परागत रूपमा बाली लगाउने बेला घरमै बनाइएको फाई रकेट आकाशमा उडाएर मौसम देवतालाई पृथ्वीमा मनसुन (पानी पार्न) आग्रह गर्थे । लोककथाअनुसार आकाशमा रकेट ठुल्ठूलो आवाजमा विस्फोट हुन्थे । त्यसपछि खुसी भई देवताले वर्षाको अनुमति दिनेछन् ।’

सन् १९५५ नोभेम्बर १४ तिर राजा भूमिबोल अद्दुलिया दी ग्रेट शाही भ्रमणक्रममा इसान क्षेत्र पुगे । २८ वर्षीय राजाले त्यहाँ पानी अभावका असर प्रत्यक्ष देखे । उनले समाधानका उपाय सोच्दै आकाशतिर हेरे । आकाशमा बादल लागेको थियो । राजा भूमिबोलले बादल हेरिरहेका थिए । उनले केही न केही उपाय निकाल्ने संकल्प गरेको स्थानीयले लख काटे ।

थाई पत्रकार सुयत चिरापन्तका अनुसार भ्रमणपछि राजाले कृत्रिम वर्षाको कल्पना गरे । उनले चेक बाँध निर्माण र बादलबाट पानी कसरी पार्ने भन्ने चिन्तन गर्न थाले । त्यसपछि मोम राजावङ्से डेवारिद्दी कृषि इन्जिनियरिङका एक विशेषज्ञलाई राजाले सोधे, ‘कृत्रिम वर्षा गराउन सम्भव छ ?’

लगातार १४ वर्षको अनुसन्धानपछि कृत्रिम वर्षा गराउन सम्भव भयो । सन् १९६९ जुलाई १ मा कृत्रिम वर्षा गराउन सम्भव भयो । जसमा एयरक्राफ्ट फ्लाइटले बादलमार्फत बादलमा रसायन छाडेको १५ मिनेटपछि पानी पर्यो । यस्तो प्राविधिक सफलताले फड्को मार्यो । यो प्रविधिलाई वृहत् परियोजनाका रूपमा कार्यान्वयन गर्न शाही रोयल रेन मेकिङ परियोजना थालियो । कृत्रिम वर्षाका लागि रासायनिक वस्तु, बादलको आर्द्रता स्तर, क्याल्सियम क्लोराइड, युरियालगायतको मिश्रण गरेर कृत्रिम वर्षा गराउन सकिन्छ । यसलाई नेपालमा उडाइने डोमेस्टिक जहाजजस्तै एयरक्राफ्टमार्फत सुख्खा क्षेत्रको आकाशमा रसायन छाडिन्छ ।

कृत्रिम वर्षा संस्थागत गर्न तत्कालीन राजाले सन् १९९२ सेप्टेम्बर १ मा शाही रोयल रेन मेकिङ र कृषि उड्डयन विभाग स्थापना गरे । दुवै विभाग हालसम्म सञ्चालित छन् । कृत्रिम वर्षा व्यवस्थापन गर्ने निकायका रूपमा थाई सरकारले शाही रेन मेकिङ डिभिजन
(कृत्रिम वर्षा गर्ने विभाग) हेर्ने गर्छ । थाइल्यान्डमा मौसमको अवस्था हेरेर सालिन्दा सुख्खा क्षेत्रमा कृत्रिम वर्षा गरिन्छ ।

सन् २००१ मा युरोपियन संगठनबाट यो प्रविधि आविष्कारले मान्यता पायो । सन् २००३ मा युरोपियन पेटेन्ट कार्यालयले मौसम संशोधनका लागि पेटेन्ट राइट दियो । कृत्रिम वर्षा आविष्कारसँगै जोर्डन, मंगोलिया, श्रीलंका, इन्डोनेसिया, अस्ट्रेलिया, फिलिपिन्सलगायतका देशले थाइल्यान्डसँग सहयोग माग्दै आएको छ । उसले कृत्रिम वर्षाका लागि ती देशमा प्राविधिक पठाउने, प्रविधिका लागि सहकार्य गर्ने, प्रशिक्षण र प्रविधि आदान–प्रदान गर्न सघाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्