‘हामीले थाहा पाउँदासम्म रोसुङ्तोमा ठूलो टार थियो,’ हलेसी तुवाचुङ नगरपालिका–९, सल्ले माथिल्लो चिचिङ्गानिवासी अजम्बर राईले जानकारी दिए, ‘त्यहाँ पोखरी पनि थियो । पहिरोले टार कता पुर्यायो ? पोखरी कता भासियो ? हिजोआज रोसुङ्तो त भीर–पहरामा पो परिणत भएको छ ।’
भीर–पहरामा परिणत हुनुअघि खोक्चिलिपा रोसुङ्तो (तल्लो चिचिङ्गा)मा बस्थे । उनलाई रोसुङ्तोले गरिखान सिकायो । पसिनाको गीत गाउँदै खानुको आनन्द उनलाई थाहा थियो । जीविकोपार्जन गर्नेक्रममा उनले दूधकोसीसम्म पुगेर माछा मार्थे । माछा मार्न दूधकोसी धाइरहँदा वाइलुङ्मासँग भेट भयो । मायाप्रेम बस्यो । उनले ओडारमै बस्दा वाइलुङ्मासँग बिहे गरे । बालबच्चा जन्मिए । ‘यसरी ओडारमा बसेर हुँदैन अब घर बनाऊँ,’ राईले मुन्दुमी मिथक सुनाए, ‘वाइलुङ्माले घर बनाउने प्रस्ताव राखेपछि खोक्चिलिपाले सहमति जनाए ।’ घर–सल्लाह मिलेपछि घर ठडियो । रोसुङ्तोमै घर ठडिएपछि उनीहरू ओडारबाट बाहिरिए ।
पहिलेको टारबारी रोसुङ्तो पहिरोमा परिसकेको छ । पहिलेको टारबारीमात्रै होइन, खोक्चिलिपाले घर बनाएको क्षेत्रसमेत पहिरोले भत्काइसकेको छ । तर, खोक्चिलिपाले आश्रय लिएको ओडार भने यथावत् छ । किरात राई समुदायको साझा पुर्खाले आश्रय लिएको ओडार र उनले बनाएको घर पहिरोमा परे पनि रोसुङ्तो ऐतिहासिक तथा सांस्कृतिक स्थल हो ।
खोक्चिलिपा बुक्टो (हलेसी गुफा) पुगेका किरात राई समुदायले रोसुङ्तो नपुगे धार्मिक तथा सांस्कृतिक हिसाबले यात्रा अधुरै रहन्छ । हलेसी गुफा पुगेपछि रोसुङ्तो किन नपुग्ने ?
पहिले माथिल्लो चिचिङ्गा र तल्लो चिचिङ्गा एउटै गाउँ थियो । पहिरो गएपछि माथिल्लो चिचिङ्गा र तल्लो चिचिङ्गा दुई गाउँमा परिणत भयो । पहिले तुवाचुङ र चिचिङ्गासमेत एउटै मैदान थियो । बिस्तारै डाँडाकाँडा, खोलाखोल्सी, भीरपहरा हुनुअघि रोसुङ्तो तुवाचुङको काखमै देखिन्थ्यो ।
खोक्चिलिपामात्रै होइन, आदिम बजुहरू तोंयामा (दिदी) र खियामा (बहिनी)समेत रोसुङ्तोमै बस्थे । सानैमा टुहुरा भएकाले दिदीहरूले दुःखजिलो गरेर भाइ खोक्चिलिपालाई हुर्काएका थिए । रोसुङ्तोजस्तो सम्मानित ठाउँ हलेसी तुवाचुङ नगरपालिकाभित्र हुनु भनेको गौरवको विषय हो ।