चिट्ठीपत्रविहीन हुलाकघर


झन्डै दुई दशकअघिसम्म पाल्पाका गाउँगाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिट्ठी आयो भन्ने खुल्दुलीले मानिस झुम्मन्थे । पछिल्ला पुस्ताका लागि यो भने एकादेशको कथाजस्तै बनेको छ ।

टाढाको नयाँ खबर, सन्देश लिएर आउने हुलाकी तत्कालीन समयको आशाको केन्द्र थिए । समुद्रपारि पुगेका छोरो होस् या घरदेखि टाढा गएका आफन्त, सबैको खबर उनै हुलाकी दाइले झोलामा बोकेर ल्याउँथे । कहिले हुलाकी आउलान् र समुद्रपारि रहेका छोराको खबर पाइएला भन्ने बाटो हेर्दै बसेको क्षण अहिले ताजै रहेको रामपुरकी लक्ष्मी तिवारी बताउँछिन् । तिवारी भन्छिन्, “गाउँमा हुलाकी दाइ टाढैबाट आएको देख्दा पनि मन फुरुङ्ग हुन्थ्यो । पक्कै पनि मेरै छोराको खबर बोकेर आए भनेर खुसीले मन गद्गद् हुन्थ्यो । चिट्ठी हात परेपछि हतार–हतार खोलेर गाउँमा पढेलेखेका छिमेकीलाई पढ्न पठाइन्थ्यो । छोराको सन्चो–बिसन्चो खबर पाउँदा मन आनन्द हुन्थ्यो । काम गर्न जाँगर आउँथ्यो ।”

हिजोआज जमाना फेरिँदै जाँदा देश–परदेशमा रहेका छोराछोरी, आफन्त, मावली, साथीभाइको खबर सुन्न हुलाकी दाइ आउने बाटो पर्खेर बस्नुपर्ने परिस्थिति फेरिएको छ । मोबाइलमा आफूलाई मन लागेको समय ‘भर्चुअल’ माध्यमबाट आमनेसामने कुरा गर्न पाउँदा आश्चर्य लाग्ने गरेको उनी बताउँछिन् । “कति छिटो समय परिवर्तन भयो, घर–घरमा इन्टरनेट, मोबाइल, कम्प्युटर, ल्यापटप प्रयोगकर्ता बढ्दै गए,” उनी थप्छिन् “हामीजस्ता निरक्षर, उमेर ढल्केका पनि आधुनिक प्रविधितिर आकर्षित हुन थाल्यौं । धेरै सुख–सुविधाका दिन आएछन् ।”

मोबाइलमा फेसबुक खोलेर घरदेखि टाढा रहेकासँग भिडियो कल गरेर कुराकानी गर्दा उनीहरूसँगै बसेर गफ गरेजस्तो अनुभूति हुने गरेको शान्तिदेवी रेग्मी बताउँछिन् । “आफन्तसंँग गफ गर्न मन लागेपछि नातिनातिनाले फेसबुक खोलेर कुराकानी गर्ने वातावरण मिलाइदिन्छन् । घरमै बसीबसी फोटो हेर्दै कुराकानी गर्न पाउँदा जमानाले छिट्टै फड्को मारेछ भन्ने लाग्छ,” रेग्मी सुनाउँछिन्, “फेसबुक म्यासेन्जरमा घन्टौंसम्म कुरा गरे पनि पैसा सकिने रहेनछ । पहिलाको हाम्रा दुःखका कहानी सुनाउँदा अबका सन्तति दंग पर्छन् ।”

क्षणभरमै खबर आदान–प्रदान गर्न मिल्ने इमेल, इन्टरनेट प्रयोग र विस्तारसँगै अब चिट्ठी लेख्न कापी र कलम खोजिराख्नुपर्दैन । नयाँ प्रविधिले भौगोलिक दूरी मेटिदिएको छ । स्काइप, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जाल र मोबाइलबाट छिनछिनमा ‘भर्चुअल’ भेटघाट, कुराकानी भइरहेको हुन्छ । यिनै प्रविधिले हुलाकको महत्त्व विस्थापन गर्दै छ र हुलाक सेवा प्रयोग कम हुँदै गएको छ । हुलाकलाई समयानुकूल बनाउन सरोकार निकाय उदासीन बन्दा अहिले यसको काम सरकारी कागजात ओसारपसार गर्ने र केही कुरियर सेवा दिनमा सीमित छ ।

