बुद्धले पहिलो पाइलो टेकेको लुम्बिनी वनदेखि निर्वाणसम्मका बुद्धको जीवनसँग सम्बन्धित पाँच महत्वपूर्ण स्थानको एकीकृत प्रचार–प्रसार र विकास आजको आवश्यकता हो । यसबाट विश्वशान्ति स्थापनामा महत्वपूर्ण योगदान हुनेछ । बुद्धका ज्ञानले संसारका अर्बौं मानिस प्रभावित छन् । मानिस जहाँ जन्मे पनि उसले अपनाएका असल विचारको सञ्चार गर्न सकियोे भने विश्वव्यापी रूप लिन सक्छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ । गौतम बुद्धलाई जन्माउने धर्तीप्रति विश्वले नै गौरवबोध गर्छ । बुद्धले अहिंसा, सत्य, अस्तेय अर्थात् चोरी नगर्नू, ब्रह्मचर्य र मद्यनिषेधजस्ता कुरालाई पञ्चशीलका रूपमा महत्व दिएका छन् । सामान्य रूपमा काटमारको विषय हिंसाको एउटा रूपमात्र हो, व्यापक अर्थमा बुझ्दा ‘कायिक, वाचिक र मानसिक’ रूपमा पनि हिंसा गर्नुहुँदैन । ‘घृणा’ नै हिंसाको बीज हो, अर्काको हक खोस्नु र धोका दिनु पनि एककिसिमको हिंसा नै हो । ‘शान्तिपूर्ण सहअस्तित्व’ पनि बुद्धका विचारको महत्वपूर्ण पक्ष हो ।
संसारका सबै समस्याको शान्तिपूर्ण समाधान सम्भव छ र एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु नै सहअस्तित्व हो भन्ने बुद्धको विचार हो । अस्तित्वको अस्वीकृति नै झगडाको जड वा मूल हो । यसबाट संसारमा कैयौं साना–ठूला युद्ध भएका छन् । बुद्धका विचार कार्यान्वयन गर्नका निम्ति ‘सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि’जस्ता आठ आर्य अष्टांग मार्गको परिपालन गर्नु आवश्यक छ । बुद्धका विचारले सबैखाले अतिवादलाई अस्वीकार गर्छ । सम्यक् जीवन बिताउने संकल्पमा सुशासनको आधार भेटिन्छ ।
संसारमा आफ्नो हैकम लाद्न खोज्नेहरू कहिल्यै पनि वास्तविक सुशासनका हिमायती हुन सक्दैनन् । सुशासनका अनुयायीले अरूलाई पनि आफूसमान देख्नुपर्छ । ‘बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि र संघम् शरणम् गच्छामि’ बुद्धका विचारका आधारस्तम्भ हुन् । यसको माध्यमबाटै बुद्धका विचार बुझ्न र व्यवहारमा लागू गर्न सकिन्छ । यसरी हेर्दा बुद्ध व्यक्तिमात्र नभएर, मानवीय ज्ञानका स्रोतका रूपमा देखिनुहुन्छ ।
विश्वमा अहिले जुनप्रकारको असमानता, एक नयाँ किसिमको असमान आर्थिक साम्राज्य, शक्तिशाली देशले कमजोर देशमाथि अनेकौं तरिकाले आफ्नो लगामभित्र पार्ने कोसिस, राजनेताबाटै नियम र कानुनको उल्लंघन, मानिसका आपसी सम्बन्धमा पनि तनावको स्थिति उत्पन्न हुनु, संयुक्त परिवार पनि छिन्नभिन्न हुँदै गइरहेको अवस्था, बूढा र कमजोर मानिसप्रति उपेक्षाभाव बढिरहेको अवस्थाजस्ता घटनाक्रमले समाज आक्रान्त बनिरहेको छ ।
त्यस्तैगरी, आजको हाम्रो समाज आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिकलगायत विभिन्न ढंगले विभक्त छ, गरिबी र अभाव दिनप्र्रतिदिन बढ्दो छ, धनी र गरिबबीचको खाडल झन् बढिरहेको देखिन्छ, समाजमा विभेद, शोषण, अन्याय र अत्याचार भइरहेको पाइन्छ । समाजमा व्याप्त अन्धविश्वासले गर्दा जातीय र क्षेत्रीय रूपमा समाजलाई विभाजित गर्ने र स्वार्थपूर्ण राजनीति गर्ने, एउटा जात अर्काे जातमाथि जाइलाग्ने, धर्मका नाममा, जातका नाममा, क्षेत्रका नाममा