‘लडाइँको देश’ भनेर चिनाउने हतारो



गोलमेच सम्मेलन, अन्तरिम सरकार गठन र संविधानसभा निर्वाचनप्रति नेकपा माओवादी अडिग थियो । शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारले उल्लिखित माग बेवास्ता गरेपछि नेकपा (माओवादी) ले तात्कालिक शाही नेपाली सेनामाथि भीषण आक्रमण गर्ने र जिल्ला सदरमुकाममा फौजी हमला गरेर अघि बढ्ने योजनासाथ पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्यो । पार्टीको तल्लो तहसम्मको भेला, प्रशिक्षण र बैठक सम्पन्न भइसकेको थियो । माओवादीको फौजी निष्कर्ष थियो, ‘अब शाही सेनामाथि हमला गर्न ढिला गर्न हुँदैन । उनीहरूमाथि हमला गर्न सकेनौं भने फौजी श्रेष्ठता हासिल गर्न सकिँदैन ।’

सकेसम्म शाही सेनाले हामी (माओवादी) माथि आक्रमण गरोस् भन्ने उत्कट चाहना थियो । तर, हामीले उनीहरूमाथि आक्रमण गर्नैपर्ने योजना बन्यो । पार्टीले एकैचोटि पूर्व, मध्य र पश्चिममा रहेको तीन सदरमुकाममाथि सशक्त रूपमा धावा बोल्ने र फौजी श्रेष्ठता हासिल गर्ने योजनासाथ अघि बढ्यो । यसै योजनाअन्तर्गत सगरमाथाको काखमा रहेको सोलुखुम्बु सदरमुकाम सल्लेरी पहिलो ‘टार्गेट’मा प¥यो । विश्वको सर्वोच्च शिखर सगरमाथाले चिनिएको देशलाई ‘लडाइँको देश’ भनेर चिनाउन पार्टीको महत्त्वपूर्ण फौजी आक्रमणको योजना सल्लेरीमा जताउनु थियो ।

पूर्व, मध्य र पश्चिम कमान्डले मंसिर १० गते एकसाथ तीन सदरमुकाममा सशक्त रूपमा धावा बोल्ने योजनासाथ पूर्वको फौज तयार गरियो । आवश्यक युद्धसामग्री, लजिस्ट्री र खाद्यान्न जोरजाम गरेर सल्लेरी मोर्चाको तयारी गरियो । त्यतिबेला पूर्वको जनमुक्ति सेनाको फर्मेसन अस्थायी बटालियन थियो । सल्लेरी रेड गर्ने योजनाअनुसार मंसिर १२ गते राति जनमुक्ति सेनाले सल्लेरीमाथि धावा बोल्यो । पूर्वको विशिष्ट फौजी कारबाहीमा पश्चिमको पनि एक प्लाटुन सहभागी थियो ।

उता, पश्चिममा भने १० गते दाङ सदरमुकाम घोराहीमा आक्रमण गरी ६४८ थान हतियार र गोली तथा बारुद कब्जा गरियो । हतियार ट्रकमा हालेर सुरक्षित स्थानतिर पुर्याइसकिएको थियो भने मध्यमा पनि जनमुक्ति सेनाले स्याङ्जा सदरमुकाममाथि धावा बोलेर भारी मात्रामा हतियार कब्जा गरिसकेको थियो । पूर्वी कमान्डमा चाहिँ १० गते कारबाही हुन सकेन । ‘टार्गेट’नजिकै पुग्दा एक ग्रिनेड विस्फोट भएपछि त्यो दिन कारबाही स्थगित गरियो ।

सबैतिर फौजी कारबाही सम्पन्न भए पनि पूर्वमा तोकिएको मितिमा कारबाही हुन नसक्दा आश्चर्य मान्नेको कमी थिएन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वको फौजी कारबाही समयमै हुन नसक्दा आश्चर्य प्रकट गरे । सबै–सबै गम्भीर चुनौती सामना गर्दै सुदूर सम्भावना चुम्दै र दुस्मनलाई चक्मा दिने योजना तय गरेरै पूर्वले सल्लेरीमाथि ‘एक्सपोज’ भइसकेको अवस्थामा कारबाही सफल भयो ।

