‘खै केलाई अन्तर्वार्ता दिनु ? अन्तर्वार्ता दिएपछि केही सुझाव, तर्क दिइन्छ । तर, त्यो दिएर पनि के भइहाल्छ र ? हजारौं अन्तर्वार्ता पढिन्छ । पत्रपत्रिकामा खै त्यसको उपलब्धि ? बरु उल्टै कसैबाट अपजस पाइन्छ,’ यसरी अन्तर्वार्ता दिन सदैव जोगिएर हिँड्ने बच्चुकैलाशसँँँग अन्तर्वार्ता लिन चाहनेको उहाँकै निवासमा जम्काभेट भएको थियो ।
‘हामी तपाईंंबारे धेरै कुरा जान्न चाहन्छौं । पत्रिकामार्फत अरूलाई पनि बाँड्न चाहन्छौं । कुनै अप्ठ्यारो त नपर्ला ?’ सुरुमा अत्यन्त प्रफुल्लित र चम्किलो मुहारमा एकाएक सूर्यलाई सानो बादलको अंशले ढाकेजस्तो केही क्षण उहाँ गम्भीर देखिनुभयो । ‘तपाईंं हामी एउटै गाउँका मान्छे । गफ गरौं न हुन्न र ?’ हामी उहाँको इच्छाभन्दा बाहिर जाने पक्षमा किञ्चित थिएनौं । हामी याने कि साहित्यकार विष्णु आभूषण र पंक्तिकार । कुरा हालैको नभएर निकै वर्ष पहिलेको हो ।
नेपाली सांगीतिक क्षेत्रमा बच्चुकैलाश भन्ने नामलाई थप परिचयको कुनै जरुरत छैन । तर, यति हुँदाहुँदै पनि अहिलेको नयाँ पुस्ताले भने उनको स्वर र संगीतलाई नजिकबाट अनुभूत गर्न सकिरहेझैं लाग्दैन । त्यसको एउटा कारण बच्चुकैलाशका गीत–संगीत आजकाल हामी त्यति सुन्न नपाइरहनु पनि एक हुन सक्छ । हुन त पुराना गायक, संगीतकारका गीत–रचना प्रायः कमै आइरहेको परिप्रेक्ष्यमा बच्चुमात्र किन अपवाद हुन सक्थे र । अनि लाग्छ– किन यस्तो भइरहेछ ? त्यसै पनि बच्चुकैलाशका खास धेरै गीत छैनन्, जति छन् गुणात्मक रूपमा स्तरीय छन् । त्यसमाथि उनी गीतिएल्बम निकालेर व्यावसायिकता त के आफ्ना सांगीतिक क्षेत्रको सामान्य परिचयको छापसमेत श्रोतालाई दिन नचाहने पंक्तिमा पर्छन् । अनि अब बच्चुकैलाशलाई नयाँ पुस्ताले कसरी चिन्ने त ? अतः उनको नामलाई अब परिचयको जरुरत पर्न थालेको त होइन ? अर्काे शंका पनि उत्तिकै व्याप्त छ ।
एकताका आधुनिक नेपाली सांगीतिक आकाशमा थुप्रै होनहार प्रतिभा उदाए । ती सबै आ–आफ्ना क्षमता र प्रतिभाका कारणले ख्यातिप्राप्त व्यक्तित्व बने । यसभित्र पनि बच्चुकैलाशचाहिँ आफ्नो छुट्टै विशेषता र गायकीका कारण अरूभन्दा भिन्नै परिचय बोकेर एउटा चिनिने पात्रका रूपमा विकसित हुन पुगे । उनको शैली विशिष्ट रह्यो भने गायनकला पनि अद्वितीय मानियो । लाग्छ– उनको ट्रेन्ड, पारा अहिलेसम्म कसैकसैले पछ्याउन सकेको छैन ।
कालजयी गीत गाउने बच्चुकैलाशको स्वरको क्यारिकेचर गर्न पनि सितिमिति सकिँदैन भनिन्छ । यो उनको विशेषता नै हो । सायद त्यसैले उनी हामीलाई भन्छन्, ‘संगीतमा अनुकरणमात्र होइन, प्रभावलाई पनि कुनै महत्वपूर्ण दृष्टिकोणले हेर्दिनँ । सिर्जनामा मौलिकता त हुनैपर्छ । किनभने मेरा गीतहरू पनि भाइहरूले सुन्नुभएकै होला । तिनीहरूमा कुनै अन्य संगीतको प्रभाव नहोला । हो, विदेशी कलाकारको तुलनामा हामीमा लगनशीलता र अभ्यास गर्ने शक्तिको कमी छ । समर्पण र एकाग्रता संगीतका लागि अपरिहार्य हुन्छन् ।’
