दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी थालिएको छ ।
थालिएको तयारी कार्यान्वयन गर्न/गराउन नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सम्बन्धित वडाका वडाध्यक्षबीच अर्थपूर्ण छलफल र अन्तक्र्रिया बाक्लो बनाइएको छ ।
‘गाउँठाउँमै अंग्रेजी माध्यमबाट पठनपाठन थालिएपछि विद्यार्थी र अभिभावक लाभान्वित हुनेछन् । हुनेखानेले पहिलेदेखि नै आँगनको सामुदायिक विद्यालयको साटो निजी विद्यालयमा पढाउने गरेका छन्,’ हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले भनिन्, ‘सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पठनपाठन थालिएपछि धरान, काठमाडौंलगायत जिल्ला सदरमुकाममा बसेर छोराछोरी पढाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।’
जनप्रतिनिधि, राजनीतिक दलसम्बद्ध नेता, शिक्षक, कर्मचारीले समेत छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । त्यतिमात्रै होइन, छोराछोरीलाई निजी विद्यालय पढाउनकै लागि वैदेशिक रोजगारीमा गएका कतिपयको व्यथा त्यत्तिकै चर्को छ ।
टाढाबाठाको छोराछोरीजति निजी र अन्यको चाहिँ सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यता देखिन्छ । ‘अपवादबाहेक टाठाबाठाका छोराछोरी सामुदायिक विद्यालयमा पढ्छन्,’ मेयर राईले दु:खेसो पोखिन्, ‘तर, सामुदायिक विद्यालयचाहिँ अलपत्र परेका छन् । त्यसलाई क्रमश: सुधार्दै लगिनेछ ।’
नगरभित्रका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न त्यत्तिकै आवश्यक छ । शैक्षिक सुधारका लागि विद्यार्थी कम भएका, दरबन्दी संख्या कम भएका र नजिकै अन्य विद्यालयको सहज पहुँच भएकालाई तत्कालका लागि अस्थायी रूपमा समायोजन गर्न स्थलगत अध्ययनका लागि कार्यदलसमेत गठन गरिएको छ ।
यसैगरी, नगरका सबै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई आर्थिक वर्ष २०७९/०८० देखि मासिक रूपमा तलब–भत्ता निकासा गर्ने पक्कापक्की भएको छ ।
नगरपालिकाभित्र रहेका सबै विद्यालयका शैक्षिक गुणस्तर सुधार्न शिक्षा शाखा र विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गर्ने प्रावधान थालिने भएको छ ।