जनमुक्ति सेना, पार्टीपंक्ति र आमजनसमुदायको ठूलो त्याग, तपस्या, वीरता र बलिदानको संगम थियो । मोर्चामा १४ जनमुक्ति सेनासम्बद्ध वीर योद्धाले जीवन उत्सर्ग गरेरै कारबाही सफल भएको थियो । कारबाही सफल पार्न एकबारको जीवन क्रान्तिको बलिवेदीमा होम्ने महान् अमर सहिदमध्ये कुमार थामी ‘आकाश’, टेकबहादुर थामी ‘वासु’ र मानबहादुर थामी ‘गम्भीर’ पनि थिए । उनै महान् योद्धाबारे दुई/चार हरफ लेख्ने प्रयास गरेको छु ।

कुमार थामी ‘आकाश’

महान् सहिद आकाश अत्यन्तै पिछडिएको थामी समुदायमा जन्मेका थिए । विद्रोही स्वभाव र तीक्ष्ण उनी ०५७ देखि जनयुद्धमा हाम्फालेका थिए । साबिक खोपाचागु गाउँ विकास समितिमा जन्मेका उनले माध्यमिक तहसम्मको पढाइ पूरा गरे । स्थानीय काजी खड्काहरूले सोझासिधा थामीलाई शोषण, दमनमा राखेकै थिए । दास बनाइरहेकै थिए । आलम्पुको ढुंगाखानीबाट ढुंगा बोकेर जीविकोपार्जन गर्ने उनीहरू शोषणको जाँतोमा पिसिनसम्म पिसिएका थिए । उनीहरूले कहिल्यै सुखको सास फेर्न पाएनन् । तसर्थ, पढाइ छाडेर वर्गमुक्ति आन्दोलनमा मिसिए । परिवारको जेठो छोरा आकाशको बुवा, आमा, एक दिदी र दुई भाइ छन् । हजुरबुवा भारतीय सेना भएकाले उनलेसमेत देशको कुशल योद्धा बनेर जनयुद्धमा समाहित हुन ढिला गरेनन् ।

डम्बर थामी ‘अनुपम’

हजुरबुवाले उनलाई युद्धकलासम्बन्धी पाठ सिकाए । हजुरबुवाले उनलाई एलएमजीबारे महत्त्वपूर्ण प्रशिक्षण दिए । कक्षा १० मा पढ्दापढ्दै विद्यार्थी संगठनबाट राजनीति सुरु गरेर क्रान्तिमा लागे । देश र दुनियाँका लागि केही न केही गरेरै देखाउनुपर्छ भन्ने उद्देश्यले जनयुद्धमा लागेका उनले महत्त्वपूर्ण फौजी कारबाहीमा भाग लिएर दुस्मनलाई ‘सरप्राइज’ दिए । त्यसैले जनयुद्धको एक धक्कामय कारबाही सल्लेरीमा एसल्टको भूमिका निर्वाह गर्दागर्दै शहादत प्राप्त गरे । उनले सर्वहारा वर्गका लागि हाँसीहाँसी बलिदान दिए ।

टेकबहादुर थामी ‘वासु’