खोटाङको साबिक छोरम्बु गाउँ विकास समितिको सापातेलमा संवत् १९९५ साउनमा कर्णबहादुर र कृष्णकुमारीको कोखबाट जन्मेका बच्चुकैलाशलाई बाल्यकालको ग्रामीण परिवेशले नै गायन क्षेत्रमा प्रेरणा र प्रभाव पारेका थिए । ‘त्यहाँ बितेका प्रायः सबै घटना म सम्झन्छु,’ उनी भन्छन्, ‘आहा, मेरो रमणीय गाउँ सापातेल ।’
बच्चुकैलाशको मीठो स्वरले सबैलाई मुग्ध बनाउँछ । अझ उनी स्वयम् मीठा–मीठा गीत रचना गर्न पछि पर्दैनन् । र, तिनै गीतकार नेपाली मूल्य–मान्यतामा आफ्नो सिर्जना भर्दै मौलिकतासहितको विशिष्ट पहिचान बोकेर गीतलाई संगीतमा ढाल्ने काम गरिरहन्छन् । अतः बच्चुकैलाश एउटा मीठो गायक हुन् भने उत्तिकै सशक्त संगीतकार । भावपूर्ण र उत्कृष्ट गीत रचेर उनी एउटा राम्रा गीतकारसमेत बन्न सफल छन् । एक पक्षले मात्र बच्चुको समग्र सांगीतिक इतिहास अपुरो, अधुरो हुन्छ । उनी तीनै क्षेत्रमा विभक्त छन् । उनका तीनै क्षेत्र उत्तिकै सशक्त भएर अगाडि बढेका छन् । यसो भनिए पनि गलामाथि पूर्ण अधिकार भएकाले उनको मुख्य चिनारीचाहिँ गायक नै हो । स्वरको भोल्युम, आरोह, अवरोह, गहनता, रेन्ज, गलालाई खेलाउन सक्ने क्षमता आदि उनका कुशल लक्षण हुन् ।
बच्चुकैलाश कुनै सभा–समारोहमा पुग्दा उनलाई राम्रो गायक भनेर धेरैले गीत गाइदिन अनुरोध गर्छन् । त्यो स्वभाविक पनि हो । तर, उनी यस्तो स्थितिमा गीत गाउन पटक्कै रुचाउँदैनन् । ‘अहँ, यस्ता ग्यादरिङमा गीत गाएर म रिल्याक्स हुन्न,’ उनी भन्दै जान्छन्, ‘गीत गाउनु भनेरमात्र हुँदैन । त्यो पनि त एउटा साधना हो ।’ हामी अरू अगाडि गफ लम्ब्याउने उपक्रम गर्न थाल्छौं । ‘ठिट्यौलो उमेरमा त सबैलाई केही न केही गर्ने लोभ हुन्छ । म स्कुलमा छँदै गीत गाउँथे,’ उनले थपे, पद्मोदय हाइस्कुलमा आठ कक्षामा छँदा मेरो एउटा गीत रेडियोमा रेकर्ड भएको थियो ।’ उनी आफ्नो अतीतको गहिराइलाई हाम्रोसामु खोतल्दै जान्छन् । ‘त्यसपछि कलेजमा केही गीत गाएँ । तर, कलेजमा छँदा मैले गाएका गीतले मेरो यस्तो व्यक्तित्व अथवा के भनौं (अलि रोकिँदै) बनिसकेछ,’ उनले गर्व गरे, ‘जसकारण मैले आफूलाई संगीत क्षेत्रमै अपनाउन थालें ।’ यसरी हामी उनीसँग उनकै जीवनका उकाली, ओराली, सुख, दुःख, घामछाँया, आँसु र हाँसोमा अल्मलिन थाल्छौं ।
‘दाइ, तपाईंंका नयाँ गीत आजकाल किन त्यति धेरै सुनिन्न नि ?’ ‘अहो, त्यो कुनै समयमा हामीले यो क्षेत्रलाई अर्कै दृष्टिले हेथ्र्यौं ।
