भाडाको डुंगामा फुसियनताल हेलिँदा



अक्टोबरको पहिलो दिन चिनियाँ राष्ट्रिय दिवस हो । त्यही अवसरमा अक्टोबरको पहिलो साता चीनमा सार्वजनिक बिदा हुने गर्छ । सन् २०१९ अक्टोबरको बिदाको मौकामा युनान विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले युनान प्रान्तको तेस्रो र सुन्दर ताल फुसियनताल भ्रमण गर्ने योजना बनाएछन् । म एक महिनाअघि मात्रै चीन पुगेको थिएँ । एकहप्ते बिदामा कतै घुम्न जाने मन थियो । तर, साथी थिएनन् । यो कुरा मैले उमेश भाइलाई भनेको थिएँ । त्यसैले फुसियनतालको यात्रामा मलाई विद्यार्थी भाइबहिनीले सहभागी गराए ।

बिहान ८ बजे कुन्मिङ साउथको युनिभर्सिटी टाउन मेट्रो स्टेसनमा उमेश, विश्वास, सिद्धान्त अनि विश्वास र सिद्धान्तका साथीसमेत हामी ६ जना भेट्यौं । मेट्रो रेलबाट साउथ रेल्वे स्टेसन उत्रियौं । त्यहाँ मदन, ज्योति, सुमन, पवन, टासी, प्रकाश अनि इटालियन र मंगोलियन युवतीसहितको टोलीसँग भेट भयो । हामीले दुई साना गाडी रिजर्भ गरी अघि बढ्यौं ।

गाडी सहरका बीचबाट अघि बढ्यो । पुरानापाराका घर, गाउँ हुँदै अघि बढ्दै जाँदा ठूलो परिमाणमा तरकारी खेती गरिएको क्षेत्र हुँदै हामीले कुन्मिङ उपत्यकाबाट बाहिर निस्क्यौं । पीएचडी गर्न आएका दुईजना मदन र ज्योति त्यहाँका भूगोल, वन अनि काठमाडौं उपत्यका र नेपालको भूगोल र वनको तुलना गर्दै थिए । मचाहिँ फराकिलो अनि ठाउँ–ठाउँमा भूमिगत र आकाशगत मार्ग हुँदै बनेको सडक हेर्दै हलेसी, अर्खौले, महुरे, नुनथला, हुर्लुङ, मुडेतिरको सडकबाट दसैं मान्न घर गएको झझल्कानेमा थिएँ । प्रकाश भाइ आफ्नी इटालियन पे्रमिकासँगको गफमा मस्त थिए । चिनियाँ भाषामा पोख्त सुमन भाइ ड्राइभरसँग कुराकानी गरिरहेका थिए । बिहान १० बजे हामी फुसियनतालकिनार पुग्यौं ।

वन मन्त्रालयका उपसचिव, वनमै पीएचडी गर्न तम्सिएका विराटनगरका मदन खड्का, एमए सक्नसाथ पीएचडीको लोभले तानिएकी अनि भूगोलमा पीएचडी गर्दै गरेकी काठमाडौं साँखुकी ज्योति कार्की, चिनियाँ भाषा पढिरहेका काठमाडौंका सुमन प्रधान, सिन्धुपाल्चोकका पवन गोले र मनाङका टासी लामा, इन्जिनियरिङ पढ्ने चितवनका उमेश सापकोटा, लजिस्टिक मेनेजमेन्ट पढ्ने धादिङका विश्वास श्रेष्ठ र बुटवलका प्रकाश नेपाली, मेनेजमेन्ट पढ्ने बुटवलका सिद्धान्त सुवेदी र मसहित १० जना नेपाली । विश्वास, सिद्धान्त र प्रकाशका साथीहरू क्रमशः लाओस, थाइल्यान्ड र इटालीका युवती अर्थात् हाम्रो भाषामा भन्नुपर्दा नेपाली बुहारीहरू र एकजना तिनै बुहारीहरूकी मंगोलयन साथी हामी जम्मा १४ जना थियौं । तालक्षेत्र प्रवेश गर्न प्रतिव्यक्ति १५ युआन प्रवेश शुल्क लाग्ने रहेछ । विद्यार्थीलाई आधा छुट । हामी तालक्षेत्र प्रवेश गर्यौं ।

