कुलुङ त शेर्पाको थर पो !


कुलुङ गाउँ ।

नेपालका अनेक जातजातिमध्ये एक हो राई । आफैंमा बहुभाषिक र बहुसांस्कृतिक मानिन्छ किरात राईहरूलाई । राई जातिको विविध हाँगोमध्ये एक हो कुलुङ ।

कुलुङ भनेको के हो ? यो पेसाको नाम हो कि, कसैले पाएको पदवी ? पुर्खाको नाम हो कि, कुनै घटनाको नाम ? कुलुङको यथार्थ धरातल के हो ? यस विषयका ऐतिहासिक दस्तावेज केही फेला पार्न सकिएको छैन ।

कुलुङसम्बन्धी केही पुस्तक बजारमा उपलब्ध छ । कुलुङको विषयमा अन्योल हटाउने पुस्तकको भने अभाव छ ।

कसको सन्तान कुलुङ भयो ? कुलुङको उत्पत्ति कहाँ भयो ? कुलुङ कुन पुर्खाबाट विकास भएको आनुवंशिक जाति हो ? कुलुङको नामकरण कसरी भयो ? कुनै पुस्तकमा वर्णन गरिएको पाइँदैन ।

शेर्पा र कुलुङहरूको संस्कृतिमा समानता !

कुलुङको बसोबास शेर्पा समाजसँग जोडिएको छ । कुलुङ समुदायको संस्कृति शेर्पासँग कुनै न कुनै रूपमा मिल्दोजुल्दो छ । कुलुङले कहिलेकाहीं ढुङ्गामा सम्बोटा लिपि कुँदेर चैत्या अर्थात् बौद्ध बनाउने, कतै माने बनाउने, मरौमा गुम्बामा बत्ती बाल्न जाने, स्वागत–सम्मानमा खादा प्रयोग गर्ने, शेर्पा जातिमा प्रचलित रहेको खाना खाने गरेको देखिन्छ ।

कुलुङ समुदायमा मृतकको घुँडा खुम्चाएर गाड्ने चलन छ । शेर्पा समुदायले पनि मृतकको घुँडा खुम्चाउने गर्दछ । यसबाट शेर्पा जातिको एउटा हाँगा कुलुङ भएको हो कि भन्न सकिने अवस्था रहन्छ । यो थप अनुसन्धानको विषय बनेको छ ।

कुलुङहरू किन शेर्पा शैलीबाट प्रभावित भए ? शेर्पाहरू बसाइँ सरेर आएकोले प्रभावित भएको होइन होला ? मानसिक रूपले कुलुङहरू आफूलाई कुन मूलको ठान्छन् ?

यी थुप्रै प्रश्नहरूको जवाफ कुलुङसम्बन्धी प्रकाशित पुस्तकहरूमा कति पाइन्छ ? यसबारे केही छलफल गरिहेरौं ।

कुलुङको पुर्खा र उद्गमभूमि किन अस्पष्ट ?

तिलकशङ्खर कुलुङको ‘किराँत कुलुङ (राईको) वंशावली तथा संस्कार–संस्कृति’ (२०४९) पुस्तकमा कुलुङ कहाँ उत्पत्ति भयो, कुन वंशबाट विकास भयो भन्नेबारे केही लेखिएको छैन । कुलुङको पुर्खा को थियो अर्थात् कसको सन्तान कुलुङ भएर जन्मिएको थियो भनेर खोजी गर्नुपर्ने देखिन्छ ।

त्यसपछि डा. बी.बी. लोवात्ती राई पिल्मोले ‘पिल्मो, सोत्तो लो कुलुचीम् फप्री’ (२०२० फरवरी) नामक वंशवृक्ष प्रकाशन गरेका छन् । सो फप्रीमा पनि कुलुङको पुर्खाको नाम उल्लेख छैन ।

कुलुङ संघले प्रकाशन गरेको ‘कुलुङ वंशावली’ (सोत्तो पिल्मो कुलुचीम् सूक्तूम्, २०५४) पुस्तकमा कुलुङको पुर्खा को थिए भन्ने उल्लेख भएको देखिँदैन ।

