कवि बुद्धिसागरलाई नपढ्ने, नचिन्ने कमै होलान् । युवापुस्ताका चर्चित कविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका स्टाटस त्यत्तिकै पठनीय, व्यावहारिक र मन छुने हुन्छन् । तपसिलका ३० भनाइ कवि बुद्धिसागर फेसबुकबाट संकलन गरिएको हो ।
–सम्पादक
(१) मुस्कान अनुवाद नचाहिने अन्तर्राष्ट्रिय भाषा हो ।
(२) धेरै टाढा नजानू । एकान्तमा एक्लो हुँदा खिस्स निस्केको मुस्कानमा खोज्नू मलाई ।
(३) एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै कसैलाई सम्झेर मुसुक्क हाँस्छ, सबैभन्दा मीठो हाँसो त्यही लाग्छ ।
(४) मुस्कान मित्रलाई अमृत, बैरीलाई विष ।
(५) हाँस्ने मौका मिलेका बेला यसरी हाँसौं कि, लागोस् यो नै संसारको अन्तिम हाँसो हो ।
(६) घरबाट धेरै टाढा हुँदा पनि बच्चा रोएको सुन्दा आफ्नै बच्चा हो कि भनेर झसंग भइने रै’छ ।
(७) साह्रै उजेलोले त आँखा तिर्मिराउँछ । मान्छे त अलिकति छायाँ परेकै राम्रो ।
(८) पिउनुमा पानीको मात्रा र जिउनुमा ‘पनि’ को मात्रा बढे, कति मीठो ।
(९) ‘ममात्र छु’ र, ‘म पनि छु’ कति फरक ।
(१०) एउटा पहाड उक्लिहेर, उक्लिनुपर्ने कैयौं पहाड देखिन्छन् ।
(११) रिसको उल्टो ‘सरि’ पनि हुन्छ । कहिलेकाहीं उल्टो बोल्दा नि फाइदा हुन्छ ।
(१२) भीडको ठूलो आवाजको साँघुरो संसारभन्दा, एकान्तको सानो आवाजको फराकिलो संसार दामी लाग्छ ।
(१३) कति कुरा आँखा चिम्म गरेपछि देखिन्छन् ।
(१४) समय नै यस्तो बेइमान बोले ‘मन्त्र’ हुन्छ, इमान बोले मानहानि ।
(१५) मीठो गीत, फिल्म, साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुंगा भइसकेको छैन ।
(१६) सबैका आ–आफ्ना उचाइ छन् । तर, सबैलाई आ–आफ्नै सगरमाथा अग्लो ।
(१७) देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिँदैनन् ।
(१८) जिन्दगी उज्यालो हुँदा कीरा पनि झुम्मिन आउँछन्, असल मित्र ती हुन्– जो आफ्नै छायाँले साथ छाड्ने अँध्यारोमा पनि वरपर हुन्छन् ।
(१९) आकाशलाई प्रेम गर, त्यो सधैं रहन्छ, जता गए पनि, जुन बेला पनि । तारा वा जून त केवल अँध्यारोमा मात्रै चम्कन्छन् ।
(२०) मर्न त सबै मर्छन्, कोही चिहानमा पुग्छन्, कोही लाखौंको हृदयमा ।
(२१) अलिअलि पढेर सिकिन्छ, अलिअलि परेर । सिक्न त जसरी नि सिकिन्छ ।
(२२) सधैं आफ्नो आँखाले मात्र संसार देखिँदैन । कहिलेकाहीं अरूको आँखाबाट पनि हेर्न जान्नुपर्ने रै’छ ।
(२३) पहिला इतिहास घोकिन्थ्यो, अचेल भोगिन्छ ।
(२४) परिवार सानो, खुसी ठूलो ।
(२५) बत्ती आए नि, बत्ती गए नि कुलमानकै सम्झना आउने, धेरै क्षेत्रमा धेरैको यसरी सम्झना आउने बनाए नि हुने ।
(२६) अरूको सफलतामा पनि खुसी हुन जाने फाइदा हुने रै’छ । किनभने आफूमात्रै सधैं सफल भइरहन सकिँदैन ।
(२७) एक दिन हामी हुने छैनौं । कसैले हाम्रोबारेमा कथासरी सुनाउनेछ । हामी स्वर्गमा होइन, कथाहरूमा हुनेछौं ।
(२८) सबै राम्रो । देशमा घाम उदाएकोे पनि राम्रो । अस्ताएको पनि राम्रो ।
(२९) पशुपतिमा चिहान हेर्दै सोच्छौं, के रहेछ र जिन्दगी, गौशाला पुगेपछि सोच्छांै, आफ्ना रहर पूरा गरिहाल्नुपर्छ,
गौशाला कटेपछि सोच्छौं, जसरी होस् पैसा कमाइहाल्नुपर्छ ।
(३०) प्रेम कहिल्यै तगारो हुँदैन । प्रेमले तगारो खोल्छ । तगारो लाउने प्रेम नै हुँदैन ।