गृहसचिव न्यौपानेसहित सुरक्षा प्रमुखहरू हलेसीमा


तस्बिर : तुवाचुङ डटकम

हलेसी (खोटाङ) । पुस २४ गते । रातिको ९ बज्दै थियो । गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका २८औं महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारीले हलेसी टेके ।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला प्रहरी कार्यालय खोटाङ डीएसपी नारायण चिमोरिया, सशस्त्र प्रहरी बल खोटाङ प्रमुख सरोज कार्की, राष्ट्रिय अनुसन्धान विभाग खोटाङ प्रमुख हीरा भट्टराई पुस २४ गते अपराह्न तीन बजेतिर हलेसी झरिसकेका थिए ।

शर्मा, चिमोरिया, कार्की र भट्टराई हलेसी झरेको ६ घन्टापछि काठमाडौंबाट न्यौपाने, क्षेत्री, खनाल र अधिकारीले हलेसी टेकेका थिए । काठमाडौंबाट हलेसी आइपुगेका पाहुनालाई हलेसीमा रहेको होटल जाम्बालामा बसोवासका लागि बन्दोबस्त मिलाइएको थियो ।

गृहसचिव न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) क्षेत्री, सशस्त्र प्रहरी बल महानिरीक्षक (आईजीपी) खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख अधिकारीले पुस २५ गते बिहान ७ बजेको शुभसाइतमा हलेसीको दर्शन गर्नेछन् ।

विशिष्ट पाहुनालाई दर्शन गराउनअघि हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले आतिथ्य सत्कार गर्नेछन् । आतिथ्य सत्कारपछि पाहुनालाई हलेसी दर्शन गराइने ‘सेड्युल’ बनेको छ । स्वयम्सेवक पथप्रदर्शक राकेश परियारले पाहुनालाई हलेसी गुफाबारे विस्तृत जानकारीसहित दर्शन गराउनेछन् ।

समय–समयमा स्वदेश तथा विदेशका लब्धप्रतिष्ठित व्यक्ति–व्यक्तित्व त्रिधार्मिक धामका रूपमा परिचित हलेसीको दर्शन गर्दै आएका छन् । किरात राजा शङ्खोहाङले कलिगत वर्ष २२४७, पल्लो किरातका प्रथम किरात राजा लेलिमहाङले कलिगत २२९७ र माझकिरातका प्रथम किरात राजा साम्सोहाङले कलिगत २३०१ मा हलेसी दर्शन गरेका थिए ।

यसैगरी, राजा वीरेन्द्र र रानी ऐश्वर्या, पूर्वराजा ज्ञानेन्द्र शाहले समेत हलेसीको दर्शन गरिसकेका छन् ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संवत् २०७० मा हलेसी दर्शन गरेका थिए भने पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मी र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (०५४) लगायतले पूजापाठसहित हलेसी दर्शन गरिसकेका छन् । पूर्वप्रधानमन्त्रीले हलेसीमा ४ मिनेट ध्यानसमेत गरेका थिए ।

काठमाडौंबाट विशिष्ट पाहुना हलेसी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा हलेसीको दर्शन गर्न लागेको अड्कल काट्न थालेका छन् । तर, विशिष्ट पाहुना विशुद्ध हलेसीको दर्शन गर्न आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्