सहरदेखि गाउँका कुनाकाप्चासम्म पुगेको टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता आधुनिक नयाँ सञ्चार प्रविधिका कारण हुलाक सेवा बिस्तारै इतिहास बन्दै जाने खतरा सिर्जना भएको छ । हुलाक कार्यालयमा सञ्चालित आधुनिक सेवाको स्वरूप टेलिसेन्टरमा सर्वसाधारणलाई फोन, इमेल, इन्टरनेट, फोटोकपी, फ्याक्सजस्ता सुविधा पाइए पनि हातहातमा मोबाइल र इन्टरनेटको सहज पहुँचले टेलिसेन्टरसम्म धाउन छाडिसकेका छन् ।

प्राचीन समयमा एक स्थानका मानिसले अर्को स्थानका मानिससमक्ष चिट्ठीपत्रद्वारा खबर आदान–प्रदान गराउने माध्यमका रूपमा हुलाकको जन्म भएको इतिहास पाइन्छ । यसपूर्व घोडा, परेवा, बाजलगायत पशुपक्षीद्वारा सन्देशमूलक चिट्ठीपत्र इच्छाइएका व्यक्तिसमक्ष पुर्याइन्थ्यो । आदिमकालीन सभ्यता, लिपि आदि हेर्दा प्राचीनकालमा एक स्थानबाट अर्को स्थानसम्म चिट्ठीपत्र, वस्तु र नगद पुर्याउने माध्यमका रूपमा हुलाकलाई प्रयोगमा ल्याइएको देखिन्छ ।

दूरदराजसम्म पहुँच रहेको र नागरिकको सबैभन्दा लोकप्रिय सञ्चारको पुरानो माध्यम हुलाक कार्यालयका कर्मचारीलाई कार्यालयमा चिट्ठीपत्रको कामले भ्याइनभ्याई हुन्थ्यो । अहिले भने सूचना प्रविधिको पहुँच गाउँगाउँमा पुगेपछि व्यक्तिगत प्रयोेजनका चिट्ठीपत्र आदान–प्रदान हटेको छ । हिजोआज भने कार्यालयबाट धेरै टिकट बिक्री हुने गरेको कर्मचारी बताउँछन् । स्थानीय तहमा सरकारी कार्यालयको सेवा विस्तार हुँदै जाँदा टिकटको कारोबार बढेको इलाका हुलाक कार्यालय रामपुरमा कार्यरत हल्कारा चित्रकला श्रेष्ठले बताइन् । यहाँको कार्यालयमा दिनमा बढीमा चार हजार ४०० सम्मको टिकट बिक्री भएको तथ्याङ्क छ । “व्यक्तिगत प्रयोजनका चिट्ठीपत्र अहिले कार्यालयमा आउँदैन, गाउँमा सरकारी कार्यालय विस्तार हुनेक्रम बढेपछि टिकटको कारोबार धेरै हुन थालेको छ । दैनिकजसो कम्तीमा १५० सम्म टिकट जाने गरेको छ,” श्रेष्ठले सुनाइन् ।

रामपुरको हुलाक कार्यालयमा १३ वर्षदेखि निरन्तर काम गर्दै आएकी उनले हिजोआज पत्रपत्रिका आउनेक्रम घटेको र कार्यालय प्रयोजनका कागजपत्र नियमित रूपमा आउने गरेको जानकारी दिइन् । यहाँको कार्यालयमा दैनिक तीन देखि २० जनासम्म सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । कार्यालयमा सेवाग्राहीको उपस्थिति कम हुँदै जाँदा कर्मचारीलाई पनि काममा व्यस्तता छैन । अहिले हुलाकघर चिठ्ठीपत्रविहीनजस्तै छ ।

