मन्त्रीलाई कार्यक्रमस्थलमै आल्चाको तीनपाने रक्सी



बुइपा (खोटाङ) । सामाजिक विकासमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक खोटाङ टेकेकी उषाकला राईले आल्चाको तीनपाने रक्सी उपहार पाएकी छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा वडाध्यक्ष दिनेश राईले सामाजिक विकासमन्त्री राईलाई आल्चाको तीनपाने रक्सी उपहार दिएका हुन् ।

मन्त्री राईको स्वागतार्थ १४ नम्बर वडा कार्यालय बुइपाले गरेको कार्यक्रममा वडाध्यक्ष राईले मिनरल वाटरको बोतलमा बुइपामै उत्पादित आल्चाको तीनपाने रक्सी कार्यक्रमस्थलमै उपहार दिएका थिए ।

सामाजिक विकासमन्त्री उषाकला राईले कोदाको रक्सीलाई ‘ब्रान्ड’ बनाउन कानुनी र व्यावहारिक पक्षको अध्ययन थालिसकेकी छन् ।

मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा वली र मुख्यमन्त्री शेरधन राईलाई जानकारी गराउँदै ‘ब्यान्ड भर्सेस ब्रान्ड’लाई कानुनी मान्यता दिलाउन आफू लागिपरेको गत चैत १८ गते विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएकी थिइन् ।

वडाद्वारा आयोजित कार्यक्रममा संविधानसभा पूर्वसदस्य पीके राई, कवि तथा एमाले नेता देवविक्रम राईको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्