जयराम (खोटाङ) । जिल्लाको पश्चिमी प्रवेशद्वार जयराम (जैरुङघाट)मा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख बिमला राईले बुधबार अस्थायी प्रहरी पोस्ट उद्घाटन गरेकी हुन् ।
मध्यपहाडी लोकमार्ग खुलेपछि जयराम खोटाङ प्रवेश गर्ने मूलढोका बन्यो । त्रिधाम हलेसी आउने–जाने (अधिकांश)ले यही बाटो हिँड्नुपर्छ । ‘अस्थायी प्रहरी पोस्ट स्थापनासँगै शान्ति सुरक्षा र अमनचैन कायम हुनेछ,’ हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख राईले भनिन्, ‘यो बाटो भएर हिँड्नेले शान्ति सुरक्षाको अनुभूति गर्न पाउनेछन् ।’
हलेसी आउने–जानेमध्ये यहाँको महत्व थाहा पाउनेले जयराममा केही समय विश्राम लिन्छन् । ‘पछिल्लो समय जयराममा वास बस्ने घट्दै गएका छन्,’ उनले थपे, ‘एक त कोसीकिनार, अर्को प्रहरी पोस्ट छैन । प्रहरी पोस्ट स्थापनासँगै जयरामको मुहार पक्कै फेरिनेछ ।’
जयराम हुँदै बग्ने दूधकोसीको मुहान सगरमाथा हो । संसारकै अग्लो शिखर सगरमाथाबाट सोलुखुम्बु, ओखलढुंगा हुँदै बग्दै झरेकी दूधकोसी खोटाङमा मिसिन्छ । ‘बर्खामासमा दूधकोसीले बगाउँदै ल्याउने बेवारिसे शव हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा देखिन्छन्,’ उनको भनाइ छ, ‘शव पहिचान भएपछि व्यवस्थापन गर्नैप¥यो । प्रहरी पोस्ट स्थापनापछि यस कामका लागि पनि त्यत्तिकै सजिलो हुनेछ ।’
अरू ? ‘अरू पनि फाइदै फाइदा छ,’ उनले खुसी व्यक्त गरिन्, ‘अवैध सामान ओसारपसार र दुव्र्यसनीमा कमी आउनेछ ।’
त्यतिमात्रै होइन, यो प्राकृतिक प्रकोप प्रभावित क्षेत्र पनि हो । ‘प्राकृतिक प्रकोपको बेला समयमै उद्धारका लागि यहाँसम्म आइपुग्न सजिलो छैन,’ उनले विश्वास गरिन्, ‘प्रहरी पोस्ट स्थापनासँगै विविध समस्या कम हुँदै जानेछन् ।’
स्थापित अस्थायी प्रहरी पोस्टमा हवल्दारको नेतृत्वमा ६ सुरक्षाकर्मी रहने जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख डीएसपी उमेश लम्सालले जानकारी गराए । अस्थायी प्रहरी पोस्टको नेतृत्व हवल्दार गणेशबहादुर थापाले गर्नेछन् ।
अस्थायी प्रहरी पोस्ट जयरामघाट उद्घाटन समारोहलाई हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख रमेशकुमार राउत, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राई र ४ नम्बर वडाध्यक्ष किशोरकुमार बस्नेतले सम्बोधन गरेका थिए ।
वडास्तरीय राजनीतिक दलसम्बद्ध नेता एलबी राई (माओवादी केन्द्र) र फौदसिंह कार्की (एमाले)ले समेत सम्बोधन गरेका थिए ।
उद्घाटन समारोहमा निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रकुमार शाह, जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख डीएसपी लम्साललगायत विभिन्न सुरक्षा निकाय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।