गाउँकै पहिलो रेडियो प्रयोगकर्ता



दुर्छिम (खोटाङ) । आकाशे रङको कमिज–सुरुवालमा पहिरिएका पञ्चसेर राई पानासोनिक रेडियो भिरेर हाम्रो घर (हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, डाँडाटोल) आएका थिए । यो संवत् २०२८/०२९ सालतिरको कुरा हो । तर, सम्झिल्याउँदा हिजैजस्तो लाग्छ । पंक्तिकारले राईलाई स–सम्मान ‘बाबै कान्छा’ भनेर सम्बोधन गर्थे ।

बाबै कान्छाले पंक्तिकारलाई काखमा राखेर रेडियो खोल्न र बन्द गर्न सिकाए । ब्यान्ड परिवर्तन गर्न तरिका सुझाए । रेडियोबाट प्रसारण हुने नेपाली, हिन्दी र चिनियाँ भाषाका समाचार तथा कार्यक्रम सुनाए । विभिन्न भाषामा प्रसारित समाचार र कार्यक्रम सुन्न पाउँदा तीनछक परेको थिएँ । बाबै कान्छाको न्यानो काखमा बसेर जीवनमै पहिलोपटक रेडियोमार्फत सञ्चार जगत्सँग साक्षात्कार गर्ने अवसर पाएको त्यो क्षणको अनुभूति शब्दमा व्यक्त गर्न असमर्थ छु ।

दुई/चार अक्षर पढेर समाजवादका कुरा गर्दै समाजवादी भई टोपल्ने हामीभन्दा पञ्चसेर राई व्यावहारिक कसीमा कैयौं गुना बढी समाजवादी थिए

मैले त्यो रेडियो एकरात आफैंसँग राख्ने अवसर पाएँ । बाबै कान्छाको रेडियो आफैंसँग राख्न पाउँदा असाध्यै खुसी भएको थिएँ । आफूले आफैंलाई भाग्यमानी ठानें । अवसर सदुपयोग गर्दै धितमरुन्जेल रेडियो सुन्ने मौका पाएँ । मैले थाहा पाएसम्म त्यो रेडियो गाउँ (हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, साल्तेम्मा)कै पहिलो थियो । लाइसेन्ससमेत लिनुपर्ने त्यतिबेला रेडियो हुनेलाई सम्मानित ढंगले हेरिन्थ्यो । त्यसताका औंलामा गन्न सकिनेसँग मात्रै रेडियो हुन्थ्यो ।

पञ्चसेर राई ।

खैरा, राता, ठाडा जुँगा । प्रायः रिसाइरहेकाजस्ता देखिने बाबै कान्छा यथार्थमा त्यस्ता थिएनन् । उनी जति सरल थिए, त्यत्तिकै सहृदयी पनि । सक्रिय राजनीतिमा उपस्थिति नरहे पनि सचेत मतदाता उनी प्रगतिशील राजनीतिका पक्षधर थिए । प्रगतिशील राजनीतिप्रति गहिरो सद्भाव थियो । अनि विशेष सहयोगी पनि मानिन्थे ।

हामी जनवादी गीत गाउँदै देउसी–भैलो खेल्थ्यौं । गाउँभरि घुम्थ्यौं । बाबै कान्छा पनि हामीसँगै घुम्थे । ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘कोही त भने जहाजमा सरर’जस्ता जनवादी गीत हामीसँगै गाउँथे । हामीलाई प्रोत्साहन र हौसला दिन्थे । यो संवत् ०३५/३६ सालतिरको कुरा । यो दृष्टान्त पेस गरिरहँदा मलाई लाग्छ, ‘दुई/चार अक्षर पढेर समाजवादका कुरा गर्दै समाजवादी भई टोपल्ने हामीभन्दा उनी व्यावहारिक कसीमा कैयौं गुना बढी समाजवादी थिए ।

मेरो जीवनमा गहिरो प्रभाव पार्ने गरी त्यो पानासोनिक रेडियो भिरेर हाम्रो घर आएका मेरो लाहुरे (भारतीय सैनिक) बाबै कान्छाको अन्ततः ०८० भदौ २ गते काठमाडौंको ट्रमा सेन्टरमा निधन भयो । ट्रमा सेन्टरको उत्तरतिरको गेटबाट कहिल्यै नभेट्ने गरी पितृको देशको यात्रा तय गरे । तर, बाबै कान्छाको सांस्कृतिक, सामाजिक, मानवीय, परोपकारी र राजनीतिक कामको योगदानका कारण मजस्ता धेरैको हृदयमा बाँचिरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्