इन्द्रबहादुर कुलुङको ‘किराती कुलुङ–२०७४’ पुस्तकमा पनि कुन पुर्खाको सन्तान कुलुङ भएको थियो अर्थात् कुलुङहरूको बाबु को थियो भन्ने विवरण उल्लेख छैन ।

रत्नबहादुर कुलुङ राईले २०५६ सालमा ‘कुलुङ वंशावली कथा’ प्रकाशन गरेका छन् । त्यस पुस्तकमा कुलुङको उत्पत्तिसम्बन्धी केही उल्लेख गरिएको छैन । कुलुङ कुन वंशबाट विकास भएको थियो र कुलुङ कसरी नामकरण भयो भन्ने उल्लेख गरिएको छैन ।

भूपध्वज थोमरोसको संकलन तथा सम्पादनमा प्रकाशित ‘सोताङ–कुलुङ वंशावली’ (२०६४ साल) मा कुलुङको मूल स्रोत कुन हो भन्ने उल्लेख भएको देखिँदैन ।

अमेरिकी नागरिक चाल्स माइकडुगालले ब्रिटिस आयोजनाअन्तर्गत लेखेको ‘द कुलुङ्गे राई’ (सन् १९७९) पुस्तकमा पनि कुलुङको पुर्खा को थियो भन्ने लेखिएको छैन ।

भूपध्वज थोमरोसद्वारा लिखित ‘कुलुङ सांस्कृतिक अध्ययन’ (२०५७) मा पनि कुलुङको बाबु अर्थात् पुर्खाको टुङ्गो लगाइएको छैन ।

उल्लेखित पुस्तक अध्ययन गर्दा कुलुङ जातिबोधक शब्द हो भनेर दाबी गर्ने आधार केही पनि देखिँदैन ।

कुलुङ त शेर्पाहरूको थर पो !

जाति वा थर पुष्टि गर्ने एउटा आधार सरकारले जारी गरेका कागजपत्र हुन् । केन्द्र सरकारबाट प्रदान गरिएकै लालमोहरमा कुलुङ लेखिएको भेटिँदैन । मालपोत कार्यालयमा रहेको जमीनको पुरानो मोठलागत र भूमिसुधार कार्यालयले नापी गरी जारी गरेको धनीपुर्जामा समेत कुलुङ लेखिएको छैन ।

बरु कुलुङ त शेर्पाहरूले पो लेख्ने गरेको पाइन्छ । शेर्पाहरूले ‘कुलुङ सेर्वी किदुक’ नामको सामाजिक संस्था सञ्चालन गरिरहेका छन् । संस्थाको नामबाट शेर्पा जातिको थर कुलुङ पनि रहेछ भन्ने छर्लङ्ग बुझिन्छ । कुलुङ थरका शेर्पाहरू भारत र नेपालका विभिन्न स्थानमा छरिएका छन् । यहाँ कुलुङ शेर्पाको थर हो ? भन्ने प्रश्न उठ्न सक्ने देखिएको छ ।

एकातिर वंशावलीमा कुलुङहरूको पुर्खा र वंश पुष्टि हुँदैन, अर्कोतिर शेर्पा संस्कारसँग उनीहरूको धेरै कुरा मिल्दोजुल्दो देखिन्छ । त्यस्तै शेर्पाहरूमा पनि थर कुलुङ हुनु, राईहरूमा पनि थर कुलुङ हुनुले यी दुई जातिबीच सम्बन्ध रहेछ भन्ने देखिन्छ ।

खोटाङको रावाखोला क्षेत्रमा बसोबास गर्ने नाछिरिङ राई समुदायले यदाकदा कुलुङ राईको पुर्खा नाछिरिङ हो भन्ने गरेको सुन्नमा आएको छ । तर, उल्लेखित पुस्तकहरूमा रहस्यमय रूपमा कुलुङहरूको उद्गमस्थल उल्लेख नहुनु र शेर्पा जातिको एउटा थर कुलुङ हुनुले धेरै कुरा बोलिरहेको भान हुन्छ ।

त्यस्तै नाइजेरियामा ४० हजारभन्दा बढी संख्यामा कुलुङ बसोबास रहेको बताइन्छ । नेपाल र नाइजेरियामा पाइने कुलुङमा के भिन्नता छ ? अध्ययन हुन बाँकी छ कि अध्ययन भएर पनि प्रतिवेदन प्राप्त गर्न नसकिएको हो कि ?

