पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको साबिक पाँ गाउँ विकास समितिमा आदिमकालदेखि बसोवास गर्दै आएको समुदाय कुलुङ हो । कुलुङ विशेषतः बुङ, छेस्काम, गुदेल, पावै र सोताङ गरी पाँच गाविसमा बसोवास गर्ने समुदाय हुन् ।
यो पाँच गाविसको क्षेत्र महाकुलुङ नामले प्रख्यात छ । यो कुलुङहरूको उद्गम थलो हो । महाकुलुङ क्षेत्र कुलुङ समुदाय दुवारे प्रणालीबाट सञ्चालित छ । यो प्रणालीअन्तर्गत दुवारे, माथा, तालुकदार, कारबारी र तहले गरी पाँच सदस्यमार्फत सम्पूर्ण प्रथा–परम्परा सञ्चालन गर्ने गरिन्छ । यो प्रणालीलाई नै समष्टिगत रूपमा दुवारे प्रणाली भनिन्छ ।
सोही प्रणालीअनुसार सम्पूर्ण कुलुङ समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक र न्यायपरम्परा सञ्चालन गरिन्छ । जिमधारनिकोसभा (गाउँसभा) मार्फत दुवारे, माथा, तालुकदार, कारबारी र तहले पद्वी ग्रहणकर्ता सर्वसम्मतिले छानिन्छ । यी पद्वी वहनकर्ताको मृत्युपछि जिम्मेवारी जेठो छोरोमा सर्ने र पुस्तौंपुस्तासम्म सर्दै जाने गर्छ । कथंकदाचित पद्वीवालाको छोरा छैन, छोरीमात्र छ भने नजिकको नातेदारको छोरालाई पद्वी सार्ने काम जिमधारनिकोसभाले सर्वसम्मतिमा दिने गर्छ ।
यो प्रणालीमा मुख्य व्यक्ति दुवारे हुन्छ । र, उसैको मातहतमा माथा (दुवारेको पीए), जसले जनताको कुनै गुनासा भए दुवारेसम्म र दुवारेको केही निर्णय भए बारबारी र तहलेमार्फत सम्बन्धित ठाउँसम्म पुर्याउने काम गर्छ । तालुकदारले समुदायमा झैझगडा भएमा मिलाउने, खेतबारीको तिरो उठाउने र निर्णय दिन नसके दुवारेसम्म पुर्याएर निर्णय दिने गर्छ भने कारबारीले सम्पूर्ण सञ्चारको काम गर्छ । सञ्चारको काममा तहलेले सहयोग गर्ने गर्छ । दुवारे प्रणालीबाट मुद्दा–मामिलामा छिनोफानो गर्नेदेखि लिएर विकास निर्माणका कामहरू, विवाह, पूजाआजा आदि सम्पन्न गरिन्छ ।
कारबारीले जनसम्पर्कका साथै कुनै सभा–सम्मेलन हुने भएमा खानपानको व्यवस्था मिलाउने र घर–घरमा गई खानपानका लागि आवश्यक पर्ने नुन, खुर्सानी, घ्यु उठाएर जम्मा गरी तहलेको सहयोगमा फत्ते गर्ने गरिन्छ । यदि गाउँमा कुनै पनि गतिविधि, विकास निर्माणका काम गरिने भए अग्लो ठाउँमा गएर सुसेला पार्दै, कराउँदै र शंख फुकी सूचना अर्थात् रिदाम दिने गरिन्छ । यो दिन, यो समय र यो ठाउँमा सम्पूर्णलाई दुवारे मितिङमा (चाइखम) डाकेको छ है भनेर कराएर र सम्भव नहुने भए घर–घरमा गएर जनसम्र्पक गर्ने गर्छ । यो प्रचलन अझै पनि महाकुलुङ क्षेत्रमा प्रचलनमा छ ।