दुर्छिम (खोटाङ) । गाउँघरका लागि त चाभीको त्यति आवश्यक पर्दैन । तर, सहर–बजारमा भने चाभीको असाध्यै आवश्यक पर्छ ।
काठमाडौं उपत्यकामा भएका चोरीसम्बन्धी रिपोर्टअनुसार रातिभन्दा दिउँसो बढी चोरी हुन्छ । काठमाडौंमा एक र अर्को घरका मानिसबीच सम्पर्क सम्बन्ध त्यति नहुने बताइन्छ । तसर्थ, छिमेकमा को आए, को गए खासै मतलब हुँदैन । कतिसम्म भने एक घरका फरक–फरक कोठामा बस्नेको कोही नातेदार आयो कि चोर थाहै हुँदैन ।
एउटै घरमा कोही पश्चिम कर्णालीका मानिस बसेका हुन्छन् भने कोही पूर्व खोटाङका । अनि कसरी थाहा पाउनु ? त्यसैले सहर–बजारका घरको सुरक्षाका लागि अनेकथरी प्रणाली विकास गरिएको हुन्छ ।
त्यस्तैमध्ये पछिल्लो हो– नेस्ट सेक्युएर अर्थात् विद्युतीय चाभी । घरको ढोकाभित्र र ढोकाबाहिर राखेपछि खोल्न र बन्द गर्न विद्युतीय साँचो चाहिन्छ । त्यो साँचो भएपछि मात्र ढोका खुल्छ । कसैले जबरजस्ती खोल्न खोजेमा ८५ डेसिबलको आवाज निकालेर छिमेकीलाई सचेत गराउँछ ।
त्यतिमात्रै होइन, स्मार्टफोनमा पनि यससम्बन्धी तत्कालै जानकारी पठाइहाल्छ । स्मार्टफोनमा एप्स राखेपछि घरमा के भइरहेको छ भनेर हरदम जानकारी लिन सकिन्छ । अनि भएन त गज्जब ? त्यति भएपछि चोर ठाउँका ठाउँका समातिने नै भए ।