मेरो चिनियाँ नाम सुथङ



‘पछि गरौंला नि समय छँदै छ’ भनेर काम साँच्ने बानीले गर्दा किन्नुपर्ने सामान किन्न बाँकी नै थिए । क्याम्पसमा हाजिरी पनि गर्नुपर्ने, सामान किन्नु, मिलाउनु, जोखजाख गरेर झोला मिलाउनुपर्ने अनेक काम एकैचोटि गर्नुपर्दा बितेका दिनमा काम नगरेकामा पछुतो भयो । तर, जसरी पनि काम फत्ते गर्नैपथ्र्यौ । बिहान ५ बजेदेखि अनवरत दौडधुप गरेर १२ बजे यात्राका लागि प्रस्थान गर्न तयार भइयो ।

चीनको युनान मिन्चु विश्वविद्यालयमा नेपाली भाषा पढाउनका लागि त्रिभुवन विश्वविद्यालयले सालिन्दा एकजना नेपाली विषयको प्राध्यापकलाई पठाउने गर्छ । यसपटक मलाई पठाउने भयो । त्यसैका लागि म चीनको यात्रामा तम्तयार भएको थिएँ । २०७६ भदौ १३ अर्थात् २०१९ अगस्ट ३०, अपराह्न ४ः१५ बजे काठमाडौंबाट कुन्मिङ (चीन) को उडानका लागि टिकट थियो । तीन घन्टाअघि नै एअरपोर्ट पुग्नु राम्रो भन्ने सुनेकाले सवा एक बजे एअरपोर्ट पुगियो । नाप, जाँचका झन्झट पार गरेपछि भने पट्यारलाग्दो गरी जहाजको पर्खाइ गर्नुपर्यो ।

भारतबाहेक अर्को विदेश गइएको थिएन । विदेश जाने ठूलोखाले हवाईजहाज पनि चढिएकै थिएन । त्यसैले विदेश यात्रामा धेर–थोर जिज्ञासा ‘के होला, कसो होला ?’ खुल्दुली छँदै थियो । मुख्य कुरा चिनियाँ भाषा नबुझ्ने हुँदा कतै झन्झट आइपर्छ कि भन्ने पनि थियो । जहाज चढ्ने बेला डडेलधुराका एकजना भाइसँग चिनजान भयो । उनी कुन्मिङमै होटलमा काम गर्दारहेछन् । अरू केही नेपाली पनि भेटिए, उनीहरू कोही जापान र कोहीचाहिँ चीनकै विभिन्न प्रान्तमा जाँदै रहेछन् । कुन्मिङ ट्रान्जिट भएर उनीहरू जाने रहेछन् । मेरो भने गन्तव्य नै कुन्मिङ भएकाले सजिलो थियो । तैपनि सचेत त हुनैपथ्र्यो ।

सँगैका सिटमा बस्ने दुई चिनियाँ युवती आफ्नै संसारको कुराकानीमा थिए । अघिल्लो सिटमा बस्ने युवतीहरूलाई भने चर्को स्वरमा कुराकानी गर्नुपर्ने । सामुन्नेमा बस्ने किशोरीलाई तिनका कुराकानीले साह्रै रिस उठाएको थियो । एक÷दुईपटक त उनले त्यसको प्रतिक्रिया पनि दिइन् । तर, अहँ उनीहरू एकोहोरो कुराकानीमा लागे ।

मभन्दा पछिको सिटमा जापान जान लागेको एउटा नेपाली परिवार थियो । हाम्रो कुराकानी भयो । यसअघि पनि कुन्मिङको ट्रान्जिटबाट यात्रा गरिसकेका उनीहरूसँगको चिनजानले गर्दा मलाई यात्राका अप्ठ्याराहरूमा सजिलो होला भन्ने लाग्यो । चाइना स्ट्रन एअरलाइन्स, एमयु २५९४ को उडान । बेलुका ४ बजे काठमाडौंबाट आकाशतिर लाग्यो । चिनियाँ समयअनुसार बेलुका ९ बजे हामी कुन्मिङ विमानस्थलमा औल्र्यौं ।