समाजलाई विभक्त गर्नेको बोलवाला समाजमा बढ्दो छ । यस्तो परिस्थितिबाट गुज्रेको समाजलाई आदर्शपूर्ण रूपमा अगाडि बढाउने कुरामा हामीले गौतम बुद्धका विचार र दर्शनलाई मार्गदर्शनका रूपमा ग्रहण गरी तदनुसारको आचरण समाजमा स्थापना गर्न सकेमा शान्ति र समतामूलक समाज निर्माण गर्न सकिने बलियो आधार देखिन्छ । आज कैयौं अस्त्रले गर्न नसक्ने र कुनै ठूलो बलले गर्न नसक्ने काम बौद्ध धर्म दर्शनको प्रभावबाट हुन सक्ने देखिन्छ ।
बुद्धका शिक्षाले मानिसका हृदय र मस्तिष्कमा प्रभाव दिन सफल भएको पाइन्छ । जसले गर्दा हजारौं पुरुष र महिला भिक्षु र भिक्षुणी बनेका छन् र करोडौंको संख्यामा गृहस्थ मानिस पनि बौद्ध धर्म दर्शनका अनुयायी बनेको पाइन्छ । गौतम बुद्धको कथनी र करनीमा कहिल्यै कुनै अन्तर देखिँदैन । त्यसैले उहाँलाई ‘यथावादी तथाकारी, तथाकारी यथावादी’ पनि भन्ने गरिन्छ । गौतम बुद्धसँग सम्बन्धित सारा घटना, जन्म, बाल्यकाल, गृहस्थ जीवन, महाभिनिष्क्रमण, बुद्धत्वप्राप्ति, उपदेश, महापरिनिर्वाण सबै कुरा ऐतिहासिक दस्तावेजबाट प्रमाणित भएका छन् ।
विश्वलाई बुद्धका विचारअनुसारको शान्ति, मैत्री, प्रेम र करुणाले युक्त समाजको आवश्यकता छ । केही मानिसलाई भ्रम छ कि बुद्धले केवल अहिंसाको कुरा गरेका छन्, त्यस्तो होइन । गौतम बुद्धले मानवजीवन र त्यसको वरिपरिको वातावरणसँग सम्बन्धित विभिन्न पक्षको विवेचना गरी उपदेश दिएका छन् । गौतम बुद्धले धार्मिक स्वतन्त्रता, समानता र नैतिक शिक्षामा जोड दिएका छन् । धार्मिक असहिष्णुता र असमानतामा आधारित वर्णाश्रम व्यवस्थाविरुद्ध खडा भई धार्मिक स्वतन्त्रताको पक्षमा देखिन्छन् । जुन कुरा त्यतिबेलाको समाजमा क्रान्तिकारी विचार थियो । त्यसैले बुद्धका विचारको प्रासंगिकता विश्वमा दिनानुदिन बढ्दै गएको देखिन्छ ।
गौतम बुद्धले सामाजिक जीवनका कुन–कुन पक्षमा उपदेश दिए र त्यसको प्रभाव कसरी पर्दै गएको छ भन्ने विषयमा तमाम प्रमाण रहेका छन् । बुद्धका शिक्षाको मुख्य उद्देश्य मानवजीवनलाई सुखमय बनाउनु हो । बुद्धले प्रकृतिका नियमको गहन अध्ययन गरी ती नियमले बाहिर वातावरणमा कसरी काम गरिरहेका छन् ? हाम्रो शरीरभित्र पनि कसरी काम गरिरहेका छन् ? मानव शरीरमा सबै लोक कसरी अटाएका छन् ? मानवजीवनको मूल समस्या के हो ? मानिसमा रहेका राग, द्वेष, मोह, घृणा, लालच र भयका विकारबाट कसरी छुट्कारा पाउन सकिन्छ ।
आपसी लडाइँ, एक–अर्कासँग युद्ध, आर्थिक असमानता, शोषण, अत्याचार, भेदभाव, हिंसा र आतंकवादको जन्म कसरी भइरहेको छ ? यो स्थिति किन हरेक युग र समाजमा देखापर्दै आएको छ । केवल उनीहरूको रूप र स्थान बदलिन्छ तर समस्या ज्यूँका त्यूँ किन रहन्छजस्ता विषयमा गौतम बुद्धले गहन अध्ययन, वैज्ञानिक खोज अनुसन्धान गरी समस्या पहिचान र त्यसको समाधानको मार्ग दिन सफल भएका छन् ।
अहिलेको समाजलाई सुन्दर बनाउन बुद्धका ती विचार समसामयिक र व्यावहारिक देखिन्छन् । जुन प्रकारले बुद्धको समाजदर्शनमा प्रज्ञा र शील विवेकमाथि निर्भर गर्छन् । त्यसैगरी, बुद्धको मैत्री र करुणा पनि व्यक्ति र समाजको भावनात्मक पक्षसँग जोडिएको पाइन्छ । बुद्धको समाजदर्शनमा विवेक र भावनाको अनौठो समन्वय रहेको छ । बुद्धले मानिसले गर्ने हरेक कार्य शुभ र मंगलमय हुनुपर्छ । त्यसको प्रेरक चाहे भावना होस् वा विवेक अथवा दुवै पनि हुन सक्छ भनेका छन् ।
