कुनै बेला बुटवललाई पत्रकारितामा मोफसलको राजधानी मानिन्थ्यो । हुन पनि सञ्चारमाध्यमको संख्याका दृष्टिले मात्रै नभएर त्यहाँबाट प्रकाशित हुने अखबारको अरू जिल्लामा पहुँच तथा समाचार सामग्रीका दृष्टिले पनि बुटवललाई ‘पत्रकारितामा मोफसलको राजधानी’ भनेर सम्बोधन गर्दा अन्यथा लाग्दैनथ्यो । तर, अहिले अवस्था परिवर्तन भएको छ । बुटवलले लामो समयसम्म पाएको त्यो ख्याति अहिले कैलालीमा सरेको छ ।
नेपालमा २०४६ को राजनीतिक परिवर्तनले नेपाली समाजमा प्रजातन्त्र, खुलापन, स्वतन्त्रता ल्यायो । त्यससँगै पत्रकारिताको आएको विकास र विस्तारलाई ‘चामत्कारिक’ नै मानिन्छ । त्यसअघिसम्म सरकारको नियन्त्रणमा रहेको गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन र निजी क्षेत्रका साना आकारका केही साप्ताहिक अखबारले धानेको नेपालको पत्रकारितामा निजी क्षेत्रको लगानी र सहभागितामा ह्वात्तै वृद्धि भयो । आमजनताले तुलनात्मक रूपमा बढी निष्पक्ष, तथ्यपूर्ण, सन्तुलित समाचार पढ्न, सुन्न र हेर्न पाउने अवसर प्राप्त गरे । राजधानीमा मात्रै होइन, देशका अरू सहर, जिल्लामा पनि पत्रिका खुल्न थाले । एफएम रेडियोको विस्तार हुन थाल्यो ।
राजधानीबाट २०४९ मा ठूलो आकारको रंगीन छपाइमा कान्तिपुर दैनिक सुरु भयो । यसैसँगै राजधानीबाहिर अथवा पत्रकारिताले जन्माएको शब्द मोफसलमा पनि दैनिक पत्रिका प्रकाशन हुन थाले । बाहिरी जिल्लामा सबैभन्दा बढी दैनिक पत्रिका जन्माउनेमा बुटवल अग्रपंक्तिमा देखियो । त्यसैले भनियो– पत्रकारितामा मोफसलको राजधानी बुटवल हो । त्यसै पनि २०४५ मै बुटवलबाट लुम्बिनी दैनिक प्रकाशन हुन थालिसकेको थियो । २०४७ मा जनसंघर्ष दैनिक प्रकाशन सुरु भएपछि बुटवललाई ‘मोफसलको राजधानी’को सम्बोधन सार्थक मानियो ।
नेपालमा हरेक दस वर्षमा राजनीतिक परिवर्तन हुने गरेको छ । २०६३ मा राजाको प्रत्यक्ष शासन अन्त्य गरेर लोकतन्त्र स्थापना भयो । अढाई वर्ष लामो निरंकुश राजतन्त्र अन्त्य भयो । मुलुक नितान्त नौलो परिवेशमा प्रवेश गर्यो । यसपटकको राजनीतिक परिवर्तनले कैलालीमा सञ्चारमाध्यम बाढीझैँ आयो । कैलालीमा २०५६ मा अफसेट प्रेस जडान भएपछि दुई दैनिक पत्रिका सञ्चालनमा आइसकेका थिए । एउटा एफएम रेडियो सञ्चालनमा थियो । लोकतन्त्र स्थापनापछि दैनिक पत्रिका र एफएम रेडियो खुल्नेक्रम साँच्चै नै उल्लेख्य छ ।
२०६३ बाट दैनिक पत्रिका थपिनेक्रममा २०७० सम्म आइपुग्दा २७ सञ्चालनमा आइसकेका छन् । केही पत्रिकाको प्रकाशनमा नियमितता नभए पनि प्रायः २०/२२ दैनिक सधैँ प्रकाशित भइरहेका छन् । अहिले पनि २१ दैनिक पत्रिका सञ्चालनमा छन् । त्यत्तिकै हाराहारीमा एफएम रेडियो सञ्चालनमा छन् । अझ उल्लेख्य के छ भने दैनिक पत्रिका तथा एफएम तीव्र गतिमा विकास भइरहेको धनगढी उपमहानगरपालिकामा मात्रै खुलेका छैनन्, अपितु टीकापुर, लम्की, अत्तरियाजस्ता नगर तथा बौनिया, मसुरिया, पहलमानपुर, सुख्खडजस्ता अपेक्षाकृत साना बजारमा पनि दैनिक पत्रिका र एफएम मजासँग चलिरहेका छन् । अहिले टीकापुरमा पाँच तथा लम्की र अत्तरियामा एक/एक दैनिक पत्रिका सञ्चालनमा छन् । यसका साथै कैलालीमा १० साप्ताहिक पनि चलिरहेका छन् ।