डा. धनप्रसाद सुवेदी

पासपोर्ट जाँचको औपचारिकतापछि सामानको प्रतीक्षामा बसियो । झोलामा कुनै खास संकेत नराखेकाहरूलाई आफ्नो झोला चिन्न निकै गाह्रो भएको देखिन्थ्यो । म पनि एकपटक त झुक्किएँ, उस्तै देखेर तानेको, अर्कैको परेछ । ‘अबदेखि चाहिँ झोला चिन्ने राम्रो संकेत नराखी छाड्दिनँ’ मनमनै अठोट गर्दै आफ्ना कुम्लाकुटुरा घिसार्दै बाहिर निस्कें ।

बाहिर हरिताजी प्रतीक्षारत थिइन् । तीनवटा बिजुली भर्याङ चढेर हामी जमिन तलामा आयौं । त्यहाँबाट ट्याक्सी चढेर रातिको ११ बजे हामी युनान मिन्चु विश्वविद्यालयपरिसरको शिक्षक आवास गृहमा आइपुग्यौं ।

हरिताजीले मलाई आवास कोठाको चाबी दिइन् र वाइफाइ जोडिदिइन् । वाइफाइ भएपछि घरतिर वी च्याटमा कुराकानी भयो ।
नेपालमा बेलुकाको १० बज्दा यता १२ बजिसकेको हुनेरहेछ । यता र उताको समय मिलाउन नजान्दा रात गएको पत्तै नहुने रहेछ । त्यसैले राति १ बजेमात्रै सुतियो । अनि भोलिपल्ट बिहान ७ः३० बजेमात्रै निद्राले छाड्यो । उठेर नुहाइधुवाइ गर्दा आठ बज्यो । बिहान १० बजे दुईजना विद्यार्थी मेरो कोठामा आउँछन् र उनीहरूसँग मिलेर मैले कोठा सफा गर्नुपर्छ भन्ने कुरा हिजै हरिताजीले बताएकी हुँदा म त्यसको तयारीमा लागें । नभन्दै १० बजे प्रभा र अप्सरा मेरा कोठामा आए । परिचयपछि हामी कोठा सफाइमा लाग्यौं । विद्यार्थी आएपछि मसँग कुरा गर्न दिनुहोस् है भनेर नेत्रजी (नेत्र एटम, अघिल्लो वर्षका नेपाली शिक्षक) ले भन्नुभएको थियो । मैले उनीहरूका बीचमा वी च्याटमा कुराकानी गराएँ ।

१२ बजे सफाइको काम सकियो । अप्सरा र प्रभाले मलाई युनान मिन्चु विश्वविद्यालयको नेपाली भाषा पढाइ हुने भवन र कक्षाकोठा देखाउन लगे । नेपाली भाषाकी चिनियाँ शिक्षिका हरिताजी हाम्रो प्रतीक्षामा थिइन् । मेरो आग्रहमा हरिताजीले मेरो नाम सुथङ राखिदिइन् । हामी खानाका लागि विद्यार्थीको क्यान्टिनमा गयौं । क्यान्टिनमा विद्यार्थीको भीड रहेछ । म गाईगोरुको मासु खान्न भन्ने कुरा हरिताजीलाई थाहा रहेछ । अप्सरा, प्रभा र मैले खाना खायौं ।

जीवनमा पहिलोपटक चपस्टिकले खाना खाएको सुरुमा समाउनै जानिनँ । प्रभा र अप्सराले सिकाए । मैले जसोतसो चलाउन थालें । हरिताजी, अप्सरा र प्रभाले ताली बजाएर खुसी व्यक्त गरे । नेपालमा हामीहरू भोजनालयलाई ‘क्यान्टिन’, ‘होटल’ जस्ता शब्द प्रयोग गर्छौं । चिनियाँ विद्यार्थीले ‘भोजनालय’ भनेको सुन्दा आनन्द लाग्यो । ‘गुरुजी, चपस्टिकलाई नेपालीमा के भन्छ ?’ प्रभाले सोधिन् । ‘नेपालीहरू चपस्टिकको प्रयोग गर्दैनन् र नेपाली भाषामा यसको छुट्टै नाम पनि छैन । जसले जन्मायो, उसले नाम राख्ने हो । चिनियाँमा यसलाई के भन्छ ?’ मैले उल्टै सोधें । ‘ख्वाइच्च्,’ उनले भनिन् । उनको अनुकरण गर्दै मैले पनि तानसुर नमिलाई भनें, ‘ख्वाइच्च् ।’

