काँग्रेस हलेसी तुवाचुङ नगरपालिका सभापतिमा राई अत्यधिक बहुमतले विजयी



दुर्छिम (खोटाङ) । नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य चक्रकुमार राई नगर सभापतिमा अत्यधिक बहुमतले विजयी भएका छन् । नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य राईले १२४ मत पाएर हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतिमा विजयी बनेका हुन् ।

नगर सभापतिको अर्का उम्मेदवार हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडाध्यक्ष रमेशकुमार राउतले ५७ मत पाएका थिए ।

‘हार र जित राजनीतिक जीवनका दुई पाटा हुन् । नेपाली काँग्रेस हलेसी तुवाचुङ नगर समितिको सभापतिमा मेरो प्रतिस्पर्धा काँग्रेसका इमानदार कर्याकर्ताको आत्मसम्मान र पार्टी संगठनको पुनर्जागरणका लागि थियो । तथापि म र मेरो टिम सफल हुन सकेनौं,’ नगर सभापतिका उम्मेदवार रमेश राउतले सामाजिक सञ्जालमा लेखे, ‘मेरो प्रतिस्पर्धी दाइ चक्रकुमार राई र सम्पूर्ण टिमलाई हार्दिक बधाइसँगै मेरो टिमलाई निःस्वार्थ सहयोग गर्नुहुने सम्पुर्ण क्षेत्रीय प्रतिनिधिप्रति आभार प्रकट गर्दछु । सत्य, निष्ठा र इमानदारी मेरो जीनको मुख्य निधि हो । विद्यार्थी आन्दोलनदेखि जनप्रतिनिधि हुँदासम्म सिकेको यो कुरामा म सधैं अडिग रहने प्रतिबद्धता व्यक्त गर्दछु । जय नेपाल ।’

सभापति राईको समूहबाट काशीराज राई र देवेन्द्र राई (उपसभापति)मा विजयी भएका छन् । उपसभापतिद्वय काशीराजले १४० र देवेन्द्रले १२६ मत पाएको काँग्रेस हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडासचिव देवराज केसीले जानकारी गराए ।

उपसभापति विजयी राईद्वयका प्रत्यासी धनबहादुर खड्काले ३६ र दिनेश राईले ५२ मत पाएका थिए ।

वडासचिव केसीका अनुसार, सचिवमा कमल गिरी र किशोर बस्नेतले क्रमशः १३७ र १२९ मत पाएका थिए भने सचिवमै राउत समूहका केशव श्रेष्ठ र फडिन्द्रकुमार राईले क्रमशः ५१ र ३९ मत प्राप्त गरेका हुन् ।

यसैगरी, राई समूहका सहसचिव खेमराज कार्की र युवराज कार्कीले क्रमशः १३३ र ११४ मत पाउँदा सहसचिवका प्रत्यासी लम्बर राई र जुना राईले क्रमशः ५० र ५४ मत पाएका थिए ।

काँग्रेस हलेसी तुवाचुङ नगरपालिकाको दोस्रो अधिवेशन भदौ २७ गते तोकिए पनि असोज ९ गतेसम्म सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्