कुलुङ भनेको राईभित्रको थर हो भन्ने टुङ्गो लाग्न नसकिरहेको अवस्थामा कुलुङ संघले ‘विगत केही वर्षदेखि कुलुङहरू राई जातिको वंशमा पर्दैनन्, कुलुङले राईकरणबाट मुक्ति पाउनुपर्छ’ भनेर माग गर्दै आएको छ । यसलाई पुष्टि गर्न कुलुङ संघले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धिद्वारा पारित बडापत्रमा ‘साझा भाषा, साझा संस्कृति, साझा उद्गम इतिहास र साझा भूमि’ भएको समुदाय स्वतन्त्र जाति हो भनिएको शब्दलाई समात्न खोजेको छ । तर, कुलुङहरूले ‘साझा’को गुदी अर्थ नै खुट्याउन नसकेको देखिन्छ । कागले कान लग्यो भन्दा आफ्नो कान छाम्नुको सट्टा कुलुङहरूले कागलाई लेखेटिरहेझैं गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको परिभाषाले त राई चाहिँ ‘साझा भाषा, साझा संस्कृति, साझा उद्गम इतिहास र साझा भूमि’ भएको जाति हो भन्ने पुष्टि गर्दछ । कुलुङ चाहिँ यो साझापनको एउटा अंश हो । कुलुङ आफैंमा साझा भाषा, साझा संस्कृति, साझा भूगोल, साझा इतिहास भएको जाति हो भन्नु अन्तर्राष्ट्रिय श्रम संगठनको ‘साझा’ लाई अधकल्चो रूपमा बुझ्नु हो । श्रम संगठनले भन्न खोजेको ‘साझा’ त यस्तो पो हो त :

साझा भाषा

राई जातिको भाषा र संस्कृति पूर्ण रूपमा एकीकृत र पूर्ण रूपमा भिन्न पाइँदैन । राईभित्र प्रयोग हुने विभिन्न भाषाका शब्दहरूमा रूपावली मात्रै भिन्न हुन पुगेको भाषाशास्त्रीको अनुसन्धानबाट देखिएको छ ।

राईहरूका भाषाबीच आपसमा नमिल्ने शब्द अत्यन्त कम रहेको पाइन्छ । कतिपय शब्दहरू एउटै अर्थ र एउटै उच्चारणका छन् । राई जातिभित्र बोलिने भाषाको शब्द फरक भेटिन सक्छ, तर व्याकरणको संरचना भिन्न रहेको पाइँदैन । यस जातिभित्र प्रयोग गरिने शब्द फरक भए पनि एउटा राई भाषासँग नमिल्ने शब्द कुनै न कुनै अर्को राई भाषासँग मिल्न जान्छ ।

एउटै पुर्खाका सन्तानहरू छुट्टिएर बेग्लाबेग्लै ठाउँमा बसोबास गरेर लामो समयसम्म सम्पर्कविच्छेद हुँदा भौगोलिक रूपमा अलग तथा अन्य जातिसँग घुलमिलको प्रभावले भाषामा मात्रात्मक भिन्नता आएको मात्र हो । अन्यथा प्रारम्भमा राईहरूको भाषा एउटै थियो भन्ने कुरा बोलचालमा रहेको राई भाषाले देखाउँछ ।

साझा संस्कृति

राई जातिको भाषा मात्रै होइन, संस्कृति र इतिहास पनि मौलिक रूपमा एकै देखिन्छ । प्रत्येक राई जातिले दुईपटक विवाह गर्छ । ससुरालीमा ज्वाइँलाई शारीरिक काम गराएर तालिम दिइन्छ । विवाहमा बागदत्ता काटिन्छ । त्यस्तै पाछा र सामेत छुटाएर अन्तरवंशमा कुटुम्ब चलाउने प्रथा सबै राईमा रहिआएको छ ।

ढुकुरको गाँडमा अन्नको बीउ भेटिएको लोककथा सबैमा राईमा प्रचलित छ । माछा मार्ने बल्छीमा झुन्डिएर आएको ढुङ्गो खोक्चिलिपकी श्रीमती बनेको मिथक साझा छ ।

