९ महिनादेखि बन्द हलेसीमा सांसद भट्टराई


हलेसी (खोटाङ) । सांसद विशाल भट्टराई नौ महिनादेखि बन्द रहेको त्रिधार्मिक स्थल हलेसी आएका छन् । सांसद भट्टराई दर्शन गर्न नभएर अस्पताल शिलान्यास गर्न मंगलबार हलेसी आएका नेकपा हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतले जानकारी गराए ।

संघीय संसद्को संयुक्त बैठकमा २०७७ जेठ १५ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ३ करोड २८ लाख रुपैयाँ विनियोजन भएपछि हलेसीमा अस्पताल बन्ने पक्कापक्की भएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा १५ शय्याको बन्न लागेको अस्पतालको सांसद भट्टराईले मंगलबार  औपचारिक शिलान्यास गर्ने भएका हुन् । उनले हलेसीमा अस्पताल शिलान्यास गरेसँगै मुलुकका ३९६ स्थानीय तहमा एकैसाथ ५ देखि १५ शय्याको अस्पताल शिलान्यास गरिँदै छ । मंगलबारको यो कार्यले स्वास्थ्य पूर्वाधारको क्षेत्रमा ऐतिहासिक रेकर्ड कायम गर्दै छ ।

हलेसीमा ३ करोड २८ लाख रुपैयाँमा १५ शय्याको अस्पताल बन्न लागेको हो ।

अस्पताल निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थाननिवासी रत्न राई, गोपाल गिरी, हरि गिरी, दुर्गबहादुर केसी, प्रकाशचन्द्र गिरी, प्रेमबहादुर बस्नेत र गोरीमाया विकले दान गरेको जग्गा यसअघि नै अस्पतालको नाममा पास गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्