दोलखाको उत्तरी भेग आलम्पुमा जन्मेका कमरेड टेकबहादुर थामी ‘वासु’ पनि एक जोदाहा योद्धा हुन् । सानैदेखि विद्रोही स्वभावका वासु थामी समुदायमाथि भएको अन्याय अत्याचार खप्न नसकी क्रान्तिमा लामबद्ध भए । मार्सल आर्टमा कुशल उनको घरमा बुवा, आमा, एक भाइ र एक बहिनी छन् । घरको जेठो छोरो उनी अत्यन्तै मिलनसार थिए । एसएलसीसम्मको अध्ययन पूरा गरेका उनी बुद्धिमान र विवेकशील थिए । काजी खड्काहरूले थामी समुदायमाथि गरेको शोषण, दमन, अन्याय, अत्याचार खप्न नसकेर ०५८ वैशाखदेखि जनयुद्धमा होमिए । सोलुखुम्बु सदरमुकाम सल्लेरी कब्जा गर्नेक्रममा एसल्टको भूमिका निर्वाह गर्दागर्दै उनले शहादत पाए । लेखक र गायकसमेत रहेका उनले जनयुद्धमै रहँदा थुप्रै साहित्य सिर्जना गरे । ‘आमा क्षितिजपारिबाट युद्धको सन्देश’ शीर्षाकृत कविता सल्लेरी मोर्चामा जाँदाजाँदै लेखेका थिए । जनताका आँखाको नानी बनेका उनको मुक्तकण्ठले जति नै प्रशंसा गरे पनि कमै हुन्छ ।

मानबहादुर थामी ‘गम्भीर’

सिंगो थामी समुदायको मुक्तिनिम्ति ०५७ देखि जनयुद्धमा लामबद्ध मानबहादुर थामी ‘गम्भीर’ आमशोषित, पीडितमाझ कुशल योद्धाका रूपमा परिचित थिए । विद्रोही स्वभावका ‘गम्भीर’ आफ्नो समुदायमाथि शोषक, सामन्तले गरेका अत्याचार खप्न नसकी जनयुद्धमा सामेल भए । परिवारको जेठो छोरा उनका बुवाआमा, भाइ र बहिनी छन् । विद्यार्थी संगठनबाट राजनीति थालेका उनी अखिल (क्रान्तिकारी) को जिल्ला सदस्य हुँदै स्क्वायड कमान्डर भएर थुप्रै भिडन्त, रेड र एम्बुसमा भाग लिए । ०५७ को मैनापोखरी मोर्चामा ‘स्टप ग्रुप’ को भूमिका निर्वाह गरे । फौजी मोर्चामा भाग लिँदै जानेक्रममा ०५८ मंसिर १२ गते भएको सल्लेरी आक्रमणमा ‘एसल्ट ग्रुप’ को भूमिका निर्वाह गर्दागर्दै अमूल्य जिन्दगी क्रान्तिको बलिवेदीमा चढाए ।

वर्गीय मुक्ति नभईकन जातीय मुक्ति सम्भव छैन । सिंगो वर्ग र समुदायको मुक्तिका लागि क्रान्तिमा समर्पित महान् योद्धाहरूलाई पंक्तिकारले कहिल्यै बिर्सन सक्दैनन् । तीन महान् सहिदसँग पंक्तिकारको रगत, भावना र वर्गीय नाता गाँसिएको थियो । हामीले केही समय एउटै कार्यक्षेत्रमा बितायौं । सँगै काम गर्दा जनसंगठन र फौजी काममा लगाव देखिएका तीन योद्धासँग जस्तोसुकै कठिन परिस्थितिमा पनि छिटो निर्णय लिन सक्ने क्षमता अद्भुत थियो । सदीयौंदेखि पिछडिएका थामी समुदायलाई मुक्ति दिन अर्थपूर्ण छलफल र बहस चलिरहन्थ्यो । उनीहरूको भनाइ हुन्थ्यो, ‘थामी समुदायलाई संसारभरि चिनाउनुपर्छ ।’ ती उदात्त भावना बोकेका जोदाहाहरूलाई सम्झँदा हिजोआज पनि कताकता मन कुँडिन्छ । हामी बाँचेका योद्धाले शहादत पाएकाको सपना साकार पार्नैपर्छ । रातो–रातो समाधिस्थलबाट अवश्य रातो–रातो बिहान उदाउनेछ ।

(लेखक जनमुक्ति सेनाका ब्रिगेड सहकमान्डर हुन् ।)

प्रतिक्रिया दिनुहोस्