मृत्यु हुँदा कालगति मृत्यु, अकाल मृत्यु, सुत्केरी मृत्यु र बालमृत्यु गरेर ४ प्रकारको संस्कार सबै राईले अँगालेको छ ।

आदिम पुर्खाहरू पारुहाङ, तयामा–खियामा र खोक्चिलिपलाई सृष्टिपुर्खा मानिन्छ । भूमि पूजा गर्ने, तीनवटा ढुङ्गोको चुलो पुज्ने, विवाहमा कलिया राख्ने, मृत्यु संस्कारमा दफन गर्ने, मृतात्मालाई विदाइ गर्ने संस्कार साझा छ ।

साझा इतिहास, साझा उद्गमभूमि

ऐतिहासिक र सांस्कृतिक उद्गमभूमिको रूपमा बराहक्षेत्र, खुवालुङ, जायजुम इत्यादि स्थानसँग सबै राई जातिको ऐतिहासिक सम्बन्ध जोडिन्छ । यो साझा इतिहास पनि हो र साझा उद्गमभूमि पनि । इतिहासको कुरा मात्रै होइन, राई जातिको वर्तमान बसोबास साझा भूगोलका रूपमा रहेको छ ।

राई होइनौं भनेर प्रमाणित गर्ने आधारको अभाव छ ।

कुलुङको बसोबास भूमि पनि राई जातिको उद्गम भूमिभन्दा अलग रहेको छैन । राईको आनुवंशिक जाति होइन भने कसरी कुलुङले राई जातिको भूमिमाथि किपट जमाएर बस्न पायो ? कुलुङ छुट्टै पहिचान भएको जाति हुन् र राई होइन भनेर कुलुङले भन्छ भने माथि उल्लेखित ऐतिहासिक, सांस्कृतिक र भौगोलिक साझापनदेखि अलग रहन सक्छ ? स्वतन्त्र भाषा, संस्कृति र इतिहास पेश गर्न सक्छ भने ठीकै छ, कुलुङलाई राईबाट मुक्त गरौं न त भन्न सकिन्छ । तर, त्यस्तो स्वतन्त्र हुने आधार केही प्रस्तुत गरिएको देखिँदैन ।

भाषाको नाम फरक भए पनि साम्पाङ, नाछिरिङ, सोताङ, पिल्मोङ र कुलुङले बोल्ने भाषामा तात्विक भिन्नता छैन । राईबीच कसैसँग अलिअलि भाषा फरक र कसैसँग अलिअलि संस्कार फरक हुन्छ ।

कुलुङ र खालिङको़ संस्कृतिमा एकरूपता पाइन्छ । भाषा र संस्कृतिमा देखिएको सामान्य अन्तर भनेको भौगोलिक प्रभाव हो, त्यसलाई मौलिक भिन्नता मानिँदैन । आफूलाई राई होइन भनेर दाबी गर्छ भने राई जातिले पुज्ने चुलोढुङ्गो प्रत्येक कुलुङको घरबाट उखेलेर फाल्न सक्छ ?

कुलुङ शब्द जातिबोधक हो भन्ने के के प्रमाण प्रस्तुत गरिएको छ ? ऐतिहासिक प्रमाणको अभावमा काल्पनिक कुरा सिर्जना गर्नु गलत हो ।

राजा यलम्बरका सन्तानमध्ये एक हो राई । कुलुङले पनि आफूलाई यलम्बरसँग जोड्ने गर्दछन् । राईबाट अलग हुन कुलुङले आफूलाई यलम्बरको अनुवंशदेखि अलग रहेको इतिहास पेश गर्नुपर्छ । राईबाट अलग हुन कुलुङले आफ्नो उद्गमभूमि खम्बुवानभन्दा अलग देखाउन सक्नुपर्दछ ।

राई भनेको त राजा/शासकबोधक, इतिहासमा सत्ताको नेतृत्वकर्ता भन्ने अर्थ दिने शब्द हो । राई शब्द राज्य निर्माणकर्ताबोधक हो । त्यसैले राई  लेख्नु त गर्वको विषय हो ।

(आलेखमा व्यक्त विचार लेखकका निजी हुन् ।)

प्रतिक्रिया दिनुहोस्