थारू जाति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई र भित्री मधेस गरी २२ जिल्लामा बसोवास रहेको नेपालका ५९ आदिवासीमध्येको ठूलो जनसंख्या भएको समुदाय हो । सन् २००१ को जनगणनाअनुसार थारूको कुल जनसंख्याको ६ दशमलव ५ प्रतिशत अर्थात् १५ लाख ३३ हजार ८ सय ७९ छ । थारू नेपालका आदिम जाति तथा भूमिपुत्र हो । उनीहरूको आफ्नै भाषा, शैली, संस्कृति, प्रथाजनित कानुन र रहन–सहन छ ।
बडघर थारू आदिवासीको परम्परागत वा प्रथाजनित प्रणाली हो । बडघरलाई ठाउँअनुसार कहीं भलमन्सा त कहीं महताँवासमेत भनिन्छ । पश्चिम नेपालका दाङ (देउखुरी), सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका थारू समुदायमा यो प्रणाली यथावत् छ । गाउँघरको झैझगडाको छिनोफानो, विकास निर्माणका काम गर्ने देखिलिएर, पूजापाठ, बिहेवारीजस्ता सम्पूर्ण कार्य यही प्रणालीअन्तर्गत हुने गर्छ । गाउँको सामाजिक, धार्मिक, सांस्कृतिक, न्यायिक काममा नेतृत्व दिने काम बडघरले गर्छ । प्रत्येक वर्ष माघीमा बडघरको प्रमुख छनोट गरिन्छ । उसको अवधि एक वर्षको हुन्छ । प्रत्येक घरका एक–एक सदस्य गाउँमा आयोजना गरिने ख्याल अर्थात् वृहत् बैठकमा उपस्थित भई सर्वसम्मत ढंगले बडघर अर्थात् प्रमुख व्यक्ति चयन गर्ने गरिन्छ । बडघरको माध्यमबाट थारूहरूको प्रथा वा परम्पराका काम गर्ने प्रणाली नै बडघर प्रणाली हो ।
बडघरमातहतमा अन्य चौकीदार (अगुवा), चिराकी (हुलाकी), देशबन्ध्या गुरुवा (मुख्य तन्त्रमन्त्र गर्ने मान्छे), भलमन्सा, केसौका (सहायक गुरुवा) व्यवस्था हुन्छ । बडघर, चौकीदार, चिराकी, गुरुवा, केसौका, कुचीकार, सुचीकार, घरगुरुवा सबैको आ–आफ्नै जिम्मेवारी र कर्तव्य हुन्छ । यिनै निकाय र संयन्त्रले गाउँलेको आपसी सहयोगमा गाउँ सञ्चालन गरिन्छ । यही परम्परागत रूपमा थारू गाउँहरू चल्दै आएका छन् । सानातिना घटना, समस्या समाधान बडघरकै पहलमा गर्ने गरिन्छ । गाउँको हरेक गतिविधि सञ्चालन गर्ने पनि आफ्नैखाले प्रथाजनित सञ्चार प्रणाली कायम छ । आफ्नै स्रोत–साधन र सूचना प्रणाली प्रयोग गरी गाउँलेलाई सुसूचित गर्ने व्यवस्था गरिएको हुन्छ ।
सञ्चार प्रणाली
थारू समुदायमा चौकीदार तथा चिराकीले गाउँको अग्लो ठाउँबाट जोरले कराएर सुसूचित गर्थे । गाउँको मूल गल्लीमा एकाबिहानै हिँडेर जोरले कराई दिनभरिको कार्यक्रम जानकारी गराउँथे । एकाबिहानै गाउँभरिका मानिसले सुन्नेगरी अग्लो रूख तथा टौवा (पराल राख्ने घर) या घरको छानामा गई जोडले कराई सूचना प्रवाह गर्थे ।
गाउँलाई सुसूचित गर्ने अर्को उपाय घर–घरमा गई जानकारी गराउनु हो । गाउँमा प्रायः बढीमा एक डेढ सय घरधुरी र कम्तीमा २० देखि ५०/१०० घरधुरी रहनेगरी सुसूचित गर्ने जिम्मेवारी बाँडफाँड गरिन्छ । गल्लीको किनारैकिनार पर्नेगरी लहरै घर बनाउने प्रचलन थारू समुदायमा छ । चौकीदार र चिराकीले सबैको घर–घरमा गएर पनि दिनभरिको कार्यक्रमबारे जानकारी गराउँछन् ।