समाजमा सत्य एवम् शान्ति स्थापना हुनका लागि भावनाबाट मात्र प्रेरित कार्य स्वार्थरहित हुँदैनन् भन्नेहरू पनि छन् । काम जसरी गरिएको होस्, त्यो विशुद्ध समाजमा एउटा नैतिक मूल्य स्थापना गर्नेखालको हुनुपर्छ भन्ने कुरा गौतम बुद्धका विचारबाट शिक्षा लिनु आवश्यक छ ।
बुद्धद्वारा लोककल्याणकारी र आदर्शपूर्ण समाजका लागि समाजलाई दिइएका विचारलाई व्यवहारमा लैजाँदा अनुपयुक्त भए त्यसलाई ग्रहण गर्नु आवश्यक पनि छैन । बुद्धले भनेका छन्, ‘मैले भने भन्दैमा, कतै शास्त्रमा उल्लेख छ भन्दैमा त्यसलाई स्वीकार गरिहाल्नुपर्छ भन्ने छैन ।’ किनकि कुनै पनि विचार व्यवहारमा लैजाऊ, व्यवहार उपयोगी भए त्यसलाई लागू गर, अन्यथा लागू नगर भन्ने बुद्धको विचार आफैंमा वैज्ञानिक र व्यावहारिक रहेको छ । बुद्धले जीवन र जगत्बारे जति सूक्ष्म विश्लेषण गरे, त्यो आजसम्म संसारमा कसैले गर्न सकेका छैनन् । उनले जीवनका समस्याको पौराणिक किताबबाट उत्तर नदिएर मौलिक विश्लेषणका आधारबाट समाधान दिएका छन् ।
बुद्धले कसैबाट आफूप्रति श्रद्धा र आस्थाको अग्रिम माग पनि गरेनन् । ‘मेरो कुरा मानेमा मात्र ज्ञान दिन्छु’ पनि भनेनन् । श्रद्धा गर्दिनँ भन्दाभन्दै पनि अनगिन्ती मानिस उनलाई श्रद्धा गर्न लालायित भए । कसैका अगाडि शिर झुकाउँदिनँ भन्ने कैयौं शक्तिशाली सम्राटहरू पनि बुद्धका शरणमा नतमस्तक र उनको ज्ञानमार्गका अनुयायी हुन पुगेको पाइन्छ । त्यसले गर्दा पनि बुद्धका विचार वैज्ञानिक र व्यावहारिक छन् भन्ने कुरा स्पष्ट हुन्छ ।
विश्वशान्तिका लागि गौतम बुद्ध महान् पथप्रदर्शक हुन् । मानव समाजमा मैत्री, प्रेम र करुणाको सिर्जना गरी शान्ति र समातामूलक समाज निर्माण गर्नमा गौतम बुद्धका विचार अत्यन्तै महत्वपूर्ण देखिन्छन् । त्यसैकारणले गर्दा नै आधुनिक विश्वमा पनि गौतम बुद्धद्वारा प्रतिपादित धर्म दर्शनको महत्व झनै बढ्दै गएको देखिन्छ । नेपाल भूमिमा जन्मनुभएका गौतम बुद्धलाई विश्वले आजसम्मकै अद्वितीय महापुरुषका रूपमा लिई संसारभरिका मानिस प्रभावित हुनु हामी नेपालीका लागि गौरवको विषय हो । त्यसैले विश्वशान्तिको मुहान नेपालका नागरिक हुँ भनेर हामीलाई गौरवबोध भइरहेको छ । अतः हामीले गौतम बुद्धका महान् विचार र कर्मबाट शिक्षा लिँदै तदनुसारको कर्तव्य गर्नु पनि आवश्यक देखिन्छ ।
गौतम बुद्धको धर्म दर्शनले मूलतः विश्वशान्तिको मार्गदर्शन गरेको हुनाले लोकप्रिय हुँदै गएको पाइन्छ । यससँगै नेपाली भूमि र पूर्वीय जगत्बाट शान्तिको कामना, चाहना र खोजीको प्रयास यसअघि कहिलेदेखि कसरी हुँदै आएको थियो भन्ने सन्दर्भमा अध्ययन गर्दा वैदिक, उपनिषद् र पौराणिककालदेखि नै हुँदै आएको कुरा ती ग्रन्थको अध्ययनबाट स्पष्ट हुन्छ ।
