दुर्छिम (खोटाङ) । कतिपय देशका केटाकेटीले धेरै खान पाए पनि खेल्न पाउँदैनन् । कतिपय देशका केटाकेटी प्रशस्त खेल्न पाउँछन् तर पर्याप्त खान पाउँदैनन् । केटाकेटीका लागि दुवै आवश्यक पर्छ । उनीहरूले पर्याप्त खानेकुरा खान पाउनुपर्छ । उत्तिकै खेल्न पनि पाउनुपर्छ ।
अमेरिकाका चारमध्ये एकजना बच्चाले खान पाउँछन् । तर, पर्याप्त खेल्न पाउँदैनन् । बाँकी विश्वका चार केटाकेटीमध्ये एकले खान पाउँदैनन् । दुवैथरी समस्या एकसाथ समाधान गर्न युनिसेफले किड पावर ब्यान्ड निर्माण गरेको छ । यो हातमा लगाउने घडीजस्तै हो ।
यसमा मोबाइल एप्स प्रयोग गरेर खेल्न सकिने भिडियो छन् । भिडियो हेर्दै खेल खेल्दा जसले नम्बर पूरा ल्याउँछ, उसले खानेकुराको प्याकेट पाउँछ । यसले गर्दा केटाकेटी खेल खेल्दै रमाउँछन् भने अर्कोतिर खानेकुरा पनि पाउँछन् ।
युनिसेफको यो योजना सिर्जनशील र कमालकै मान्नुपर्छ । किड्स पावर ब्यान्ड सन् २०१४ मा सार्वजनिक गरिएको थियो । सन् २०१६ सम्ममा यो ब्यान्ड लिएर युनिसेफले ७० लाख माइल यात्रा गरेर ३० हजार कुपोषित बच्चालाई पौष्टिक खानेकुरा वितरण गरेको थियो ।