रामपुरमा तीन वर्षअघि पाँच आना एक दामको क्षेत्रफलमा चार कोठासहितको दुईतले भवन निर्माण गरी हुलाक सेवा प्रवाह भइरहेको छ । नयाँ भवन बनेपछि प्रशासनिक कामकाज गर्न सहज बनेको छ । इमेल, इन्टरनेटको सुविधा गाउँगाउँमा पुग्न थालेपछि देश–विदेशमा रहेका आफन्त, साथीभाइलाई खबर सन्देश पठाउन चिट्ठीपत्र खसाल्न कार्यालयमा आउने सेवाग्राही घटेको कार्यालय प्रमुख ज्ञानेन्द्र ढकाल बताउँछन् ।

एक डाकमा एक सयभन्दा बढी पत्रपत्रिका आउने गरे पनि कोभिड–१९ को प्रभावले अहिले कम आउने गरेको हुलाकी उमा रेग्मी बताउँछिन् । रेग्मीका अनुसार जिल्ला हुलाक कार्यालय पाल्पाबाट रामपुरसम्म पत्रपत्रिका आइपुग्न दस दिनसम्म लाग्ने गरेको छ । कोभिड संक्रमणअघिसम्म दैनिकजसो डाँक आइपुग्ने गरेको उनी बताउँछिन् । कार्यालयमा एक कार्यालय प्रमुख, खरिदार, एक हल्करा र दुई हुलाकी कार्यरत छन् । स्थायी दरबन्दीमा भने कार्यालय प्रमुख र एक हुलाकी छन् ।

सञ्चारका माध्यमद्वारा आपसी सद्भाव एवम् भाइचारा वृद्धि, आर्थिक एवम् सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यसाथ संवत् १९३५ देखि हुलाक सेवा स्थापना र सञ्चालन गरिएको हो । विश्वभरि नै हुलाक परम्परागत सेवामात्र प्रवाह गर्ने संस्थाका रूपमा मानिन थालेको देखिन्छ । पछिल्ला दिनमा यसलाई आधुनिक र व्यवासायिक बनाउन नसकिएकै कारण वितरीत सेवाप्रति विश्वसनीयतामा कमी आएको अनुभूति हुन्छ ।

पाल्पामा जिल्ला हुलाक कार्यालयसहित विभिन्न पालिकामा १३ इलाका हुलाक कार्यालय र ५२ अतिरिक्त हुलाक कार्यालय सञ्चालित छन् । रामपुर, निस्दीको सहलकोट, रम्भाको हुँगी, ताहुँ, बगनासकालीमा आर्यभन्ज्याङ, माथागढीको झडेवा, तानसेनमा मदनपोखरा र अर्गली इलाका हुलाक कार्यालयबाट सेवा दिइएको छ । रिब्दिकोट गाउँपालिकामा खस्यौली र पालुङमैनादी, रैनादेवी छहरा गाउँपालिकामा छहरा र बल्डेङ्गढी तथा पूर्वखोलामा जल्पा इलाका हुलाक कार्यालय छन् । इलाका हुलाक कार्यालय दैनिक बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहनेछ ।

अतिरिक्त हुलाक कार्यालयले डाँक आदान–प्रदान गर्ने भएकाले दैनिक दुई घन्टा कार्यालय खुला रहन्छ । चिट्ठीपत्र वितरण गर्ने तथा कार्यालयमा चिट्ठीपत्र दर्ता गर्न ल्याएमा पायक पर्ने इलाका हुलाक कार्यालय अर्थात् जिल्ला हुलाक कार्यालयसमक्ष पुर्याउने कार्य अतिरिक्त हुलाक कार्यालयबाट भइरहेको छ । जिल्ला हुलाक कार्यालय (इलाका र अतिरिक्त हुलाक कार्यालयसहित) अन्तर्गत ८५ स्थायी कर्मचारीको दरबन्दी पाल्पामा रहे पनि हाल ४० जनामात्रै स्थायी दरबन्दीमा कार्यरत छन् । रिक्त दरबन्दी पदपूर्ति हुन नसक्दा सेवा प्रवाहमा कार्यालयलाई समस्या परेको छ ।

