राजापानीका आमा समूह र एकल महिलालाई बाख्रा वितरण


राजापानी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राई प्रसन्न मुद्रामा देखिन्थे । बाख्रा पाउने आमा समूह र एकल महिलाभन्दा नगरप्रमुख र उपप्रमुख किन खुसी देखिए ?

असार २७ गते हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पुगेका नगरप्रमुख र उपप्रमुख खुसी देखिनुका कारण थाहा पाउन समाचार पढ्नैपर्छ । ‘राजापानीका आमा समूह र एकल महिलालाई जीविकोपार्जन गर्न अरूको भर पर्न नपरोस् भन्ने अभिप्रायले नगरले बाख्रा वितरण गरेको हो,’ नगरप्रमुख राईले खुसी व्यक्त गरे, ‘उपप्रमुख र नगरप्रमुखको हैसियतमा मैले सामूहिक रूपमा बाख्रा बाँड्न पाउँदा कम्ती खुसी लागेन । नगरप्रमुखमा विजयी हुँदाभन्दा बाख्रा वितरण गर्न पाउँदा धेरै खुसी थिएँ । बाख्रा पाएका आमा समूह र एकल महिलालाई आत्मनिर्भर बनाउन सक्ला कि भनेर असाध्यै खुसी भएको हुँ ।’

हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख राई पनि नगरप्रमुखजस्तै प्रसन्न देखिन्थिन् । ‘राजापानीका आमा समूह र एकल महिला गरी एक सय दुईजनालाई बाख्रा वितरण गर्यौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘बाख्रा पाएपछि दिदीहरूले माइतीघरले दाइजो दिने चलन थियो । तर, नगरपालिकाले माइतीघरभन्दा राम्रो गर्नुभयो ।’

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशबावु घिमिरेको भनाइ छ, ‘कृषि तथा पशुपालन र रोजगारीको माध्यमबाट आयआर्जन गर्न समूहलाई पशुधनको वितरण गर्ने कार्यक्रम आजको आवश्यकतालाई ध्यानमा राखेर भएको काम उदाहरणीय छ ।’

‘साह्रै राम्रो कार्यको थालनी गर्नुभएको छ,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य डिल्ली चाम्लिङ भन्छन्, ‘नगरप्रमुख नगर उपप्रमुखज्यूलाई हार्दिक धन्यवाद छ ।’

‘पशुपालन हाम्रो आयाआर्जनको प्रमुख स्रोत हो,’ जेम्ससिं राईको बुझाइ छ, ‘यसको सम्बद्र्धन र विकासमा यहाँहरूको लगानी प्रशंसायोग्य छ ।’

हरिकाजी राईले बाख्रा वितरण कार्यको खुलेर प्रशंसा गरेका छन् । भने, ‘उपमेयरको सक्रियता अमूल्य छ । हलेसी तुवाचुङ नगरवासी भाग्यमानी हुँदा महादेवको आशिर्वाद पाइरहून् ।’

नगरले चालु आर्थिक वर्षमा दुईवटा वडामा बाख्रा वितरण गरिसकेको छ । उसले यसअघि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा बाख्रा वितरण गरिसकेको थियो भने असार २७ गते राजापानीमा पनि बाख्रा वितरण गरेको हो । अब हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा बाख्रा र सुँगुरको पाठा वितरण गर्न लागेको नगरप्रमुख इवन राईले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्