कुनै बेलाको मोफसलको राजधानी मानिएको बुटवलमा अहिले ६ वटा मात्र दैनिक सञ्चालनमा छन् । यस्तै, मोरङमा ८, पर्सामा ८, बाँकेमा १६ र कास्कीमा १४ पत्रिका प्रकाशित भइरहेका छन । प्रेस काउन्सिल नेपालको आर्थिक वर्ष २०७१/०७२ को प्रतिवेदनमा मोरङ, धनुषा, कास्की, बाँकेबाट निस्कने दैनिकको संख्या बढी देखिए पनि अहिले नियमित रूपमा सबैभन्दा बढी दैनिक प्रकाशित हुने जिल्ला राजधानीपछिको कैलाली नै हो ।
कैलालीमा एफएमको संख्या पनि ह्वात्तै बढेको छ । २०६३ पछि कैलालीमा रेडियो नेपाल, कान्तिपुर र शुक्लाफाँटा रिलेस्टेसनसमेत जोड्दा रेडियो (एफएम) को संख्या २३ पुगेको छ । रेडियो सञ्चालन हुनेक्रम धनगढीभन्दा बाहिरका बजारमा बढी छन् । हाल धनगढीमा चार एफएम रेडियो रहेका छन् भने धनगढीबाहिर १६ रहेका छन् । तीमध्ये टीकापुर लम्कीमा तीन/तीन, सुख्खड चार, मसुरिया र पहलमानपुर दुई/दुई तथा बौनिया र अत्तरियामा एक/एक रेडियो सञ्चालनमा छन् । कैलालीमा अत्तरियादेखि कर्णाली चिसापानीसम्मको करिब एक सय किलोमिटरमा जताततै एफएमका टावर ठडिएका देखिन्छन् ।
एक तथ्यांकअनुसार अहिले बुटवलसहित रूपन्देहीमा १५ एफएम रेडियो सञ्चालनमा छन् । मोरङमा १२, पर्सामा सात र बाँकेमा १५ एफएम सञ्चालनमा छन् । एफएमका दृष्टिले कास्कीमा कैलालीकै हाराहारीमा एफएम रेडियो छन् ।
विषयवस्तुको उठानका दृष्टिले कैलाली अब्बल मानिएको छ । कैलालीबाट निस्कने ‘क’ वर्गको अनुमोदन दैनिकका सम्पादक मनमोहन स्वा“र कैलालीमा सञ्चारमाध्यमले उठाउने मुद्दा र विषयवस्तुका दृष्टिले अगाडि रहेको बताउँछन् । लामो समयदेखि सुदूरपश्चिममा मिडियाको अवस्थाबारे अध्ययन अनुसन्धानमा समेत संलग्न पत्रकार स्वाँर भन्छन्, ‘पछिल्ला केही वर्षयता कैलालीका प्रमुख दैनिकमा विषयवस्तुको स्थानीयकरणमा प्रतिस्पर्धाझैँ भएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका विषयवस्तुको समावेशीकरणमा बढी ध्यान दिन थालिएको छ ।’ अखण्ड सुदूरपश्चिम वा थरुहटजस्ता राजनीतिक मुद्दामा मात्रै नभएर कैलालीका अखबारले कमैया, हलिया, छाउपडी, बोक्सी, लैंगिकजस्ता सामाजिक, सांस्कृतिक कुरीतिका साथै जलस्रोत, सिँचाइ, पर्यटन, गरिबी, विभेदलगायतका मुद्दा बढी संवेदनशीलतासाथ उठान गरिरहेका छन् ।
नेपाल पत्रकार महासंघ कैलालीका पूर्वसचिव एकिन्द्र तिमिल्सिनाको धारणामा कैलालीलाई पत्रकारितामा मोफसलको केन्द्र बन्दै छ भन्ने राजनीतिक नेताहरूमा पनि बोध हुन थालेको छ । २०४८ देखि लगातार डडेलधुराबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७० मा भएको संविधानसभा चुनावमा कैलालीको क्षेत्र नम्बर ६ लाई रोजे । त्यस्तै, एमाओवादीका लेखराज भट्ट डोटीको निर्वाचन क्षेत्र २ मा बढी मत पाउने सम्भावना हुँदाहुँदै पनि कैलालीमै रहन चाहन्छन् । उनले ०६४ र ०७० मा कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लडे । एमालेका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलको रोजाइ पनि कैलाली नै हो । ०५६ आमचुनावदेखि कैलाली आउन खोजेका एमाले पूर्वउपाध्यक्ष रावलको बढी चासो अहिले पनि कैलाली नै रहेको देखिन्छ । २०६४ को संविधानसभा चुनावमा तत्कालीन एमाओवादी नेता नेत्रविक्रम चन्द पनि कैलाली आउन खोजेका थिए । तर, स्थानीय नेताको विरोधपछि उनी पछि हटेको बताइन्छ ।
कस्तो छ व्यावसायिकता ?