चीनमा पैसाका सट्टा कार्ड प्रयोग हुने रहेछ । वी च्याटबाट पनि भुक्तानी गर्न मिल्नेरहेछ । विश्वविद्यालय शिक्षकको भोजन कार्ड मैले नेत्रजीबाटै लिएको थिएँ । भोजनालयबाहिर कार्डमा पैसा लगाउने ठाउँ रहेछ । अप्सराले त्यसमा पैसा लगाइदिइन् । भोजनपछि म आवास गृहमा आएँ र आराम गरें । बेलुका ५ बजे फेरि अप्सरा र प्रभा मलाई लिन आए । बेलुका हामी अर्कै भोजनालयमा खान गयौं । चिनियाँ खानाका अनेकप्रकार रहेछन् । मैले कुखुराको मासु, भात र सागसब्जी खाएँ । खानापछि अप्सरा र प्रभाले मलाई सुन्तलाको जुस किनेर खुवाए । उनीहरूले मलाई फलफूल पसलमा पनि पुर्याए । उनीहरूले किन्ने तरिका पनि बताए । मैले फलफूल र छाता किनें । त्यसपछि प्रभा र अप्सरा छात्रावासतिर लागे । म पनि आफ्नो आवासमा आएँ ।

बेलुका १० बजे यही विश्वविद्यालयमा चिनियाँ भाषा पढ्दै गरेका बाग्लुङका अर्जुन कुँवर भाइ मलाई भेट्न आए । नेपालमा हुँदै नेत्रजीमार्फत हामी वी च्याटमा जोडिएका थियौं । मैले उनका लागि केही सामान ल्याइदिएको थिएँ । मैले उनलाई ती सामान दिएँ । उनी कम्प्युटरमा स्नातक रहेछन् । उनले मेरो मोबाइलमा फेसबुक चल्ने बनाइदिए ।

चीन सरकारले प्रविधिलाई आफ्नो अनुकूलतामा सदुपयोग गरेको रहेछ । हाम्रो मेसेन्जरका सट्टा यहाँ वी च्याट प्रविधि रहेछ, धेरै उपयोगी । वी च्याटमा नेपाली पढ्ने विद्यार्थी र शिक्षकको एउटा कुराकानी गर्ने समूह बनाइएको रहेछ । नेपाली भाषा पढ्ने १० जना विद्यार्थी (जसले नेपाली नाम पनि राखेका छन्) : अप्सरा, प्रभा, दीपा, मुना, तारा, सुजिता, बिन्दु, इन्दु, अस्मिता र आभा अनि शिक्षिका हरिता र मसहित १२ जनाको समूह । त्यस समूहमा मैले ‘मेरो चिनियाँ नाम सुथङ हो’ लेखेर आफ्नो परिचय दिएँ । विद्यार्थीले खुसी व्यक्त गरे ।

वी च्याटबाट घरमा कुराकानी गर्दागर्दै रातको १२ बज्यो । तर, नेपालमा त भर्खरै १० बजेको थियो । फेसबुक खोलेको सयौं साथी अनलाइनमा थिए । अनि मैले पनि फेसबुको भित्तामा ठूला अक्षरमा लेखें र पोस्ट गरें : मेरो चिनियाँ नाम सुथङ हो ।

चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा रहेको युनान मिन्चु (जातीय) विश्वविद्यालयमा स्नातक तहमा ऐच्छिक विषयका रूपमा दक्षिण–पूर्वी एसियाली भाषाको पढाइ हुन्छ । विगत तीन वर्षदेखि नेपाली भाषाको पनि पढाइ सुरु भएको छ । नेपाली भाषा पढाउने दुईजना चिनियाँ प्राध्यापक र एकजना नेपाली प्राध्यापक रहने व्यवस्था छ । नेपाली प्राध्यापक सालिन्दा त्रिभुवन विश्वविद्यालयले आफ्ना प्राध्यापकहरूबाट एकजनालाई पठाउने गर्छ । यस वर्ष (सन् २०१९ सेप्टेम्बरदेखि २०२० जुलाई, चिनियाँ शैक्षिक सत्र) त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका सहप्राध्यापक डा. धनप्रसाद सुवेदी नेपाली विषयको प्राध्यापनका लागि त्यहाँ गएका छन् । त्यहाँ पुगेका सहप्राध्यापक सुवेदीले तुवाचुङ साप्ताहिकका लागि साप्ताहिक रूपमा चीन डायरी लेख्नेछन् । सम्पादक

प्रतिक्रिया दिनुहोस्