जिल्ला हुलाक कार्यालयबाट चिट्ठीपत्र आदान–प्रदान, दुई किलोभन्दा बढी सामान भए पनि लैजाने पुलिन्दा सेवा, हुलाक बचत बैंक (बैंकले जस्तै सेवा दिने, नागरिकको बचत संकलन) सेवा दिइएको छ । स्थानीय पत्रपत्रिका निःशुल्क चलानी र नवीकरण गर्ने, पत्रकारको प्रेसकार्ड अनलाइन फाराम भरेर पठाएपछि जिल्ला हुलाक कार्यालयमार्फत वितरण गर्ने तथा लोककल्याणकारी विज्ञापन छापामाध्यम र एफएम रेडियोले भुक्तानी पाउने सुविधा छ ।

व्यक्तिगत चिट्ठीपत्रको काम नभए पनि कार्यालयमा अन्य कामकाज यथावत् नै चलिरहेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टंक भण्डारी बताउँछन् । भण्डारीका अनुसार कार्यालयको सवारीसाधन नहुँदा सम्बन्धित व्यक्ति, निकायसम्म समयमै डाँक पुर्याउन कठिनाइ परेको छ । उनी भन्छन्, “कार्यालयको डाँक बोक्ने सवारीसाधन भएमा तत्काल चिट्ठीपत्र, पत्रपत्रिका, कागजात पुर्याउन सकिन्थ्यो, सार्वजनिक गाडीमा पठाउँदा समयमै कागजपत्र नपुग्ने समस्या छ ।”

पश्चिम नेपाल बस व्यवसायीसँग कागजपत्र ओसारपसार गर्ने सहकार्य भए पनि पाल्पाकै कतिपय स्थानमा सडक समस्याका कारण दस दिनसम्मको समय सम्बन्धित व्यक्ति, निकायसँग पुग्न लाग्ने गरेको उनले बताए । कतिपय सन्दर्भमा म्याद नाघिसकेपछि मात्रै सम्बन्धित निकाय, व्यक्तिसम्म कागजपत्र पुग्छ । हुलाक कार्यालयबाट तत्काल कागजपत्र सम्बन्धित व्यक्ति, कार्यालयमा पुर्याउने साधन व्यवस्था नहुँदा पनि नागरिकले अहिले यसको सेवाप्रति त्यति धेरै चासो देखाउँदैनन् ।

डाँक बोक्ने सवारीसाधनको सुविधा सरकारले उपलब्ध गराउनुपर्ने कर्मचारीको माग छ । सरकारी तवरको ठूलो संरचना रहेको हुलाक कार्यालयले समयमै सेवा दिनुपर्ने भए पनि आफ्नै साधन नहुँदा समयमै सम्बन्धित निकाय व्यक्तिसमक्ष कागजपत्र पुग्न सकिरहेको छैन । यसको दीर्घकालीन सुधारका लागि विश्वका अन्य मुलुकले नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याएझैं नेपाल सरकारको स्पष्ट सोच, दृष्टिकोण, नीति योजना र कार्यक्रममा हुलाक प्राथमिकतामा कहिल्यै पर्न नसक्नु र यो चिट्ठीपत्र ओसारपसार गर्ने माध्यममात्रै हो भन्ने परम्परागत सोचाइमा परिवर्तन आउन नसक्नु नै मुख्य समस्या हो ।

वर्तमान संवैधानिक व्यवस्थानुसार संघअन्तर्गतको सांगठनिक संरचनामा रहेको हुलाक सेवा सञ्चालनका लागि आवश्यक पर्ने कानुन तर्जुमा, भौतिक पूर्वाधार, मानव संसाधन र व्यवस्थापन मुख्य चुनौती छन् । यसको समुचित व्यवस्थापनका लागि हुलाक सेवा विभाग अनवरत रूपमा लागिपरेको छ । नेपाल सरकार नियमावली–२०७४ बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने हुलाक सेवाको संरक्षण, सम्बद्र्धन तथा नियमनसमेत गर्नका लागि हुलाकसम्बन्धी नीति, कानुन, मापदण्ड, सञ्चालन र नियमन, हुलाक टिकट प्रकाशन, भण्डारण तथा अभिलेख व्यवस्थापन, धनादेश सेवा, हुलाक बचत बैंक र अन्तर्राष्ट्रिय डाँक लेखा व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्