पञ्चायतकाल र बहुदलपछि पनि लामो समयसम्म देशभरिका सञ्चारमाध्यममा राजनीतिक मुद्दा नै बढी प्रस्तुत हुने गरेका थिए । तर, निजी क्षेत्रबाट दैनिक पत्रिका प्रकाशन बढेपछि दलगत राजनीतिक रंग कम भएको छ । कुनै अंकमा कुनै दलविशेषप्रति केही लगावजस्तो देखिए पनि प्रायः अंक भने निष्पक्ष नै पाइन्छन् ।
तर, अहिले पनि चुनौती निकै छन् । कैलालीमा उद्योग, कलकारखानाको खासै विकास हुन सकेको छैन । विज्ञापनको अवस्था कमजोर नै मान्नुपर्छ । प्रायः अखबार चार पेजमा सीमित छन् । कैलाली हटलाइन दैनिकका सम्पादक मातृका तिमिल्सेनाका अनुसार विज्ञापन कमीका कारण चाहेर पनि पत्रिकाको पृष्ठ र सञ्चारकर्मी कर्मचारीको संख्या बढाउन सकिएको छैन । बिट पत्रकारिता खासै फस्टाउन सकेको छैन । धनगढीपोस्ट दैनिकका सम्पादक कर्ण शाह कैलालीमा संख्यात्मक हिसाबमा सञ्चारमाध्यम धेरै भए पनि लगानी अभावमा टिकाइराख्न कठिनाइ रहेको बताउँछन् ।
कैलालीबाट प्रकाशित हुन दैनिक पत्रिकाको सूची
(१) सेती समाचार
(२) अनुमोदन
(३) धनगढीपोस्ट
(४) सुदूर सन्देश
(५) बिन्तीपत्र
(६) मर्निङ वेल
(७) पहुरा
(८) राष्ट्रिय सन्दर्भ
(९) पश्चिम टुडे
(१०) आर्थिक खप्तड टुडे
(११) आर्थिक टाइम्स
(१२) श्रम सृजना
(१३) कैलाली दैनिक
(१४) सहयात्रीपोस्ट
(१५) सुन्दराञ्चल
(१६) टीकापुर दैनिक
(१७) कैलाली हटलाइन
(१८) मलवार
(१९) कालान्तर
(२०) न्यु समाधान
(२१) हाइवे टाइम्स
(नोट : यो सूची केही अघिको हो । पछिल्लो समय थपिएका छन् ।)
कैलालीमा सञ्चालित एफएमको सूची
(१) दिनेश एफएम
(२) धनगढी एफएम
(३) सुदूर सन्देश
(४) पश्चिम टुडे
(५) सामुदायिक रेडियो टीकापुर
(६) काइड्स एफएम
(७) नमस्ते एफएम
(८) मालिका एफएम
(९) रेडस्टार
(१०) सामुदायिक रेडियो पश्चिम आवाज
(११) कैलाली एफएम
(१२) अपी
(१३) प्रतीक
(१४) घोडाघोडी
(१५) कोसेली
(१६) डौनावेवरी
(१७) मनको मझेरी
(१९) सखी
(२०) सुनौलो
(२१) रेडियो कान्तिपुर रिलेस्टेसन
(२२) रेडियो नेपाल रिलेस्टेसन
(२३) शुक्लाफाँटा एफएम रिलेस्टेसन
(नोट : यो सूची केही अघिको हो । पछिल्लो समय थपिएका छन् ।)