
दुर्छिम (खोटाङ) । नेपालमा कम्प्युटर भित्रँदाताकाको प्रिन्टर सम्झँदा सास रोकिएलाजस्तो हुन्छ । त्यतिबेला त गाउँ त के काठमाडौंका मानिससमेत कम्प्युटर देख्दै छक्क पर्थेे । अझ कम्प्युटरबाट कमान्ड दिएपछि प्रिन्टरले बिस्तारै कागज तानेर अक्षर प्रिन्ट गर्दा त उल्कै भएजस्तो लाग्नु स्वाभाविकै हो ।
त्यसबेलाको प्रिन्टरले असाध्यै ढिलो प्रिन्ट गर्थ्यो । त्यसताका अहिलेजस्तो लेजर प्रिन्टर थिएन । अहिले त मिनेटभरमै दर्जनौं प्रति प्रिन्ट हुन्छ । अझ मेकर बोट कम्पनीले निर्माण गरेको थ्रीडी प्रिन्टरले त अचम्मै गरी प्रिन्ट गर्छ । यो थ्रीडी प्रिन्टरले अहिलेका प्रचलित प्रिन्टरको तुलनामा धेरै छिटो प्रिन्टमात्र गर्दैन, मोबाइल एप्स र डिभाइस प्रयोग गरेर पनि प्रिन्ट गर्न सक्छ ।
ल्यापटप या कम्प्युटरमा तारले प्रिन्टरलाई जोडिराख्नुपर्छ भन्ने छैन । थ्रीडी प्रिन्टर भनेपछि तपाईं–हामीले बुझ्नुपर्छ, यसले प्रिन्ट गर्दा अहिलेको कागजमा अक्षर प्रिन्ट गरेजस्तो मात्र होइन, उचाइ, लम्बाइ, गहिराइसहित निकालेर वस्तुको आकार–प्रकार जस्ताको तस्तै प्रिन्ट गर्छ । ठट्टा गर्दै केही व्यक्ति भन्छन्, ‘मेकर बोट रिप्लिकेटर–२ प्रिन्टरले त तपाईं–हाम्रो घरलाई सानो फ्याक्ट्रीजस्तै बनाइदिन्छ ।’
यसले छिटोभन्दा छिटो प्रिन्ट गर्छ । त्यतिमात्रै होइन, जस्तो वस्तु हो, त्यस्तै आकार–प्रकारमा पनि प्रिन्ट गरिदिन्छ । अनि हुँदैन त तपाईं–हाम्रो घर गोदामघरजस्तो ?