उज्यालो भविष्य होलाझैं लाग्या थियो । तर एकाएक त्यो क्षेत्रले अपेक्षित रूपबाट सम्मान नपाएजस्तो लाग्यो,’ उनले बेलिविस्तार लगाए, ‘हुन त यो मेरो आफ्नो निजी विचार हो । तर, मलाई यस क्षेत्रले मर्यादित रूप कायम गर्न नसकेजस्तो लाग्यो । हाम्रो परिप्रेक्ष्यमा ।’ उनको अपूरो वाक्यभित्र सम्पूर्ण भावना अटाएकोे हामीले अनुभूति गर्यौं । उनी कसैलाई पनि तोकेर आक्षेप लगाउन चाहँदैनन् । सायद उनको यो स्वभावै पनि हो । तर, उनले भन्न खोजेको कुरा नेपाली सांगीतिक क्षेत्रमा लाग्ने सम्पूर्ण व्यक्तिलाई एउटै आँखाले हेर्ने दृष्टिकोण अन्त्य हुनुपर्ने धारणा राख्न खोजेको संकेत हामीले पायौं । त्यसैले उनी यसबाट आफू पीडितझैं देखिन्छन् । चिन्तितझैं लाग्छन् ।
‘संगीतपछि तपाईंंलाई मन पर्ने क्षेत्र कुन होला ?’ उनी मुस्कुराउँदै भन्छन्, ‘मलाई संगीतका अलावा साहित्य र आध्यात्मिक क्षेत्रले बढी आकर्षित पार्छ । यसैबाट म आत्मविभोर हुने गरेको छु ।’ किताबका पाना पल्टाएझैं उनलाई पल्टाई–पल्टाई पढ्न मन लागिरहेछ हामीलाई । बच्चुकैलाशमा साहित्यिक भावना रहेछ । यो सुनेर हामीलाई पनि रमाइलो र खुसी लाग्छ । आध्यात्मिक क्षेत्रलाई पनि उनी उत्तिकै महत्व दिँदारहेछन् । शसयद त्यसैले होला उनलाई हामीले खोटाङको कहिले हलेसी महादेवको मन्दिर जाँदै गर्दा त कहिले फर्किदै गर्दा बाटोमा पनि निकै चोटि भेटिइसकेका थियौं ।
तपाईं आफूले गाउने गीतचाहिँ कसरी प्राप्त गर्नुहुन्थ्यो नि ? प्रसंग फेरि हामीले गीततर्फै मोड्न चाह्यौं । ‘प्रायः यही आउनुहुन्छ गीतकारहरू । तर, कुनै–कुनै गीतचाहिँ’ उनको वाक्य पूरा हुन नपाउँदै बाहिर कुकुरको आवाज सुनेर कम्पाउन्डभित्रको कुकुर एकैसाथ जोडले भुक्दा हामी सबैको सातो उडाइदिन्छ । यो अपूरो वाक्यलाई पूरा गराउनेतर्फ फेरि हामी पनि लागेनौं ।
बच्चुकैलाश एकल गीत गायनमा मात्र होइन, सांगीतिक इतिहासमा पुष्प नेपालीसँगको युगल गायनमा पनि उत्तिकै अविस्मरणीय छाप छाड्न सफल भएका छन् । हार्माेनियम र गितारसम्म पनि नहुँदा बच्चुकैलाश मुखले सुसेलेरै पनि मीठो धुन निकाल्दै संगीत सिर्जनामा रातोदिन संलग्न हुन्थे । त्यसैले त उनी भन्छन्, ‘समर्पण र एकाग्रता संगीतका लागि अपरिहार्य हुन् ।’ अहिलेको समयमा त्यसरी समर्पणभाव देखाएर एकाग्रताका लागि धैर्य लिएर संगीतमा साधना गर्ने अति कम पाइने हामीलाई अनुभूति हुन्छ । यसको मतलब सबै खराब र कमजोर छन् मात्र भन्न खोजिएको किमार्थ होइन । त्यसो त साधना र मेहनत गर्ने व्यक्तित्वहरू पनि हामीकहाँ उत्तिकै छन्, उनीहरूले आफ्नो नाम र दाम राम्ररी आर्जन गर्न सफल छन् । तर, विनापरिश्रम यस क्षेत्रमा आएर रातारात नाम र दाम कमाउनेहरूका कारण राम्रो काम गर्नेसमेत अपमानित हुनपर्ने स्थिति आइरहेको छ । आजकालका केही गीत र गायकको स्वर र गीत सुन्दा बच्चुकैलाशका कुरा कति सत्य रहेछन् भनिरहनुपर्दैन । जसकारण श्रोता लज्जित हुँदै रेडियो बन्द गर्नुको के विकल्प हुन सक्छ र ?