होटलवाला आफ्नो होटलमा खाना खान बोलाइरहेका थिए । बेवास्ता गर्दै हाम्रो गाडी अघि बढ्यो र तालको एकछेउमा पुर्यायो । हामीले पहिले खाना खाने अनि मात्र ताल छिर्ने सल्लाह गर्यौं । खाना खानेक्रममा हामीले परिचय साट्यौं । खासगरी म त्यो टोलीमा नौलो थिएँ । युनानका विद्यार्थीको वीच्याट ग्रुप रहेछ । म त्यसमा जोडिएँ । अरूसँग पनि वीच्याटमा जोडियो । खाना खाएपछि तालकिनार गयौं । फोटा खिच्ने होडबाजी हुने नै भयो । झोला त गाडीमै छोडिएको थियो तर विश्वास भाइले दुई कार्टुन बियर लिएर आएका रहेछन् । त्यसलाई बोकेर यताउता गर्न भने निकै सकस परेको देखिन्थ्यो ।

सहप्राध्यापक धनप्रसाद सुवेदी

हामीले प्रतिव्यक्ति ४० युआन तिरेर दुई घन्टाका लागि एउटा डुंगा भाडामा लियौं । लाइफज्याकेट लगाएर हामी डुंगामा प्रवेश गर्यौं । अब हाम्रो डुंगा यात्रा बियरको चुस्की लगाउँदै सुरु भयो । आँखाले नभ्याउने तालक्षेत्र । तालमा डुंगाहरू यत्रतत्र चलेका छन् । धेरै गहिरो क्षेत्रमा नआऊन् भनेर द्रुत गतिवाला डुंगाका सुरक्षाफौजमा जमानहरू साइरन बजाउँदै दौडिँदारहेछन् । हामी अगाडि बढ्दै गयौं । सुमन, टासी, पवन, विश्वासहरूले डुंगा चलाइरहेका थिए । सुरक्षाकर्मीको डुंगा अलिक टाढा भएको मौका छोपेर टासी, पवन, विश्वासहरू पोखरीमा हामफाले, केहीबेर पौडिएर डुंगामा आए । थाई र लाओसका युवती पनि आफ्ना आफ्ना प्रेमीसँगै नारिएर तालमा हामफाले । टासीले प्रेमीविनाकी मंगोलियन युवतीलाई पनि हात र साथ दिए । तर, पानी धेरै चिसो भएकाले प्रकाशले हामफाल्ने आँट नगर्दा उनकी इटालियन पे्रमिका निकै रिसाइन् । टोलीको सबैभन्दा जिउज्यान परेको खाइलाग्दो भएर पनि प्रेमिकासँगै तालमा हेलिन नसक्नु प्रकाशका लागि लज्जाको विषय थियो । आखिर उनी पनि प्रेमिकासँगै तालमा हेलिए, केहीबेर पौडिएपछि डुंगामा आए । लाइफज्याकेट लगाएको फाइदा उठाए । ज्योति कार्कीले पनि आफूलाई बहादुर साबित गर्न बाँकी राखिनन् । उनी केहीबेर पानीमा हेलिइन् । बियरको मातभन्दा पनि पिसाबको च्यापमा परेर उमेश र पवन एक्लाएक्लै भए पनि पानीमा हामफाल्ने आँट गरे । म, मदन खड्का र सुमनले भने बहादुरी देखाउने रहर गरेनौं ।