त्यसैगरी, थारू समुदायमा सूचना माध्यम भनेको गाउँभरिका घरमुलीलाई बडघरको घरमा या अन्य एक ठाउँमा जम्मा पारेर कार्यक्रमबारे जानकारी गराउने गरिन्छ । कुलोपानी, बाटोघाटो निर्माण गर्न जाने, काठ–दाउरा गर्न जाने, वनकस, कुसखर काट्न जाने, माछा मार्न जाने, चाडबाडमा मासु व्यवस्था गर्न जाँदा या गाउँको धान, गहुँ या अन्य बाली सामूहिक काट्नुपर्दा यस्तो गर्ने गरिन्छ । गाउँका सबै एकैठाउँमा भेला भएका बेला सबै कार्यक्रमबारे जानकारी गराउने र सोहीअनुसार कोही काममा असहभागी भए दण्ड–जरिवाना गर्ने व्यवस्था गरिन्छ । घरको कामविशेषले आउन नसक्ने भए दण्ड (खारा) दिन तयार हुने वा साह्रै अप्ठेरो परेका बेला भने पूर्वसूचना दिएर अनुपस्थित हुन पाउने व्यवस्था गरिन्छ । यद्यपि, थारू घरमा प्रायः धेरै सदस्य रहने हुँदा एउटाको फुर्सद नभए सट्टामा अर्को कुनै सदस्य सहभागी गराइन्छ । बडघरको निर्णय बाध्यात्मक हुन्छ । सामूहिक रूपमा छलफल गरी बनाइएको कार्यक्रममा भाग लिन नआउनेले सजायको भागीदार हुनुपर्छ ।
एकाबिहानै चौकीदारले जोडले ठूलो आवाज निकाली कराउनु, गल्ली–गल्लीमा घुमी सूचना प्रवाह गर्नु, सामूहिक छलफल गरी कार्यक्रमबारे जानकारी गराउनुको अलावा गाउँको मुख्य चोकमा सूचना टाँस्ने, चिट्ठी पत्र लेखेर घर–घरमा पठाएर सूचनाका दिने काम पनि गरिन्छ । उहिले घरको एकजना घरमुलीले जानकारी पाए, आफ्नो घरको सबै सदस्यलाई जानकारी गराउनुपथ्र्यो । अहिले घरका सबै सदस्यले घरमुलीसँगै सामूहिक रूपमा सूचना जानकारी पाउने व्यवस्था रहिआएको छ ।
कतिपय गोप्य कुरा गाउँभित्रै सीमित गर्नुपर्ने बाध्यताले परम्परागत सूचना प्रणाली नै बढी उत्तम मानिएको छ । गाउँभित्रै सीमित गर्नुपर्ने सूचना सार्वजजिक सञ्चारमाध्यमबाट प्रसारण तथा प्रकाशन गर्दा गाउँवासीभन्दा अन्यलाई फाइदा पुर्याउन भएकाले त्यस्ता संवेदनशील विषयमा उनीहरू सचेत हुनैपर्छ ।
सबैले बडघरको अगुवाइमा सामूहिक रूपमा बनाइएका नीति, नियम तथा मान्यता पालना गर्नुपर्छ । त्यसैले गाउँमा अनुशासन र एकता कायम रहन्छ । बडघरको आदेश र निर्देशन नमान्दा अराजक स्थिति सिर्जना हुनेहुँदा सबैको सामूहिक प्रतिबद्धताको खाँचो पर्छ । गाउँको परम्परागत सीप, ज्ञान र सूचना प्रणाली संरक्षणमा सबै गाउँवासी एकताबद्ध भई लाग्न र अनुशासन कायम गर्न बडघर प्रणाली र प्रथाजनित सञ्चार प्रणालीले महत्वपूर्ण भूमिका रहिआएको छ ।
आधुनिक सूचना प्रणालीले परम्परागत सूचना प्रविधि विस्थापन गरेको छ । थारू गाउँमा आफ्नै शैली, रहनसहन र परम्परा छ । त्यसको संरक्षण र सम्बद्र्धन गर्न प्रथाजनित सञ्चार प्रणालीले अग्रणी भूमिका खेलेको छ । साथै आत्मीयता, आफ्नोपन र पहिचान संरक्षण गरिआएको छ । त्यसैले सञ्चार प्रणाली थारूको मौलिकता झल्काउने गर्छ । त्यसैले आधुनिक सूचना प्रणाली अनुशरण सँगसँगै परम्परागत सूचना प्रणालीलाई समेत संरक्षण गर्न सके सूचना प्रविधिमा थप टेवा पुग्ने देखिन्छ । पुराना शैली र परम्पराले थारू गाउँबस्तीमा अनुशासन कायम गरेको छ । त्यसलाई तोडेर जाने हो भने गाउँमा अराजकता बढ्नुका साथै पहिचानसमेत खतरा पर्न सक्छ ।