खोटाङ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल वराहपोखरीमा लाग्ने धार्मिक मेला लक्षित गरी वराहपोखरी र जन्तेढुंगा गाउँपालिकाले कात्तिक २८ र २९ गते सार्वजनिक बिदा दिएको छ ।
हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलबाट दक्षिणी क्षेत्रमा पर्ने वराहपोखरीमा लाग्ने धार्मिक मेला सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मेला व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा वराहपोखरी विकास समितितर्फबाट स्वयम्सेवकसमेत परिचालन गरिएको छ ।
मेलामा हुनसक्ने आपराधिक घटना कम गर्न इलाका प्रहरी कार्यालय चिसापानी र वराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले जानकारी दिए । “विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण जिल्लामा अझै कायमै रहेको छ,” प्रजिअ दाहालले भने, “वराहपोखरीमा लाग्ने मेला धार्मिक भएकाले रोकिएको छैन । स्वास्थ्य सतर्कता अपनाएर मेला लगाउन प्रशासनतर्फबाट सम्बन्धित निकायलाई आग्रह गरेका छौं ।”
मेलामा दिवंगत आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्छ । चारैतिर घना जंगलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृति वराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ ।
समुद्री सतहदेखि करिब एक हजार ३०० मिटर उचाइमा रहेको सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघेसंक्रान्तिमा पनि मेला लाग्ने गरेको छ । मेला भर्न छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुंगा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवम् भक्तजन आउने गरेका छन् ।
परापूर्वकालमा एउटा घरको अगेनो (खाना पकाउने ठाउँ)बाट निस्केको माछा मारेर पोलेर खाँदा त्यहाँबाट पानी निस्केर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई वराहपोखरी भनिएको किंवदन्ती छ । मुहान र निकास दुवै नभएको तर बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने वराहपोखरीको दक्षिणपट्टि वराहमाई र शङ्खेश्वर मन्दिरको पूजा आराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।
जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि वराहपोखरीको पानीमा नुहाउने चलन रहिआएको छ । बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।
विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले वराहपाखरीमा गएर पूजा गरे सन्तान पाइने जनविश्वास छ । प्राकृतिक रूपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने वराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुँदै गएको स्थानीय एवम् नेकपा (माओवादी केन्द्र) वराहपोखरी गाउँपालिका अध्यक्ष युवराज मगरले बताए ।
वराहपोखरीसम्म सडक जोडिएसँगै अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक ३०० जनाको हाराहारीमा रहेको स्थानीयले जानकारी गराए । वराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन डुंगा सञ्चालन गरिएको छ । डुंगा सयर गर्ने पर्यटकबाट संकलित रकम पोखरी व्यवस्थापनमा खर्चिने वराहपोखरी व्यवस्थापन समितिले जनाएको छ । वराहपोखरीलाई सरकारले देशको १०० पर्यटकीय गन्तव्यमध्ये एउटा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेर प्रवद्र्धनसमेत थालेको छ ।