जनप्रतिनिधिसँग सहकार्य गर्ने सन्दर्भमा कोही फरक नहुने : मेयर राई


दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले अन्य पार्टीबाट प्रतिनिधित्व गर्दैमा जनप्रतिनिधिसँग सहकार्य गर्ने सन्दर्भमा कोही फरक नहुने जिकिर गरेकी छन् ।

मेयर राईले हलेसी तुवाचुङ नगरपालिकामा काँग्रेसको बहुमत छ भन्दैमा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई गर्ने व्यवहार र हेर्ने आँखा फरक हुन्छन् भन्ने हाउगुजी अन्त्य गर्न जरुरी रहेको बताइन् ।

हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकले नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षलाई नगरपालिकाको विषयगत समिति संयोजकमा चयन गर्दै व्यावहारिक पक्ष उजागर गरेको छ ।

सोमबार बसेको नगर कार्यपालिका बैठकले हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष गन राईलाई वन, वातावरण तथा विपत् व्यवस्थापन समिति संयोजकको जिम्मेवारी दिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाले जस्तै अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई विषयगत समितिमा समेट्ने प्रचलन कमै रहेको बताइन्छ ।

नगर कार्यपालिका बैठकले विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि–२०७९ लाई अनुमोदन गर्दै कार्यान्वनमा ल्याएको छ । विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि–२०७९ कार्यान्वयनसँगै गठित पाँच विषयगत समितिअन्तर्गत सामाजिक विकास समिति संयोजकमा रुद्रकुमार राईलाई जिम्मेवारी दिइएको छ । रूपेन्द्रकुमार राई, पूर्वाधार विकास समिति (संयोजक), किशोरकुमार बस्नेत, आर्थिक विकास समिति (संयोजक), गन राई, वन, वातावरण तथा विपत् व्यवस्थापन समिति (संयोजक) र टेकराज राई, सुशासन तथा संस्थागत विकास समिति संयोजक रहेका छन् ।

बैठकले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष कमल गिरीलाई नगरपालिकाको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
यसैगरी, सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमको पहिलो उपचार बिन्दु स्वास्थ्य चौकी दुर्छिमबाट सञ्चालन गर्न स्वास्थ्य बीमा बोर्डलाई सिफारिस गर्ने टुंगो लागेको छ ।

नगरपालिकाभित्र रहेका शारीरिक रूपमा अशक्त (ख, ग, घ), एकल महिला, पुरुष, विधवा, विधुर र अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ ।

नगर कार्यपालिकाको नियमित बैठक प्रत्येक महिनाको ७ गते बस्ने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका विषयगत समिति

सामाजिक विकास समिति

रुद्रकुमार राई –संयोजक
फूलसरी राई –सदस्य
देवराज कटुवाल –सदस्य

पूर्वाधार विकास समिति

रूपेन्द्रकुमार राई –संयोजक
मीना रम्तेल –सदस्य
टंककुमार राई –सदस्य

आर्थिक विकास समिति

किशोरकुमार बस्नेत –संयोजक
धनलक्ष्मी विक –सदस्य
दिनेश राई –सदस्य

वन, वातावरण तथा विपत् व्यवस्थापन समिति

गन राई –संयोजक
ज्ञानेन्द्र राई –सदस्य
चन्द्रकुमारी मगर –सदस्य

सुशासन तथा संस्थागत विकास समिति

टेकराज राई –संयोजक
गणेश पौडेल –सदस्य
डल्लीमाया राई –सदस्य

प्रतिक्रिया दिनुहोस्