गौतम बुद्धले मूर्ति पूजा मान्थेनन् तर बुद्धकै नाममा संसारमा सबैभन्दा धेरै मन्दिर बनेको देखिन्छ । अजन्ता र एलोरा गुफा बुद्धका मूर्तिले भरिपूर्ण देखिन्छन् । मलेसियाको पेनाङमा रहेको बुद्ध मन्दिरमा दस लाख, हङकङस्थित न्यु टेरिटोरिजको एउटा विहारमा सुनका १० हजार बुद्धमूर्ति रहेका छन् । चीनमा संसारकै सबैभन्दा ठूलो ७१ मिटर उचाइको बुद्धमूर्ति छ । आजभन्दा २२ सय वर्षअघि पनि हालको अफगानिस्तानको बामियान प्रान्तमा १५५ फिट अग्ला मूर्ति बनाइएका थिए र केही वर्षपहिले तालिवानद्वारा ती मूर्ति भत्काइएका छन् ।
गौतम बुद्धमूर्ति पूजाको पक्षमा नभए पनि उनीप्रतिको आस्था र विश्वासका कारण श्रद्धा गर्नेले मूर्ति निर्माण गरेका हुँदा त्यसलाई स्वाभाविक ठान्नुपर्छ । तर, बुद्धका वैज्ञानिक विचारलाई तोडमरोड गरी ईश्वरवादका रूपमा परिभाषित गर्दै अपव्याख्या गर्ने प्रवृत्तिलाई भने रोक्नैपर्ने हुन्छ ।
गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाणपश्चात् बौद्ध धर्म दर्शनको विस्तारक्रममा यहाँसम्म आउँदा सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको छ । सञ्चार नभएको भए आज हामीले प्राप्त गरेको बौद्ध धर्म दर्शन उतिबेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म दर्शनको विश्वव्यापीकरण हुनुमा निःसन्देह सञ्चारको निकै ठूलो महत्व रहेको छ ।
परम्परागत सञ्चारप्रणालीका माध्यमबाट होस् या आधुनिक सञ्चारप्रणालीका माध्यमबाट होस्, गौतम बुद्धका शान्ति सन्देशलाई विश्वव्यापीकरण गराउनमा सञ्चारले खेलेको भूमिकालाई कसैले पनि नकार्न सक्दैन । गौतम बुद्धका विचारको सफल सञ्चारण नभएको भए आज हामीले बुझ्ने मौका पाएको र प्राप्त गरेको बौद्ध धर्म दर्शन र शान्तिका उपदेशबाट विश्वले लाभ लिन सक्ने थिएन । त्यसैले सञ्चारले गौतम बुद्धका शान्ति उपदेशलाई विश्वव्यापीकरण गराएको हो । त्यसैले विश्वशान्ति र सञ्चार एक–अर्काका परिपूरकका रूपमा रहेका छन् । गौतम बुद्धका विचारले विश्वको राजनीतिक प्रणालीमा समेत प्रभाव पारेकोे छ ।
मानव सभ्यताको इतिहासलाई हेर्दा राजनीतिक प्रणालीको स्थापना र विकासमा विश्वका महान् दार्शनिक, विचारक, सिद्धान्तकार, धर्म र आस्थाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । त्यसैका आधारमा आमसञ्चारका सिद्धान्त पनि बनेको पाइन्छ । निरंकुश व्यवस्था भएका देशमा प्रेस अर्थात् आमसञ्चारको निरंकुशतावादी सिद्धान्त, उदारवादी राजनीतिक प्रणाली भएका मुलुकमा उदारवादी आमसञ्चार सिद्धान्त, उदार र लोककल्याणकारी राजनीतिक प्रणाली भएका मुलुकमा सामाजिक उत्तरदायित्वको आमसञ्चार सिद्धान्त र साम्यवादी विचारका आधारमा सञ्चालित राज्य प्रणाली भएका मुलुकमा साम्यवादी आमसञ्चार सिद्धान्त भनी परिभाषित गरिएको देखिन्छ । ती परिभाषा र विश्लेषणलाई विश्वविद्यालयमा अध्ययन अध्यापन गर्ने गराउने गरिएको पाइन्छ । विश्वमा शान्ति, मैत्री, प्रेम र करुणाको सन्देश दिन सफल गौतम बुद्धद्वारा प्रतिपादित धर्म दर्शनलाई आधार मानी कैयौं मुलुकमा राज्यकै प्रमुख धर्मका रूपमा मानिदै आएको छ ।
राज्यसत्ताको सञ्चालन प्रक्रियामा समेत ती मुलुकमा मुख्य आधारका रूपमा बौद्ध धर्म दर्शनलाई लिइएको पाइन्छ । त्यसैले आमसञ्चारका सिद्धान्तमध्ये पाँचौं सिद्धान्तका रूपमा आमसञ्चारमा शान्तिवादी सिद्धान्तलाई स्वीकार गरी विश्वव्यापी रूपमा सञ्चारित गर्नु आवश्यक देखिन्छ ।