‘पाँचवर्षे कार्यकालमा रहेका अधुरो, अपुरो काम पूरा गर्न दोस्रोपटक वडाध्यक्षको उम्मेदवारी दिएको हुँ,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान पूर्ववडाध्यक्ष चइन्द्र राईले प्रस्ट्याए, ‘अधुरा, अपुरा काम पूरा गर्न मलाई नै सजिलो हुन्छ । कामको लय समात्न कठिन हुँदैन । अर्को जनप्रतिनिधि निर्वाचित हुँदा काम थाल्न समय लाग्छ । उनलाई कताबाट काम थाल्ने भनेर अन्योल हुन्छ ।’
सवारीसाधन सुरक्षित गुडाउन अनुभवी चालक चाहिन्छ । ‘भर्खरै सवारी चालक अनुमतिपत्र लिएकाभन्दा अनुभवी चालकले सवारीसाधन गुडाउँदा सुरक्षित र समयमै गन्तव्य पुर्याउँछ,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान पूर्ववडाध्यक्ष राईले वडावासीलाई प्रश्न गरे, ‘तसर्थ, ७ नम्बर वडावासीले सुरक्षित तवरले यात्रा गर्ने कि भर्खरै सवारी चालक अनुमतिपत्र लिएका चालकले गुडाउने सवारीसाधनमा डराई–डराई यात्रा गर्ने ?’
आसन्न स्थानीय तह निर्वाचनमा मतदातालाई इन्द्रेणी सपना देखाएर झुक्याउनु अपराध गरेसरह मानिन्छ । ‘यसपटक निर्वाचित भएँ भने ७ नम्बर वडाको स्वास्थ्यचौकीकाका लागि एम्बुलेन्स व्यवस्था गर्ने पहिलो प्राथमिक काम हुनेछ,’ उनले सुनाए, ‘महेन्द्रोदय माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालनमा आइसकेको छ । पठनपाठन व्यवस्थित गर्न विद्यालय र छात्रवास भवन निर्माण गर्नैपर्नेछ ।’
दोस्रो कार्यकालमा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा जोड दिने उनको भावी योजना छ ।
जित्ने आधार के त ?
‘सांगठनिक हिसाबले पार्टी बलियो नै छ,’ उनले गौरव गरे, ‘पाँचवर्षे कार्यकालमा मैले गरेका काम ‘प्लस प्वाइन्ट’ हुनेछ । तपाईंले थालेको काम तपाईंले नै पूरा गर्नुपर्यो भन्दै वडावासी युवा पुस्ताले दोस्रोपटक पनि आफूलाई उम्मेदवार बन्न आग्रह गरेपछि नाइँ भन्न सकिनँ ।’
युवा नेता चइन्द्र राईका राजनीतिक यात्रा
३५ वर्षमा वडाध्यक्ष निर्वाचित युवानेता चइन्द्र राई दोस्रोपटक उम्मेदवारी दिँदा ४० वर्ष टेकेका छन् । नेता राईले राजनीतिक यात्रा थालेको २० वर्ष भइसकेको छ । महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीको अखिल क्रान्तिकारी एकाइ अध्यक्ष (२०५७)बाट राजनीतिक यात्रामा निस्केका उनी ०५९ देखि नेकपा माओवादीका ‘होलटाइमर’ बने । ६ नम्बर एरिया खोटाङ सदस्यबाट थालेको राजनीतिक यात्राले निरन्तरता पाएकै छ ।
रत्नकुमार राई ‘दर्शन’ले माओवादी पार्टीमा लाग्न ‘कन्भिस’ गर्दा उनले नाइँ भन्न सकेनन् । उनले ०६० मा अखिल क्रान्तिकारी खोटाङ सचिवको भूमिका पाए । त्यसको वर्ष दिनपछि अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बने । ०६१ मा केन्द्रीय सदस्य बनेका उनले ०६२ मा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी सम्हाले । त्यसको दुई वर्षपछि ०६४ मा अखिल क्रान्तिकारी सगरमाथा अञ्चल संयोजकजस्तो गरिमामय दायित्व थपियो ।
पार्टीमा ‘आक्रोश’ उपनामले परिचित नेता चइन्द्र राईलाई पार्टीले ०६० असोजबाट जिल्ला कमिटी सदस्यमा पदोन्नति ग¥यो ।
विद्यार्थीसँगसँगै दलीय राजनीतिमा जोडिएका नेता राई नेकपा माओवादी १ नम्बर प्रदेश परिषद् सदस्यसमेत हुन् ।
संवत् ०५९ देखि ०६३ वैशाखसम्म भूमिगत भएका उनी सिरहाको बन्दीपुर, भोजपुरको घोडेटार युद्धमा सहभागी थिए ।
‘राजनीति गर्न त्यतिबेलाभन्दा अहिले सजिलो छ । त्यतिबेलाकै संगठन विस्तार प्रभावकारी मानिन्थ्यो,’ उनले विगत सम्झे, ‘त्यतिबेला प्रतिबद्ध नेता तथा कार्यकर्ता हुन्थे । पार्टी चेन एन्ड कमान्डमा चल्थ्यो । अहिले अलि फरक छ ।’