तपाईंले सबैभन्दा पछि गाउनुभएको गीत कुन हो ? ‘हुन त मैले १९६९ देखि नै गाउन छाडेको हुँ,’ उनले जानकारी गराए, ‘त्यसपछि सन् १९७१ मा एउटा गीत मनको बाँधको लागि गाएँ । जी शाहद्वारा रचित नाम छ सयौं, मेरो सम्भवतः अन्तिम गीत हो कि ?’ त्यतिखेर हामीलाई यसो भने पनि अरू केही गीत उनका यसपछि पनि आएको थाहा पाइन्छ । झन्डै दुई घन्टाजति हामी उनीसँग गफिइसकेकाले बिदा हुन्छौं । ‘भाइहरूलाई भेटेर पुरानो आफ्नो जीवन एकपटक फेरि ताजा बनाउन पाइयो’ उनको भनाइबाट हामीलाई खुसी लाग्नु स्वाभाविकै थियो । हामीले पनि औपचारिकता पूरा गर्न भुलेनौं ।
‘दाइसँगको यो भेट त हाम्रा लागि निश्चय नै अविस्मरणीय हुन पुगेको छ,’ हामीले वाचा गर्यौं, ‘फेरि–फेरि पनि आइरहन्छौं दाइ । झिँझो नमान्नु होला है ।’ यसरी सौहार्द्रतासाथ छुट्टिएका हामीहरूलाई त्यसपछि उहाँसँग फेरि भेट्ने शौभाग्य अहिलेसम्म मिलेको छैन ।
बच्चु कैलाशलाई किन अन्तर्वार्ता दिन मन लाग्दैन ? यो खोजीको विषय हुन सक्ला । तर, अन्तर्वार्ता दिएर विज्ञापन हुनुमात्र राम्रो वा अन्तर्वार्ता दिँदामात्र धेरै काम गरेको ठहर्ने आमप्रचलन अब निरुत्साहित हुनैपर्छ । नेताहरूको जस्तो कुरा ठुल्ठूला गर्ने काम केही छैन । काम हेर्नुपर्छ हामीले । चर्चा र प्रसंगमा आइरहनुभन्दा केही गरेर देखाउनु ठूलो कुरा हो ।
बच्चुले अन्तर्वार्ता नदिँदैमा काम कम गरेको किञ्चित ठहर्दैन । उनले हाम्रो समाज वा राष्ट्रलाई ठूलो योगदान दिइसकेका छन् । त्योभन्दा ठूलो उनको अन्तर्वार्ता हुनै सक्दैन । भलै यसबाट उनका बारेमा पाठक, श्रोताले निश्चित रूपमा धेरै कुरा थाहा पाउँथे होलान् । तर, स्वभाव कोही कसैको कस्तो हुन्छ, कसैको कस्तो हुन्छ । त्यसलाई त्यति धेरै महत्व दिनुहुँदैन कि ? अन्त्यमा केचाहिँ भन्नै पर्ने हुन्छ भने बच्चुकैलाशजस्ता व्यक्तित्वका समय छँदै स्वरको संरक्षणमा सम्बन्धित निकायको चासो र चिन्ता हुनुचाहिँ निश्चय नै जरुरी देखिन्छ । यसो हुन सकेमा भोलिका पुस्तालाई उनीबारे खोज, अध्ययन, अनुसन्धान गर्न सजिलो हुने थियो ।