जेनजी आन्दोलनका प्रिय सहिदहरू, म यसपटक दसैं मान्दिनँ


जेनजी आन्दोलनका प्रिय सहिदहरू,
‘बाँच्न पाए हाँस्न सकिन्छ’ भन्ने नेपाली भनाइ प्रचलित छ । बाँचेबर्ती गए अर्को साल दसैं मनाउँला । दसैं काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मेला होइन । यो सालिन्दा आउँछ । तर, जेनजी आन्दोलनका प्रिय सहिदहरूका लागि दसैं कहिल्यै आउने छैन । तपाईंहरूको सहादतको सम्मान र शोकले यसपटक मैले दसैैं नमनाउने निर्णय गरेको हुँ । जेनजी आन्दोलनका प्रिय सहिदका आत्माले शान्ति पाओस् । तपाईंहरूले सोचेजस्तो देशको अर्थपूर्ण परिवर्तन होस् । पटक–पटकको आन्दोलनले केही न केही सामान्य परिवर्तन गरे पनि साँचो अर्थमा आमसहिदका सपना पूरा हुन सकेको छैन । प्रत्येक पटकका सहिदको सपना पूरा हुन नदिने कुन शक्तिको खेल छ ? क–कसको मेल छ ? ती नरभक्षीहरू पनि अजम्बरी छैनन् । मैले बुझेको यत्ति हो ।

दसैं मान्ने र नमान्ने बहस विशेषतः दसैं आउन महिना दिनअघिदेखि बडादसैं अर्थात् टीकाको दिनसम्म चल्छ । सामाजिक सञ्जाल र सञ्चार (प्रकाशन तथा प्रसारण) माध्यममा सालिन्दा बहल चलेकै छ । संवत् २०८२ को टीका असोज १६ गते परेको छ । आज असोजको १ गते । यसपटक भने दसैंको पक्ष र विपक्षमा बहस सुन्न परेको छैन । यी हरफहरू लेखिरहँदा युवा पुस्ता (जेनजी) आन्दोलनले ल्याएको राजनीतिक परिणाम पनि हुन सक्छ । तर, यसपटक पनि दसैं मान्ने र नमान्नेबीचको बहस सामाजिक सञ्जाल र सञ्चारमाध्यम तताउला । दसैंबारे बहसमा पंक्तिकार कहिल्यै खास देखिइनँ ।

पंक्तिकारको समुदाय वा समाज (दुर्छिम, साल्तेम्मा) मा दसैं कस्तो अवस्थामा नमान्ने भन्ने विद्यमान प्रचलन छ । दसैं आउनै लाग्दा घरको सदस्यको निधन भएमा त्यो सालको दसैं–तिहार नमनाउने र जुनसुकै सालको वैशाख, जेठ, असारतिर परिवारमा कसैको निधन भएमा सम्बन्धित घरपरिवारका सबै भेला भई शुध्याइँ गरिसकिएको छ भने दसैं–तिहार मनाउने चलन छ । दुर्छिम, साल्तेम्मा र अरू टोल÷भेगको चलन अलि फरक पनि हुन सक्छ । सम्बन्धित घरको सदस्य निधन भएपछि अन्त्येष्टि सकेपछि पनि वर्ष दिन दसैं–तिहार नमनाउने चलन छ । उनीहरूले सकभर छोरीचेलीको निधन हुँदासमेत दुःख बार्ने गर्छन् । ०७९ फागुनमा पंक्तिकारको आपा (बुवा) को निधन भयो । घरपरिवारका सबै सदस्य भेला भई शुध्याइँ गरिसकेका कारण ०८० को दसैं–तिहार मनायौं । हाम्रै समुदायका कतिपयले यस्तो अवस्थामा समेत दुःख बार्ने गरेका छन् ।

परदेशमा रहँदाबाहेक पंक्तिकारले दसैं मनाउँदै आएका छन् । दसैं पुर्खाले मान्दै आएका हुन् । थिए । छन् । मैले पनि पुर्खाको निरन्तरतालाई छाडेको छैन । तर, घरदेशमै रहे पनि यसपटक दसैं नमनाउने घोषणा गरेको छु । असोज १ गते यस्तो घोषणा गरेको हुँ । मलाई दसैं मनाउन पटक्कै जाँगर चलेको छैन । यस्तो अवस्थामा दसैं कसरी मनाउनु ? केवल ७ घन्टामै कांग्रेससमेत सहभागी केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताको स्वादिलो कुर्सीबाट जेनजी आन्दोलनले ओरालिछाड्यो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएको सम्मान र सम्झनामा असोज १ गते आधा झन्डा झुकाएर शोक दिवस मनाउने निर्णय गरेको छ । शोक दिवसमात्रै होइन, पंक्तिकारले बडादसैं–२०८२ नै नमनाउने निधो गरे ।

अन्त्यमा यो पनि भनौं– समग्र नेपालीको आवाज बुलन्द गर्ने जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले सहिदले बगाएको अमूल्य रगत सम्झँदै देश र जनताको सेवामा लागिपरेको देख्न र सुन्न पाइयोस् । जेनजी आन्दोलनका महान् सहिदहरूको अभिभावकलाई पंक्तिकारले सम्झिरहेका छन् । आन्दोलनक्रममा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै छिट्टै निको भएर अन्तरिम सरकारलाई घच्घच्याउने काममा तपाईंहरूको आवश्यकता अपरिहार्य छ । सहयोद्धा साथीहरूको बलिदान बिर्सन हुँदैन है ।

प्रतिक्रिया दिनुहोस्