बियर पिएको छ, गीत गाएको छ र बेलाबेला पानीमा हेलिएको छ । हाम्रो डुंगाको अघि–पछि भएर सँगसँगै जस्तो अघि बढिरहेको एउटा डुंगामा सवार चिनियाँ युवकयुवतीलाई हाम्रो तरिका साह्रै लोभ लागेछ । उनीहरूले जानाजान आफ्नो डुंडा ठोक्काउन ल्याए । हाम्रो डुंगामा अब यात्रीहरू आदान–प्रदान भए दुई डुंगाबीच । हामीले उनीहरूलाई बियर पिउन दियौं । केही चिनियाँ ठिटाहरू हाम्रो डुंगामा आए, हाम्रा ठिटाहरू उनीहरूको डुंगामा गए । दुई डुंगा सँगसँगै अघि बढे । ठिटाहरू डुंगाको अगाडिपट्टि गएर नाच्दै, गाउँदै रमाइलो गर्दै थिए । कोही डुंगाबाट हामफालेर केहीबेर पौडिने र फेरि डुंगामा चढ्ने गर्दै थिए । डुंगा असन्तुलित भएर पल्टेलापल्टेलाजस्तो भइरहेछ तर नाच्नेलाई मतलब छैन । हाम्रो गतिविधि अलिक अस्वाभाविक भयो क्यारे । तालमा डुंगाको अवस्था निगरानी गरिरहने द्रुत गतिको सुरक्षावाला डुंगा साइरन बजाउँदै हामीनजिक आयो । त्यहाँका कर्मचारीले हाम्रा भाइहरूलाई डुंगाको अगाडि नउफ्रिन, ननाच्न निर्देशन दियो र द्रुत गतिमा अर्कातिर लाग्यो । त्यो डुंगा अलिक पर पुग्न नपाउँदै नेपाली ठिटाहरू भने नाच्न थालिहाले । तर, अहँ चिनियाँ ठिटाहरू भने चुपचाप बसिरहे । अनि केहीबेरमा आफ्नो डुंगामा चढे र अलग–अलग बाटोमा लागे । यहाँनेर थाहा भयो, चिनियाँहरू नियमको परिपालन कसरी गर्छन् भन्ने कुरा ।

चीनमा प्रशस्त ताल रहेछन् । हामीकहाँजस्तो खोला, मन्दिर, तालतलैयाको जग्गा अतिक्रमण गर्ने दलालहरू यहाँ रहेनछन् । भएको ताललाई सम्भावना भएसम्म अरू बढाउने र त्यसैलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदोरहेछ । खोला थुनेर ताल बनाइदिने, विश्वविद्यालयहरूमा ताल बनाउने चीनमा ताल संस्कृति गज्जबको रहेछ । फुसियनताल युनान प्रान्तका छेङजियन, जिङछुवान, हुइनिङ क्षेत्रको सिमानामा युनान प्रान्तको राजधानी कुन्मिङसँगै जोडिएको, युसी सहरनजिकै रहेछ । २१२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो ताल १५५ मिटरसम्मको गहिरो रहेछ । चीनका गहिरा र सफा तालमध्ये यो ताल युनान प्रान्तको तेस्रो ठूलो ताल रहेछ । युनान प्रान्तका तेन्चिर इराइपछि तेस्रो ठुलो युनान प्रान्तको सबैभन्दा गहिरो ताल पनि रहेछ । ३१.५ किलोमिटर लम्बाइ र ११.५ किलोमिटर चौडाइको यो ताल डुंगा यात्राका लागि रमाइलो रहेछ ।

दुई घन्टाको डुंगा सयरपछि तालको एकछेउमा पौडी खेल्ने कुरा भयो । तर, पौडी खेल्न प्रतिबन्ध रहेछ । फोटो खिचेपछि खाजा खायौं । चीन आएको बेला गोरुको मासु नखाए पनि गंगटोको त चाख्नुपर्छ भन्ने लाग्यो । माछा, गंगटो र चाउचाउको त्यान्द्रा कप्टेराले टिप्दै खाँदै अनि बियरको चुस्कीले कुल्ला गरेपछि खाजा खाने काम सम्पन्न भयो । बिदामा घुम्ने र खानेकुरामा चिनियाँ सौखिन रहेछन् । फुसियनतालवरपरको भीडले त्यही बताइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्